गणतन्त्रको धराप !

राजधानीको अनुहारले नै देखाउँछ सिङ्गै देशको चित्र





■ प्रदीपकुमार शर्मा

पङ्क्तिकार ०४३ फागुन २६ गते नेपालगञ्जबाट रात्रिबसमा हिँडेको २७ गते बिहानै ७ बज्दा त्रिपुरेश्वरमा उत्रेर जावलाखेल जानको लागि ‘कालोटेम्पो’ रोकेँ । आफ्नो गन्तव्यको दूरी आफूलार्ई थाहै नभएको र साथमा चामलको एक बोरा (अहिलेको जस्तो दुब्ले बोरा होइन) पनि भएकोले भाडा मनमा कल्पिरहेको थिएँ । भाडा ? उत्तर आयो– ‘मिटरमा आउँछ हजुर, उत्रिने बेला थाहा भइहाल्छ ।’ अहिलेको ट्याक्सीचालकको व्यहोरा कस्तो छ आफैँ कल्पना गर्दा हुन्छ । सायद रुपैयाँ ११ हो कि जस्तो लाग्छ– दिएँ । जतासुकै कुहिरोले छोपेको काठमाडौ त्यसबखत, अहिले पुसकै मध्यमा देख्न मुस्किल छ, । हुन त त्यसभन्दा ३४ महिना पहिले त्यसैगरी पहाडबाट उच्च भन्ने शिक्षा लिन नेपालगन्ज गएको थिएँ । त्यसबेला महेन्द्र राजमार्ग कोहलपुरभन्दा केही पश्चिमसम्म भर्खर–भर्खर बनेको थियो । जीवनको १५–१६ वर्ष पार गरेको वयमा के नै धेरै देखिहाल्न पाएँ भन्नु ! यन्त्रको नाममा धरमा एउटा हल्यान्ड फिलिप्स भन्ने रेडियो थियो । आफ्नो लागि त्यो चढेको बस नै पहिलो बसयात्रा होला सायद, अरू सम्झना छैन ।

नेपालगञ्जमा ३४ महिना पढ्न बसुन्जेल नेपालबाट भारततर्फ खाद्य र अन्य जङ्गलका उत्पादन लिएर जाने भीमकाय ट्रकहरूको लावालस्कर देख्नुबाहेक गाडीको नाममा सरकारी र नेपाल प्रहरीका छिटपुट देखिन्थे । पाइडल मार्ने रिक्सा यत्रतत्र पाइन्थ्यो । प्रायशः आरएनएसीको रसियन जिप भ्वाँरभ्वाँर आवाज गर्ने धेरै ओहोरदोहोर गर्थ्यो । निजी सवारी १–२ वटा थिए । सीमामा भारतीयका गाडी पनि कतै देखिँदैन थिए । कत्थामिलको हाफ डाला भन्ने ट्रकले खयरका ठूलाठूला रूखहरू जरैदेखि उखेलेर ल्याएको देख्न पाएको हो । अचेल नेपालभर खोजे पनि त्यत्रा ठूला खयर देख्न मुस्किल भइसकेको छ । महाकाली राइसमिल भन्ने यहाँको ठूलो मिल हो भन्ने सुनेकोले शनिबार र कुनै बिदाको दिनमा यताउता मिल भ्रमण गरिन्थ्यो । महाकालीभन्दा उत्तरतिर अलि सानो टन्डनकै अर्को राइसमिल थियो । हामी प्रायशः त्यो मिलको बाटो भएर बजार ओहोरदोहोर गर्ने हुनाले मिलको काम धेरै देख्न पाइन्थ्यो । धानैधानको को भक्ये चाङ कत्रो अनुमान के दिनु । धान उसिनेर सुकाउनुपर्ने सुकाएको धानमा लाग्ने चरा धपाउन र सुकेका बोराको चाङबाट सुगा धपाउने मान्छे नै सयौँजना दिनभर लागिरहेका देखिन्थे । तिनै मिलबाट धानचामलले भरिएका ट्रकको लावालस्कर भारत हुँदै कताकता जान्थे । यताबाट उता जाने भरिएका ट्रक र उताबाट यता आउने पेट्रोल र डिजलका ट्याङ्कर देखिन्थे । आफूलार्ई धेरै चासो यो धानको यत्रो भुस लगेर के गर्छ ? भन्ने जिज्ञासा अद्यापि रह्यो । भुस पनि बिक्दोरहेछ । पहाडतिर यस्तो भुस बाटो हिलो भएको ठाउँमा छरेको देखेको ।

काठमाडौं त्रिपुरेश्वर उत्रेर बाटो वारपार गर्न कठिन पो भयो । अहिलेको तुलना गरेको होइन त्यसबेला राजधानी र मोफसलको तुलना गरेको । हुन त राजधानी देशको गौरव गर्ने कमसेकम हुन पनि पर्छ । त्रिपुरेश्वर–सूर्यविनायक चल्ने ट्रलिबस महेन्द्र सालिक परिक्रमा गरेर फर्कंदो रहेछ । थापाथलीतिरबाट जापानबाट सहयोगमा आएको नीलो रङको बस लगनखेलतिर जाने–आउने गर्ने बाटोको शोभाजस्तो लाग्ने । राजाहरूले समयसमयमा महासभाहरूमा व्यक्त गरेका उद्गारहरू र राष्ट्रवाणी लेखिएका ठूला–ठूला बोर्ड मुख्य चोकहरूमा राखिएका । एक हिसाबले सामान्य ज्ञान नै हुँदोरहेछ त्यो विद्यार्थी कालमा । टेकुमा नेसनल ट्रेडिङका काम होला तारमा झुन्डिएको खटौलीजस्तोमा सामान आइरहेको र पुनः खाली खटौली फर्केको देखिने । पछि थाहा लाग्यो– हेटौँडाबाट सिमेन्ट ल्याउन र यता काठमाडौंबाट हेटौँडा हुँदै देशैभर चिनियाँ सामान नेसनल ट्रेडिङका गोदाममा पठाउने क्रिया पो रहेछ । हेर्दै रमाइलो लाग्ने । धेरैजसो सार्वजनिक संस्थानहरूका कार्यालय देखिन्थे । निरन्तरको काठमाडौंको बसाइमा स्नातक पढ्ने परिपाटी परेको र सो अध्ययनको कुनै विषयले सार्वजनिक संस्थानहरू र फाटफुट खुलेका निजी उद्योगहरूको जानकारी लिने काममा संलग्न भएकोले सामान्य जानकारी भएको हो ।

चौबीस घन्टा निरन्तर काम हुने तयारी पोसाकका कारखानामा अहर्निश बत्ती बल्ने हुनाले रातभर टोलमा उज्यालो हुने, रात छिप्पिए पनि हिँडडुल भइरहने । साझा यातायातको बस रत्नपार्कबाट लगनखेलको लागि र जोरपाटीसम्म जाने रातको ९ः३० सम्म अनिवार्य चल्ने भएको र ट्रलिबसले पनि त्रिपुरेश्वरबाट सूर्यविनायकसम्म त्यस्तै सेवा दिइरहेको थियो । एकप्रकारले यातायातमा समयसापेक्ष सुविधा थियो । अहिले बेलुका ७ बजे कुनै सार्वजनिक सवारी पाउनु महाप्रलयको अवस्था भएको भुक्तभोगीलार्ई हेर्न शहीदगेटदेखि नयाँसडक मूलगेट हुँदै भद्रकालीसम्म नजर फिराए छर्लङ्ग देख्न सकिन्छ । यो भनिरहिएको राजधानीको मुहार हेरेरै समग्र देशको तस्बिर देखाउनलार्ई हो ।

सरकारी अस्पतालले सबैलार्ई समान सेवा दिन सक्दो प्रयास नगरेको होइन । जे–जस्तो सुविधा दिन आवश्यकता थियो र जति दिन सक्ने राज्यको क्षमता थियो हरेक अञ्चलमा अञ्चल अस्पताल बनेका थिए । जुन जिल्लामा अञ्चल अस्पताल बनेको छ त्यो जिल्लामा बाहेक प्रत्येक जिल्लामा जिल्ला अस्पताल बन्ने क्रममा थिए । सबैलाई समान औषधोपचार दिन केन्द्रमा वीर अस्पतालले विशेषज्ञ सेवा दिने र शिक्षण अस्पतालले पनि आधुनिक सेवामा सुधार गर्दै लगेको । देशभरका बिरामीहरूको चाप विशेषज्ञ सेवाको लागि केन्द्रमा सक्दो व्यवस्थालार्ई जनसङ्ख्याको मात्राअनुसार नभएकोचाहिँ होइन । ०४६ सालमा जनताको सहभागितामा शासनमा परिवर्तन भन्ने आएपछिको चुनावी सरकारले निर्वाचित सरकारलार्ई शासनाधिकार हस्तान्तरण गरेपछिको पहिलो काम जनमुखी सरकारले स्वास्थ्य र शिक्षामा निजी क्षेत्रको प्रवेश खुला गऱ्यो । यस कामले देशव्यापी हलचल ल्यायो । पहिलो निजी क्षेत्रको लगानीमा चितवनमा विदेशी लगानीमा शिक्षण अस्पताल खुल्यो, तर सरकारले उसकै हित हुने गरी सामुदायिक जंगल दिने निर्णय गरेकोले जनताले आन्दोलन गरेका हुन् । सरकारको बलमिच्याइले जङ्गल सखाप गरी निजी शिक्षण अस्पताल सञ्चालनमा ल्याइयो । दिन बित्दै गए, सहरकेन्द्रित निजी अस्पताल र शिक्षण संस्थाहरू खुल्दै गए । यसको गलत कामको परिणाम सरकारी विश्वविद्यालयहरू र सरकारी अस्पतालहरू दिनरात रोगी र दरिद्रताग्रस्त गराइए । आफ्ना पादसेवकहरूको भर्ती गर्ने र त्यसको अर्थरसमा डुबुल्की मार्ने काम एकातिर र अर्कोतिर निजीलाई प्रोत्साहन दिने तारतम्य मिलाएकै हो । किनभने यिनैहरूका लगानीले नै यस्ता व्यवसायमा बढोत्तरी भएको हो । यसको प्रमाणपत्र हरेक नेपालीले हातहातमा बोकी हिँडेको छ ।

सरकारी कार्यालयमा हुने काम नहुने र नहुने काम हुने गर्ने सुरुवात पनि यसै कालबाट भएको हो । मन्त्रालयमा भ्रष्टाचार भयो कि भ्रष्टाचार रोक नभए म मन्त्रालयमा जान्नँ भन्ने मन्त्रीको आग्रहमा प्रधानमन्त्रीबाटै जोगी हुन कसैले राजनीति गरेको हुँदैन भन्ने जवाफ मन्त्रीले सुन्नुपरेको हो । त्यसबेलाका दैनिक पत्रपत्रिकाको अध्ययन गरे घटनाका पहेली उजागर हुनेछ ।

०६२/६३ मा जसले जति नै ठूला थेसिस लेखुन् जनता सडकमा आएको दुईतर्फले चेपुवामा पारेकाले हो । त्यसबेला हतियारको चपेटामा परेको सर्वसाधारण अहिले मतियारको चपेटामा परेको महसुस गरिरहेको छ । मतियारको पहिचान पनि गरिसकेको छ । हतियारको अगाडि नझुक्ने जनता यस्ता नाथे मतियारलाई पन्छाउन किमार्थ हिचकिचाउने छैन ।

यस्तो कुरा अहिले किन उठाउनुपरेको हो भन्ने प्रश्न खडा हुन सक्छ किनभने यो प्रवृत्ति अहिलेको विषवृक्षले धपक्क ढाकेको विजारोपण नै त्यस्ता घटनाका प्रमाण हुन् । ‘महाजनो यन गतश्चः पन्था’ भन्ने कुराले मुख्य नेताले जस्तो आचरण र व्यवहार गर्छ आमजनमानसले त्यस्तै अनुशीलन गर्ने हुन् । जनताको मत पाएको अहंकार जनताकै शोषणका लागि जानी–नजानी हाबी गराइयो । नेता जनताको सेवक हुने राजनीतिको धर्म हो । तर, यसको ठीक विपरीतका कर्म नेता भन्नेहरू सबै जनताका मालिक भए । आफ्नोअनुकूल हुनेगरी जति पनि नियम र कानुनहरू बनाइए त्यसले पनि नेता र जनताको दूरी बढाएको हो । सांसद्लाई भन्सार छुट हुने सवारीसाधन दिने ? स्वास्थ्यसुविधा जनताले ज्वरो आएको बेला सिटामोल नपाउने, तर नेताहरू रुघा लाग्दा विदेशमा महँगो उपचारको लागि जाने ? यता पाँचतारे होटेल स्तरको अस्पतालको विशिष्ट कक्ष ३० वर्षदेखि खाली राख्ने ? यही हो त प्रजातन्त्र ? यो अन्याय घट्दै जानुको साटो बढाउँदै लगियो । तँ शेर भए म सवा शेर भन्ने भावसहित ‘त्यो भारत जान मिल्ने म अमेरिका र जापान जान किन नमिल्ने ?’ भन्दै राज्य दोहन निरन्तर गरिइरहियो ।

राजनीतिले गर्ने काम गरेन, नगर्ने काम गरिरह्यो । आमसर्वसाधारणलार्ई राजनीतिले डोऱ्याउनुपर्नेमा राजनीति गर्नेहरू अहंकारले यति धेरै ग्रस्त हुन गए । एक्लै चौवन्नी कार्यकर्ता पनि यिनीहरूका लागि औजार मात्र भए । चुनावमा मोटरसाइकलको इन्धन भण्डार पूरा भरिए, होटेलहोटेलमा मासुभात र रातमा सोमरसको यथेष्ठ व्यवस्था हुने ठाउँमा ठूला–ठूला जमघट गराएकोले चुनाव आफ्नो पकडमा आउँछ भन्ने दर्शन स्थापित गरियो । स्थानीयदेखि प्रधानमन्त्रीसम्म हुने चुनावको रौनक यिनैले निर्माण गरेका हुन् । ०५४/५५ सालमा संसद्मा अविश्वासको प्रस्ताव जिताउने मात्र होइन हराउन कतिसम्म भयो बयान गरिसक्नु छैन । १२ जना संसद्लार्ई कुपण्डोलको भूपूमन्त्रीको निजीघरमा बदमासीका सबै सुविधाको व्यवस्था गरी तीन रात चार दिन बाहिर मूलढोकामा ताल्चा लगाई थुनियो । ६ जनालार्ई रातारात थाइल्यान्ड उडाइयो । चारजनालार्ई रातमा विश्राम गरेको निजी वायुयान र उक्त दिनको उडान अवधि सकेर घरमा आराम गरिरहेको पाइलटलार्ई घरमा गाडी पठाई विराटनगर हुँदै जोगवनी पुऱ्याइयो । यस्ता कुकर्म निरन्तर भए । संसद्ले सुविधाको हदैसम्म गरे । सुत्केरीको औषधिसमेत पुरुष संसद्ले पान गरे । भत्ता खानकै लागि मात्र पनि संसद्मा हाजिर लगाउन पुगे । यो कामलाई त अहिले पनि निरन्तरता दिइरहेकै छन् ।

बजारमा के–के भइरहेको छ यसमा सबै विज्ञ छन् । तर, के गर्ने भन्ने सवालमा पनि जानकार छन् र जनताको सुविधा र बजारको अत्याचारको नियन्त्रण गर्ने मामलामा होइन । अब कसरी आफ्नो दलाली व्यवसायबाट मौकाको फाइदा लिने भन्ने ध्याउन्न बनाउन मात्र यी विज्ञता गरिरहेका छन् । कुन क्षेत्रमा लगानी गरेर कसरी व्यावसायिक टाइकुन बन्ने ध्याउन्न सधैँ रहेको छ । सरकारी शिक्षण संस्था ध्वस्त पारेर निजी मेडिकल कलेज खोल्न कस्तोसम्म गरे जगजाहेर छ । यो एउटा नमुना मात्र हो ।

कुनै समय तत्कालीन शाही नेपाल वायुसेवाका १४ ट्विनअटर, ३ एभ्रो, ३ बोइङ ७३७ र २ बोइङ ७५७ सञ्चालन गरेको संरचनालाई यो अवधिमा यति धेरै तहसनहस पारियो जो जगजाहेर छ । आरएको नयाँ जहाज ल्याए किन्ने समयमा कमिसन जहाज नयाँ नल्याए विदेशी वायुसेवाबाट कमिसन । यस्तो चरम भ्रष्टाचारको कडी सामान्य जनमानसले भेउ नै पाएको हुँदैन । शासन गरिबलार्ई मात्र लाग्ने हो ? यातायातको दुर्दशाले मर्ने गरिब नै हो । सडक दुर्घटनामा मर्नेले सामान्य बिमा रकम पाउने यही दुर्घटना हवाई यातायातमा हुँदा मृतकका आफन्तको जीवनस्तरमा नै सबल परिवर्तन भएर जाने ? गरिब सधैँ गरिब हुनुपर्ने यो दुई तहको नागरिक निर्माणको काममा सुधार होला भन्ने आशा पनि किनारा लगाएको किन ? न सडकको यथोचित सुधार गरियो न यसबाट जनतामा हुने क्षतिमा परिमाणात्मक व्यवस्था नै गरियो । हवाईसेवामा अनुमतिपत्र वितरण गरेर खुला प्रतिस्पर्धा हुन्छ भने तापनि व्यवसायीको सङ्गठनले त्यो सर्तसमेत चेपुवामा पारे । सडक यातायातको भाडामा पनि कतै नमिल्ने व्यवस्था गरिएको छ । तेलको भाउ वृद्धिसँगै यातायातको भाडा बढाउने ? के तेल मात्रै कारण हो ?

अनगिन्ती सवालहरू यत्रतत्र सर्वत्र छताछुल्ल कोबाट भएको हो ? के आमसर्वसाधारण जनताकै कारण विकास र प्रगति नभएको हो ? काम गर्ने आमसर्वसाधारण, भोट दिएर नेता भन्नेहरूलाई शासनाधिकार दिने सर्वसाधारण, राज्यलार्ई पाइलापाइलामा कमाएर होस् वा भोकै बसेर कर तिर्नैपर्ने पनि सर्वसाधारण, दुःख पाउने, धक्का खानुपर्ने, समयमा उपचार गर्न नपाउने, सोचेअनुसार खान नपाउने, गतिलो र समान शिक्षा नपाउने भएजतिको कष्ट भोग्ने सर्वसाधारण । यदि यस्तो दुःख भोग्नैपर्ने भए सर्वसाधारणलार्ई गणतन्त्र भन्ने यो लुटतन्त्रको के काम ? राजतन्त्र हुनु र गणतन्त्र हुनुमा सर्वसाधारणलार्ई फरक महसुससम्म हुन्न भने किन चाहियो यो लुटतन्त्र ? हरेक जीवलाई आफ्नो परिवेशअनुसारको जिजीविषा हुन्छ । यदि अनुकूल जीवनयापनको कठिनाइ के ? र, यसको कारण के हो ? भन्ने सर्वसाधारणले बुझेको दिन कारणलाई उखेलेर फ्याँक्न कामकाजी नागरिकले कसैको बुई चढ्नैपर्दैन । ०६२/६३ मा जसले जति नै ठूला थेसिस लेखुन् जनता सडकमा आएको दुईतर्फले चेपुवामा पारेकाले हो । त्यसबेला हतियारको चपेटामा परेको सर्वसाधारण अहिले मतियारको चपेटामा परेको महसुस गरिरहेको छ । मतियारको पहिचान पनि गरिसकेको छ । हतियारको अगाडि नझुक्ने जनता यस्ता नाथे मतियारलाई पन्छाउन किमार्थ हिचकिचाउने छैन । क्रान्ति हुन कारण चहिन्छ । कारण पहिचान गर्न आरहण चाहिने हो । आरहणको तापमा तापको डिग्री पुगे हतियारको आकार दिने तारण चाहिने हो । जनताले त्यो तारणको खोजी मात्र गरिरहेको हो ।

गणतन्त्र धरापमा परेको होइन ती लुट्न पल्केमा र राज्य दोहनमा विद्यावारिधि गरेकाहरूको भोग सकिन लागेकाको छटपटी हो । नागरिक भइसकेको राजालाई नागरिकको मतबलले शासन गर्न दियो भने त्यो पनि जनतन्त्र नै हुने हो । गणतन्त्र त यिनै गणहरूले चलाएकै छन् । लोकतन्त्र यहाँ चल्न दिएकै छैनन् । गणतन्त्रका गण पनि यिनै हुन्, गणतन्त्र अठ्याएर राख्ने बलोकिलो र चुकुल पनि यिनै हुन् । गणतन्त्रलाई च्याप्ने धराप पनि यिनै हुन् ।

गणतन्त्र खतरामा छ मिलेर रक्षा गरौँ भन्ने केही दिन अगाडि भएको मतियारको भेलाले गणतन्त्रको रक्षाको लागि त्यो भलाकुसारी गरेको थिएन केवल उनीहरूको गाथगादीमाथि मडारिएको धुवाँ देखिसकेकाले हतास देखिएको हो । गणतन्त्रको लडाइँ यहाँ भएकै छैन । कसैले कसैका लागि भोगाधिकार हस्तान्तरण गरेको हो । जनताका प्रतापले प्राप्त भोगाधिकार खोसिने त्रासले यो कोलाहल भएको छ । लड्ने–भिड्ने मर्ने जनता मोज गर्ने यिनीहरू ? जनता आफ्नो लागि भन्दै लडिरहे मोज गर्ने बेला यिनै जनताले तिनैलाई हेरिरहे । गणतन्त्र भन्ने यो कपटीतन्त्र आएपछि आठ सयभन्दा बढी बुँदे सम्झौता यिनीहरूले गरेका छन् । तर, दुःख मानेरै उल्लेख गर्नुपर्ने हुन्छ ती आठ सयभन्दा बढी बुँदे कुनै पनि बुँदामा जनताको सुविधाको लागि भन्ने एक बुँदा भएको छैन । छ त केवल कसले कति सत्ताभोग गर्ने । कुन–कुन मन्त्रालय र देशको बाँडफाँड कसलाई कति–कति हुने । आफ्नो सुविधाको लागि र आफ्ना पहरियाको लागि । भ्रष्टाचार नियन्त्रणको कुनै बुँदा छैन, छ त केवल लिखित वा मौखिक । भ्रष्टाचार गरेको दौलत कसरी छिपाउने ।

गणतन्त्र खतरामा छैन । जनता सचेत भए हुन्छ । खतरा छ र लुटको स्वर्गमा राज गर्नेहरूको भोगाधिकार खतरामा छ । यो खतराले भोगाधिकार मात्र खोस्ने छैन लुटेको वैभवसमेत खोस्नेछ । जनतालाई आजसम्म छलेको, ठगेको, गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरेको कारणबाट जनतामा पर्न गएको क्षतिको क्षतिपूर्तिसमेत जो–जससँग सम्बन्धित छ उसैबाट असुलउपर गर्नैपर्ने भन्ने जनताको आक्रोशबाट कसरी आफू उम्कने ? सत्ताच्यूत हुन गएको अवस्थामा सुरक्षित रहने उपाए भनेकै पुनः नयाँ चालबाजी हो । अब फेरि पुरानो चालबाजी जनताले विश्वास गर्ने अवस्था नभएकोले निरन्तर लुट्ने नयाँ शैली मात्र हो । गणतन्त्रको खतरा कहाँबाट छ ? खतरा कतैबाट छैन ।

अर्थागमो नित्यनिरोगिता च प्रिय भार्या प्रियवादिनी च: ।
वश्यश्च पुत्रोऽर्थकरी च विद्या षड् जिवलोकेषु सुखानि राजन् ।

नियमित आम्दानी होस्, शरीर निरोगी होस्, सुन्दर सुशील परिवार होस्, त्यसमा पनि सबै प्रिय वचन बोल्ने होऊन् । विद्यावान र त्यही विद्यानुसारको आय गरिरहेको पुत्र होऊन् । यी ६ वटा चिज हरेक परिवारमा होस् यहाँभन्दा अरू सुख के चाहिएको छ र राजन् ।

उल्लेखित आवश्यकता पूरा गर्ने सामान्य परिवार अत्यन्त सुखी परिवार हो । जनताको कुन भयङ्कर माग छ जुन सरकारले पूरा गर्न भवसागर नै पार गर्नुपर्नेछ । हरेकको लागि कमसेकम सानोतिनो रोजगारी नियमित आम्दानी होस्, स्वस्थ हुन पोषिलो आहार होस् ता कि निरोगी काया होस्, कुनै व्याधी आइलागे राज्यबाट सहज उपचारको बन्दोबस्त होस्, यी दुई आवश्यकता पूरा हुने परिवारमा सबैको मुहार हँसिलो हुने नै भयो त सबैलाई प्रिय परिवार र प्रिय र मधुर बोली हुने नै भयो, परिवारका हरेक सदस्यको औसत शिक्षा र शिक्षाअनुसारको आयआर्जन होस्, यति काम पूरा गर्ने राज्य र नागरिक सबै सुखी हुन्छन् । यति साधारण र सरल काम गर्नेतर्फ कसैले वास्तासम्म नगर्ने ।

गणतन्त्र धरापमा पर्न लाग्यो भनेर अलाप्न सुहाउने कुरा हो ? गणतन्त्र धरापमा परेको होइन ती लुट्न पल्केमा र राज्य दोहनमा विद्यावारिधि गरेकाहरूको भोग सकिन लागेकाको छटपटी हो । नागरिक भइसकेको राजालाई नागरिकको मतबलले शासन गर्न दियो भने त्यो पनि जनतन्त्र नै हुने हो । गणतन्त्र त यिनै गणहरूले चलाएकै छन् । लोकतन्त्र यहाँ चल्न दिएकै छैनन् । गणतन्त्रका गण पनि यिनै हुन्, गणतन्त्र अठ्याएर राख्ने बलोकिलो र चुकुल पनि यिनै हुन् । गणतन्त्रलाई च्याप्ने धराप पनि यिनै हुन् । गणतन्त्र गए खासै फरक पर्दैन, यस्ता छद्म गणहरू च्यापिएकै ठीक छ । लोकतन्त्रै खाने गणहरू नै हुन् । देशमा लोकतन्त्रले फल्नेफुल्ने मौका पाउनुपऱ्यो, त्यो भए सबैले फुल्ने, फल्ने मौका पाउनेछन् । लोकतन्त्रले सिञ्चित भूमिमा सबैका जरा मजबुत रहने हुन्छन् । यो जस्तो गणतन्त्रमा ठूला रूखले कसैलाई हुर्कन बढ्न र फैलने मौका दिएन । यही नै गणतन्त्रको धराप हुन गयो ।

[email protected]

प्रतिक्रिया