बीपीलाई ‘रूख’ बनाउँदै काङ्ग्रेस

बीपीलाई ‘रूख’ बनाउँदै काङ्ग्रेस


शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेसले बीपी विचारका समर्थकहरूलाई एकपटक फेरि ‘उल्लु’ बनाउन खोजेको टिप्पणी हुन थालेको छ । बीपी भनेका रूख नभई विचार हुन्, तर काङ्ग्रेसले रूखलाई बीपीको प्रतीकझैँ मानेर उनको जन्मदिनलाई वृक्षरोपणमा सीमित गरी मनाउने भएको छ ।

भदौ २४ गते बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर काङ्ग्रेसले देशभरि ३४ हजार नौ सय असी बिरुवा सार्ने कार्यक्रम बनाएको थियो भने २४ गतेदेखि नै काङ्ग्रेसले दोस्रो चरणको जागरण कार्यक्रम पनि शुरु गरेकोे छ । आगामी असोज ७ गते जनप्रदर्शनका कार्यक्रम आयोजना गरेर जागरणको समापन गरिने भएको छ ।

यस अवधिमा हरेक निर्वाचन क्षेत्र तथा गाउँ, नगर र वडास्तरसम्म विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरूको आयोजना गरिने, प्रबुद्ध व्यक्तिहरूसँग भेटी सुझाव लिने, स्थानीय निकायका कामहरूको समीक्षा गर्ने र संविधान दिवस मनाउनेलगायतका काम गरिने काङ्ग्रेसले जनाएको छ ।

यसअघि गत वैशाख २५ देखि जेठ २५ सम्म काङ्ग्रेसले पहिलो चरणको जागरण अभियान सञ्चालन गरेको थियो । उक्त अभियानले देशमा काङ्ग्रेस पार्टी अझै पनि जीवित रहेको सन्देश दिएको थियो । तर, सैद्धान्तिक र वैचारिक जागरण ल्याउने प्रयास काङ्ग्रेसबाट त्यसबेला पनि भएको थिएन र अहिले पनि छैन । जागरणका नाममा काङ्ग्रेसले केवल सरकारको आलोचना र कम्युनिस्टलाई गाली गर्ने काम मात्र गर्दै आएको छ ।

यसपटक पनि कम्युनिस्टलाई गाली र सरकारको आलोचना गर्नमै समय खर्च गर्ने सङ्केत काङ्ग्रेसले दिइसकेको छ । कुनै समय संसदीय प्रजातन्त्रमा प्रतिबद्ध काङ्ग्रेस अहिले मिश्रित प्रणालीमा गएको छ, ब्रिटिस मोडलको संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रका पक्षमा उभिएको काङ्ग्रेस अहिले गणतन्त्र आफैँले ल्याएको दाबी गर्दै छ, धर्मसापेक्ष मुलुकप्रति सकारात्मक र २०४६ को परिवर्तनपछि हिन्दूराष्ट्रको पक्षमा उभिएको काङ्ग्रेस अहिले धर्मनिरपेक्षताको प्रवक्ता बनेको छ । जसका कराण काङ्ग्रेस र कम्युनिस्टबीचको दूरी अत्यन्त न्यून हुन पुगेको छ । यस्तो अवस्थामा काङ्ग्रेसले विचारको जागरण पैदा गर्नुपर्नेमा त्यसप्रति उक्त दल उदासीन देखिएको छ । त्यसैले दोस्रो चरणको जागरणले पनि काङ्ग्रेसमा आत्मतुष्टिबाहेक केही नदिने स्पष्ट भएको छ ।

बीपीको विचार विस्थापित गरेर काङ्ग्रेसले बीपीलाई केवल रूख (चुनाव चिह्न) का रूपमा मात्र स्थापना गर्न खोजेकोले बीपी विचारका अनुयायीहरू काङ्ग्रेस नेतृत्वप्रति थप निराश बनेका छन् । यसलाई विश्लेषकहरूले काङ्ग्रेस विचारविहीन भए पनि चुनाव चिह्नको मात्र रक्षा गर्ने सोचमा उक्त पार्टीको नेतृत्व रहेको भनी अर्थ लगाउन थालेका छन् ।