केपीको राष्ट्रवाद र इन्धन पाइपलाइन





■ स्वयम्भुनाथ कार्की

जनमतसङ्ग्रहपछि चार लाख मतान्तरको हारसरहको जित महापञ्चको मन्त्र भएको थियो । सुबथा पदमा रहुञ्जेल उनका पञ्चहरूले हरेक भाषणमा कुराकानीमा यो मन्त्र सामेल गर्ने उर्दी गरेका थिए । त्यसैले उनका पञ्च कानै पाक्ने गरेर जनमतसङ्ग्रहको जितको उल्लेख गर्ने गर्दथे ।

पदबाट हटेपछि सुबथाले आफू अवसरवादी राजनीतिका श्रेष्ठ व्यक्तित्व भएको थप प्रमाण दिए । उनले भने– जनमतसङ्ग्रहमा धाँधली गरेर जिताएको हुँ । अब यो ठीक–गलत के हो भन्ने कुराले केही फरक पर्दैन ।

जीवनभर उनले अपनाएका अवसरवादी राजनीतिले वर्तमानमा पनि राप्रपा फुटाउने र जुटाउने भूमिका खेल्छ । महापञ्चखाले राप्रपा नेताहरूमा अपवाद छोडेर पार्टीमा सङ्गठित हुनुको एउटै सिद्धान्त छ, त्यो हो आफू महपञ्च भएको दम्भ कायम राख्नु ।

गृहमन्त्री बीपीलाई सहायता गर्ने बहानामा नेहरूले पठाएको राजनारायण वास्तवमा नेपालको सूक्ष्म प्रबन्धन (माइक्रो म्यानेजमेन्ट) गर्ने भारतीय औजार थियो । जसलाई बीपीले राजा त्रिभुवनको सचिव पदमा सरुवा गरेका थिए । राजा महेन्द्रले यो कुरा बुझेर भारतीय प्रतिनिधिको उपस्थितिलाई नियन्त्रण गरेका थिए । आफ्नो अभीष्टमा राजसंस्था यसरी तगारो भएदेखि भारत हमेसा यो तगारो तोड्न सक्रिय भएको देखिन्छ । यसै क्रममा ऊ अनेक बहानामा नेपाललाई नाकाबन्दी गर्ने गर्दछ । अर्थात् नेपालमाथि गरिने नाकाबन्दी उसको सूक्ष्म चाल हुने गर्दछ । २०१९ को नाकाबन्दी र २०२७ को नाकाबन्दी उसको असफल प्रयास थियो । तर, २०४६ को र २०७२ को नाकाबन्दी भने पूर्णतया सफल भयो । जानेर वा नजानी नेपाली नेतृत्व भारतको चालबाजीको सिकार भयो ।

पञ्चायतकालमा नेपालको व्यापार भारतमा खाद्यान्न निर्यातबाहेक नुन, मसला, कपडाजस्ता केही कुरा आयात मात्र थियो । नेपालले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरेर बन्दरगाहमा भारतलाई जिम्मा लगाउँथ्यो । त्यो तेलको प्रशोधन खर्च र सीमानिकटसम्मको ढुवानी खर्च व्यहोरेर नेपालले लिन्थ्यो । नेपाली तयारी छाला विदेशी आयातकर्ताको निमित्त पहिलो रोजाइ हुन्थ्यो । यस्ता धेरै आधारभूत सामग्री उत्पादन गर्ने उद्योगहरू चल्दै वा बन्दै गरेका थिए । यस्ता कार्यक्रमले भारत–नेपाल व्यापार सन्तुलनमा नेपाललाई फाइदा हुन्थ्यो ।

तर, ०४६ को नाकाबन्दीपछि गरिएको सम्झौताले नेपालले भारतबाट र भारतीय मोलमा मात्र इन्धन खरिद गर्नुपर्ने भयो । आधारभूत सामग्री उत्पादन गर्ने उद्योगहरू बन्द गराउन भारत सफल भयो । त्यसको बदलामा बियरलगायतका उत्पादन गर्ने उद्योग स्थापना भए ।

केपी ओलीलाई राष्ट्रवादी रंगमा रंग्याउने ०७२ को नाकाबन्दी घटनाक्रम हेर्दा संविधान जारी गर्न अवरोध होइन सहायता पु¥याउने लक्ष्यले गरिएको देखिन्छ । संविधान लागू गर्ने बेलामा नेपालमा सर्वत्र विरोधको लहर थियो । आन्दोलनहरू भइरहेका थिए । ती आन्दोलनमा ज्यान पनि जाँदै थिए । यस्तो बेलामा नेपालमा एक उच्चस्तरीय नाटक मञ्चन भयो । जनताको विरोधलाई एकाएकको भारतीय नाकाबन्दीले समाप्त पारिदियो । एकाएक राष्ट्रवादी भएर जनताको मनमा बस्ने यो मौका केवल केपी ओलीले चिने । यो मौका केपीले मात्र चिनेका थिए भन्दा अन्याय हुन्छ । किनभने यो मौका चिन्ने अर्का नेता थिए राप्रपा नेपालका अध्यक्ष ।

धेरैलाई याद होला उनले कसरी राप्रपा नेपाललाई १८० डिग्रीमा फरक्कै फर्काएका थिए । त्यसबापत उनलाई दुई महत्वपूर्ण मन्त्रालय दिइएको थियो– परराष्ट्र र स्थानीय विकास । यदि उनले यसको सही प्रयोग गरेका भए आज करिबकरिब क्षेत्रीय पार्टीमा रूपान्तरण भएको दलको होइन भरसक सत्तारुढ नभए पनि प्रमुख विपक्षी दलको अध्यक्ष हुन्थे । ओलीलाई नाकाबन्दीमा नझुकेको भनेर राष्ट्रवादीको माला लगाइदिने उनै थिए । त्यही मालाको प्रतापले आज ओली झण्डै दुईतिहाइसहित सरकारको नेतृत्व गर्दै छन् र कमल थापा रनाहा लागेर घुम्दै छन् ।

नाकाबन्दीमा नझुकेको कुराबाहेक ओलीको राष्ट्रवाद अन्त कता देखिएको छ ? सम्पूर्ण नियन्त्रण भारतको भएको व्यारेजको सबै ढोका खोलेको हावा कुरा ? विषादी प्रयोग भएको तरकारी प्रतिबन्धकोे नाटक ? चीनको चुच्चेरेल त चिनियाँ राजदूतले फासफुस पारिदिइन् । संविधान दिवसमा मोदीलाई निम्तो, अरुण परियोजनाको मोदीको कार्यालयबाट उद्घाटन, यी कुराले राष्ट्रवाद देखाउन खोजेको भए बेग्लै कुरा हो । नत्र मोदीले आफ्नो कार्यालयबाट उद्घाटन गर्ने तेलको पाइपलाइनले नेपालको घाँटी नै भारतलाई सुम्पेको देखिन्छ । ओलीको अरिँगाल भएर होइन सच्चा नेपाली भएर सोच्नुस्, त्यो नाकाबन्दी ओली–मोदी मिलिभगत हो वा होइन ?

प्रतिक्रिया