चितवन मेडिकल कलेजको अवैध असुली र रहस्यमयी मौनता

चितवन मेडिकल कलेजको अवैध असुली र रहस्यमयी मौनता


■ रमेश बस्ताकोटी

चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्ने विद्यार्थीहरूले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै गरेको आन्दोलनबाट प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दसहित १५ जना बिहीवार पक्राउ परेपछि केही हदसम्म भए पनि चितवन मेडिकल कलेजले गरिरहेको लुटबारे केही मानिसको ध्यानाकर्षण भयो । यसअघि पनि त्यहाँ अध्ययनरत विद्यार्थीहरूले पटक–पटक विभिन्न स्वरुपमा आन्दोलन गरे पनि यसबारे न कसैले सुन्यो न त कसैको ध्यानाकर्षण भयो । विद्यार्थी र अभिभावक िभत्रभित्रै पिल्सनु र आफ्नै आँखा अगाडि भैइरहेको लुटको साक्षी बन्नुबाहेक कुनै विकल्प रहेन उनिहरू सामु !! जब प्रकाश चन्द पक्राउ परे अनि धेरथोर यसप्रति मानिसहरूको चासो गयो । भलै प्रकाशसहित सबै रिहा भइसकेका छन् ।

यो वर्षको विद्यार्थी भर्नाको शुरुवातदेखि नै यो पंक्तिकार पनि चितवन मेडिकल कलेजले गरिरहेको लुटबारे साक्षी छ । एकजना विद्यार्थीले सरकारले तोकेको दरअनुसार शुल्क बुझाएर जब एड्मिसनलगायत अन्य आवश्यक प्रकृयाका लागि कलेज गयो तब उसँग थप १२ लाख ५० हजार रुपियाँ माग गरियो । र, तत्काल ६ लाख २५ हजार बुझाउन भनियो । संयोगले ती विद्यार्थी पंक्तिकारको नजिकबाट चिनजानको मान्छे भएका कारण के भएको रहेछ भनेर बुझ्न उनका अभिभावकसँगै कलेज पुगेको थियो । त्यतिबेला कलेजका प्रशासन प्रमुख अरुण कोइरालाले भनेका थिए– ‘सरकारले तोकेको रेटमा हामी पढाउन सक्दैनौँ, एक्स्ट्रा चार्ज नलिकन हाम्रो लगानी नै उठ्दैन ।’

उनले पंक्तिकारकै सामु ती अभिभावकसँग प्रस्ट भनेका थिए– ‘थप रकम अर्थात ६ लाख ५० हजार नबुझाई हामी विद्यार्थी पढाउन सक्दैनौँ ! यो मेडिकल कलेज एशोशियशन को पनि निर्णय हो ।’ उनले अझै भनेका थिए– ‘तपाईं जहाँ गए पनि केही हुनेवाला छैन, यो हाम्रो नियम नै हो ।’ उनले पछि लिने भनिएको एक्स्ट्रा रकमको रसिद भने कुनै हालतमा दिन नसकिने बताए ।’ उनले त्यसो भनिसकेपछि मैले आफ्नो परिचय दिँदा आफ्नो बाध्यतालाई बुझिदिन उनले आग्रह गरे !

बढी शुल्क लिन पाइँदैन, सरकारले तोकेको शुल्क लेउ, निमुखा, सोझा र गरिव र मध्यमवर्गीय नागरिकमाथि शोषण नगर, अनेक बहानामा शुल्क उठाउन पाइँदैन भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका डाक्टरी पढ्ने विद्यार्थीमाथि प्रहरीले लाठिचार्ज गर्दै पक्राउ गरेर थुन्नु कतिको जायज कुरा हो ?

पछि केही अभिभावकहरूले जिल्ला प्रशासन कार्यालयमा यसबारे उजुरी पनि दिएका थिए, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवन मेडिकल कलेजलाई सरकारले तोके भन्दा बढि शुल्क नलिन भन्दै पत्र नै लेखेर निर्देशन समेत दिए तर सिडिओको त्यो आदेशलाई कलेजले पुर्णतः बेवास्ता गऱ्यो, अझ भनौँ टेरपुच्छर लाएन । सिडिओ सा’बले पनि मैले पत्र लेखिदिएको छु भनेर आलटाल गर्दै अभिभावकलाई पन्छाउने काम मात्र गरे, उनले गैरकानुनी असुली गर्नेलाई कारबाही गर्ने त के छुन समेत सकेनन् । यो सबै कुराको साक्षी यो पंक्तिकार थियो । त्यस पछि पनि विद्यार्थी र अभिभावकहरूले विभिन्न निकाय र जनप्रतिनिधिहरूसँग समेत हारगुहार गरे तर पैसाको शक्तिले उन्मत्त चितवन मेडिकल कलेज र यसका अध्यक्ष एवम् प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपानेले कोही–कसैलाई टेरेनन् अझ प्रस्ट भन्नुपर्दा उनिहरूले ‘सेटिङ’ गरेर यो म्याटरलाई क्लोज गरिदिए ।

अहिले फेरि विद्यार्थीहरूले यो मुद्दाको उठान गरेका छन् । बढी शुल्क लिन पाइँदैन, सरकारले तोकेको शुल्क लेउ, निमुखा, सोझा र गरिव र मध्यमवर्गीय नागरिकमाथि शोषण नगर, अनेक बहानामा शुल्क उठाउन पाइँदैन भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका डाक्टरी पढ्ने विद्यार्थीमाथि प्रहरीले लाठिचार्ज गर्दै पक्राउ गरेर थुन्नु कतिको जायज कुरा हो ? के यो विद्यार्थी र अभिभावकमाथि अन्याय होइन ? यो लोकतन्त्र हो कि लुटतन्त्र हो ? जहाँ राज्य नै सहायक भएर खुल्लमखुला लुट्न छुट दिइरहेको छ, यसको जवाफ प्रशासनले दिनुपर्छ कि पर्दैन ?

अचम्मको कुरा त के छ भने जब आफ्ना हक–हित र अधिकारका लागि विद्यार्थीहरू आन्दोलन गर्दै गर्दा प्रहरीको कुटाई खाँदै हिरासतसम्म पुगे, त्योबेला आफुलाई विद्यार्थीको मसिहा सम्झने विद्यार्थी संगठनहरू मौन थिए । कुनै पनि विद्यार्थी संगठन चुँक्कसमेत बोलेनन् । आन्दोलनको नेतृत्व जोसुकैले गरेको होस् त्यहाँ विसुद्ध शैक्षिक माग थियो भन्ने कुरा आफुलाई विद्यार्थी संगठनको नेता हुँ भन्नेको दिमागमा घुसेन कि पैसा, पावर र प्रभावको अघि सबै नैतिकता र सिद्धान्त बिक्री भयो ? विद्यार्थी संघठनहरूले यसको जवाफ दिनुपर्छ कि पर्दैन ?

केही विद्यार्थी नेताले तँ कुटेजस्तो गर रोए जस्तो गर्छु भनेर भद्दा अभिनय गरे पनि त्यसलाई लाज जोगाउन गरिएको अभिनयभन्दा अरु केही मान्न सकिन्न । विद्यार्थी भर्नाको शुरूवातदेखि नै देखिएको यो समस्याबारे सबै विद्यार्थी संगठनलाई राम्रोसँग थाहा छ, तर उनीहरूले यो बारेमा चुँक्कसम्म नबोल्नु अत्यन्तै लाजमर्दो कुरा हो । यो समग्र विद्यार्थी आन्दोलन र अहिलेसम्म प्राप्त गरेको उपलब्धिकै धज्जी उडाउने काम हो । धेरै पैसा तिर्न बाध्य र आफूहरूको कुरा सुनुवाई नहुँदा निराश भएका विद्यार्थीहरूले सबै विद्यार्थी संगठन पनि पैसामा बिक्री भए भनेर भन्न थालेका छन्, के त्यस्तै हो ? यदि यो हो भने ठूलो दुर्भाग्य हो । विद्यार्थी आन्दोलनकै बदनाम हो । त्यस्तो नहोस् भन्ने कामना गरौँ बाँकी कुरा संगठनहरूले दिने रिजल्टमा भरपर्छ ।

अर्कोतर्फ जिल्लाका राजनीतिक दलहरूले समेत यो विषयमा चुँक्क बोलेका छैनन् ! यहाँबाट निर्वाचित जनप्रतिनिधिहरू समेत मौन छन् । जताततै यो विषयमा सबै मौन मात्र देखिन्छ । सरकारी निकाय, अनुगमन गर्ने संयन्त्र सबै मौन छन् । यस्तो किन भएको होला ? यसको सफा र सिधा उत्तर छ, पैसा, पावर र प्रभाव !

विद्यार्थी भर्नाको शुरूवातदेखि नै देखिएको यो समस्याबारे सबै विद्यार्थी संगठनलाई राम्रोसँग थाहा छ, तर उनीहरूले यो बारेमा चुँक्कसम्म नबोल्नु अत्यन्तै लाजमर्दो कुरा हो । यो समग्र विद्यार्थी आन्दोलन र अहिलेसम्म प्राप्त गरेको उपलब्धिकै धज्जी उडाउने काम हो ।

चितवन मेडिकल कलेजका अध्यक्ष एबम् प्रवन्ध निर्देशक हरिश्चन्द्र न्यौपानेको पहुँच सिधा माथिसम्म छ, यो सबैलाई था भएकै कुरा हो । उनले पैसाको बलमा आफ्नो प्रभाव यसरी बिस्तार गरेका छन् कि उनको विरुद्धमा कोही बोल्न सक्दैन । उनको कलेजले शक्तिकै आडमा कतिपय गैरकानुनी कामलाई समेत वैध बनाइदिन्छ । अहिले कलेजले गरेको अवैध असुली यसैको एउटा ज्वलन्त उदाहरण हो । अवैध हो भन्ने सबैलाई थाहा छ तर कोही बोल्न सक्दैन– कारण न्यौपानेको पहुँच नै हो । राजनीतिक दललाई चन्दा नपाइएला कि भन्ने डर, सरकारी सेवकलाई सरुवा, घटुवा र दुर्गमको डर ! यो केही उदाहरण मात्र हो । जे होस् न्यौपाने र चितवन मेडिकल कलेजले सबैको चित्त बुझाएकै छन् । त्यसकारण पनि सोझासाधा विद्यार्थी र अभिभावकहरूको आवाज सुनिएको छैन । प्रहरी लगाएर उनीहरूको आवाजलाई दबाउने कोसिस गरिएको छ ।

चितवन मेडिकल ककेजको अबैध असुलीको बारेमा कोही पनि नबोल्नु र मौन रहनु आफैमा रहस्यमयी कुरा हो यस बारेमा माथि पनि धेरै चर्चा भयो । यो सबै लोभलालच र त्रासको कारण भएको हो भन्ने कुरामा दुईमत छैन । केही बुज्रुकहरूलाई यसबारेमा भन्दा अन्त कलेजले पनि लिएका छन् रे हामी मात्र किन बोल्नु भनेर पन्छिन खोज्छन् । ती बुज्रुकलाई मेरो भन्नु के छ भने चितवन छुट्टै पहिचान बोकेको जिल्ला हो, ठुला–ठुला परिवर्तनका कुरा र कन्ट्रोभर्सीका कुरा पनि यहीँ भएका छन् । त्यसकारण यस्तो अवैध असुली र गैरकानुनी हर्कतका बारेमा पनि यहीँबाट आवाज बुलन्द पार्नुपर्ने होइन र ? कति दिन लोभलालच र त्रासमा बस्ने ?

चितवन मेडिकल कलेजले शुल्क बढी भयो भनेर आवाज उठाउने निर्दोष विद्यार्थीलाई कुट्दै थुनाएकै दिन अर्को एउटा परोपकारी काम गऱ्यौं भन्दै खुब प्रचार गरेको छ । त्यो के हो भने डेङ्गु परीक्षणका लागि उसले हजार कीट निःशुल्क उपलब्ध गराउने छ । नागरिकलाई यसले केही मात्रामा राहत त देला तर यस्तै सामाजिक कार्यको ढोङ रचेर भैरहेको करोडौँ लुटको बारेमा कसले बोलिदिने ? किन सबै मौन ? अब बोल्ने बेला भएन र ?

अन्त्यमा, एकजना सामजिक अभियन्ता प्रेम रिमालले फेसबुकमा गरेको पोस्ट जसले मेरो मन छोयो, त्यो यहाँ पनि शेयर गर्न चाहन्छु–

करौडौँको ठगी दुई–चार सय डेङ्गे परीक्षणका कीट सित्तीमा दिएपछि माफ हुने हो ?
सरकार म घोषणा गर्छु मेडिकल कलेजले गरेको लूट नियन्त्रण गर्ने हिम्मत गर म पाँच हजार डेङ्गे परीक्षणको कीट जुटाइदिन्छु । हजारौँ अभिभावकहरूलाई लुटेर केही बिरामीको रगत जँचाइदिन्छु भन्नेलाई धन्यवाद हो भने कुरा प्रष्ट छ ठगहरूको पहुँच धेरै माथि छ ।
हामी सामान्य स्कुल चलाएर बसेका मान्छेहरू नर्सलाई सरकारी तलव भनेर विज्ञापन गर्छाैं तर आफै अठार–बीस लाख हसुर्ने अनि नर्सलाई ६ महिना सित्तिमा काम लगाउने, त्यसपछि दश–आठ हजार हातमा हाल्दिने । के यो भ्रष्टाचार होइन ? मेडिकल अफिसर (जोसँग अहिले ६०–७० लाख लिने गरेका छन् पढाउन) लाई १८–२० हजार दिएर लदाइरहेका छन् ।
जेल जान तयार हुनुपर्छ, पछि हट्ने होइन । यस्तो ब्रम्हलूटका विरूद्धमा सबै एकजुट हुनुपर्छ ।