मानिस किन आफ्नै ‘स्पेस’ चाहन्छन् ?



■ बबिता बस्नेत

तिजको माहौललाई नियालेर हेर्दा घरघरमा मानिसहरू खुसी भएको देखियो । महिलाहरू अलि ढिलो घर पुग्दा कसैले केही भनेन भनेर खुसी, पुरुषहरू महिलाकै चाड हो जेसुकै गरून् भनेर ढुक्क । माइत, घर या साथीभाइसँग दिनभरि बिताउँदा कहाँ हो, के हो खासै वास्ता भएन । नाच, गान, रमाइलोका बाबजुद घरमा एकप्रकारको खुसीको माहौल छायो । यो खुसीको कारण थियो, आफूले चाहेको ठाउँमा जान पाइयो, सोचेजस्तो गर्न पाइयो, कुनै बन्धन महसुस भएन । घर छोड्न पाएकाले महिला खुसी भए, केही दिन पत्नी माइत, आफन्त या साथीभाइसँग जाँदा पुरुषले आनन्द महसुस गरे ।

खाना पकाउन मात्रै गाह्रो हो नत्र ऊ नहुँदाको शान्ति अन्त कहाँ पाउनु ? भन्ने पुरुषहरूको सङ्ख्या हाम्रो समाजमा टन्नै छ । कतिले व्यक्त गर्लान्, कतिले नगर्लान्, तर वास्तविकतामा मानिसलाई एक–अर्काको साथ चाहिएको पनि छ, त्यति ‘कन्फर्टेबल’ पनि छैन । यसको अर्थ हो मानिसलाई सम्बन्धभित्र आफ्नो ‘स्पेस’ चाहिएको छ । जुन स्पेस प्रयोग गर्न नपाउँदा मानिसहरू बाहिर हँसिलो देखिए पनि भित्रभित्रै सकसपूर्ण जीवन बाँचिरहेका छन् । त्यसैले त मानिसले पत्नी माइत गएका, पति हराएकादेखि मृत्युका समेत जोक बनाएका छन् । वास्तविक जीवनमा आफ्नो ‘स्पेस’ खुम्चिएपछि जोक भनेर पनि चित्त बुझाउनेहरूको सङ्ख्या ठूलो छ ।

तिजमा पाएको स्वतन्त्रता महिलाले अरू बेला किन पाउँदैनन् ? यसको अर्थ सधैँ तिजमा झैँ नाचगान, खानेपिउनेको कुरा होइन । कहाँ, किन, कता, कसरी ? कहिले ? केका लागि ? के खोजेको ? जस्ता प्रश्नहरूबाट मुक्ति । पत्रकारितामा कुनै पनि समाचारका लागि पाँच ‘क’ अर्थात् फाइभ डब्लूएच (कहाँ ?, के ?, किन ?, कहिले ? र कसरी ?) अनिवार्य मानिन्छ । तर, नेपाली महिलाको जिन्दगीमा यस्ता ‘क’ वाला प्रश्न त कति आउँछन् कति । मानसिक स्तरअनुरूपका ‘क’ प्रश्नहरू महिला–पुरुष दुवैले एक–अर्काबाट प्राप्त गर्छन् जस्तो लाग्छ । किन ढिलो ? कहाँ गएको ? कोसँग थियौ ? मानौँ विवाह गर्नु या कसैसँग रिलेसनसिपमा रहनुको अर्थ आफ्ना साथीभाइ, आफन्त, नातेदार र आफ्नो नितान्त व्यक्तिगत संसारलाई पन्छाउनु हो ।

मिलेर अगाडि बढ्ने हो भने विवाह आफैँमा राम्रो, व्यवस्थित हुन मद्दत पुग्ने संस्था हो । तर, सम्बन्धहरू आफ्ना लागि भन्दा अरूका लागि अघि बढिरहेका जस्ता लाग्छन् । समाजले के भन्ला, परिवारले के भन्ला ? यसलाई त बन्धनमै राख्नुपर्छ, कहाँ जान्छ, जान्छे, के गर्छ, गर्छे के थाहा ? एक–अर्काप्रतिको शङ्कैशङ्कामा जिन्दगीका सुनौला दिनहरू खेर फाल्नेहरूको सङ्ख्या ठूलो छ ।

व्यक्तिगत संसार भनेको कहिले आँखा चिम्लिएर आफैँभित्र हराउन मन लाग्छ, कहिले आँखा खोलेरै तर एक्लै बसेर आफ्नो जिन्दगीको रोडम्याप बनाउन मन लाग्छ । एक्लै हुँदा अधुरोजस्तो लागे पनि बाँच्न जान्यो र आफूलाई संहाल्न सक्यो भने मानिस आफैँमा पूर्ण छ । म पूर्ण छु भन्ने बुझ्न भने समय र रुचि दुवै चाहिन्छ । ‘तिमी भएनौ भने म त बर्बादै हुन्छु’ भन्ने मानसिक अवस्थामा रहुञ्जेल मानिसले आफूलाई अधुरो पाउँछ । यद्यपि कुनै पनि मानिसले आफूजस्तै अर्को मानिसलाई अनेक तनाव दिएर थप अधुरो बनाउन सक्छ, तर पूर्ण बनाउन सक्दैन । त्यसो भए मानिसलाई के एक–अर्काको साथको जरुरी छैन ? मानिस एक्लै पूर्ण हुन्थ्यो भने विवाह र परिवारको अवधारणा किन आयो ? प्रश्न स्वाभाविक भएर अगाडि आउँछ ।

केही दिनअघि मेरी एक घनिष्ट साथीले भनेकी थिइन्, ‘हाम्रो विवाह भएको केही वर्षपछि बाहिर बस्ने एक नातेदार घरमा आएका थिए । घर देखाउँदे मैले भनेँ– यो हाम्रो कोठा । उनले मेरो श्रीमान्को नाम लिँदै तिम्रो कि उसको ? भनेर सोधे । म त छक्क परेँ र भनेँ, ‘के कुरा गर्नुभा’को दाइ, हाम्रो कोठा ।’ ल…तिमीहरू एउटै कोठामा बस्छौ ? प्रश्न झन् आश्चार्य लिएर आयो, मनमा डर पनि लाग्यो, हाम्रोबारेमा बाहिर नातेदारहरूबीच केही नराम्रो म्यासेज गएछ कि जस्तो पनि लाग्यो । उनले सहज रूपमा हामी त एउटै कोठामा बस्दैनौँ, उनको कोठा छुट्टै छ, मेरो छुट्टै, उनलाई के गर्न मन लाग्छ, मलाई के गर्न मन लाग्छ । आ–आफ्नो कोठा भएपछि झन्झट हुन्न नि, झगडा कम हुन्छ भनेका थिए । हेर न, त्यतिबेला अचम्म लागेको कुरा समयक्रममा अहिले आफैँलाई त्यसप्रकारको स्पेस आवश्यक भएको महसुस गरिरहेकी छु ।

यसको अर्थ यो होइन कि उससँग मेरो सम्बन्ध राम्रो छैन । हामीबीच पहिलाभन्दा बढी अन्डरस्ट्यान्डिङ छ, एक–अर्काप्रतिको सामिप्यता छ, तर विहान मलाई आध्यात्मिक कुरा सुन्न मन लाग्छ, ऊ टेलिभिजन खोल्छ । म प्राणायाम र मेडिटेसन गर्छु उसलाई त्यस्ता कुराको मतलब छैन । ऊ राति मोबाइल हेरेर बस्छ, मलाई निदाउन मन लाग्छ । मेरो र उसको ‘नेचर’ नै फरक छ । जति मिलाउन खोजे पनि मिल्दैन । यो उमेरमा आएर तिमी र म अलग्गै कोठामा बसुँ है पनि कसरी भन्नु ? कहिलेकाहीँ त उसलाई पनि मलाईजस्तै भएको छ कि भन्न नसकेको पो हो कि जस्तो पनि लाग्छ ।’

जबसम्म कसैको स्वतन्त्र अस्तित्व लडाइँ–झगडाको विषय बन्छ त्यसले परिवार र समाजमा सम्बन्धलाई हेर्ने दृष्टिकोणमा समभाव ल्याउन सक्दैन ।

हुन पनि के गरी सिरक पट्याएको ? प्रश्नबाट शुरु भएको कसैकसैको संवाद तिमीले राम्ररी गरे हुन्न ? मैले मात्रै गर्नुपर्छ ? हुँदै तिमी यस्तो तिमी उस्तो एक–अर्कालाई पूरै खलपात्र बनाएर टुङ्गिन्छ । प्रकृतिले हरेक मानिसलाई फरक बनाएको छ । हरेक मानिसका सोच र प्रवृत्तिहरू फरक छन् । कसैलाई के राम्रो लाग्छ, कसैलाई के, विषय र सन्दर्भहरूलाई हेर्ने दृष्टिकोणहरू फरक छन् । कसैलाई भजन सुन्न मन लाग्छ, कसैलाई डिस्को जान मन लाग्छ । जो जहाँ गए पनि चाहिएकोचाहिँ आखिर खुसी नै हो । गृहिणी पत्नी र कामकाजी पतिका तनाव फरक छन्, गृह व्यवस्थापक पति कमै हुन्छन्, यदि रहेछन् भने घरमै बस्ने पति र बाहिर काम गर्ने पत्नीका समस्या फरक छन्, पतिपत्नी दुवै कामकाजी हुँदाका तनावहरू फरक छन् ।

तनावको व्यवस्थापन गर्ने तौरतरिकाहरू फरक छन् । मिलेर अगाडि बढ्ने हो भने विवाह आफैँमा राम्रो, व्यवस्थित हुन मद्दत पुग्ने संस्था हो । तर, सम्बन्धहरू आफ्ना लागि भन्दा अरूका लागि अघि बढिरहेका जस्ता लाग्छन् । समाजले के भन्ला, परिवारले के भन्ला ? यसलाई त बन्धनमै राख्नुपर्छ, कहाँ जान्छ, जान्छे, के गर्छ, गर्छे के थाहा ? एक–अर्काप्रतिको शङ्कैशङ्कामा जिन्दगीका सुनौला दिनहरू खेर फाल्नेहरूको सङ्ख्या ठूलो छ ।

हरेक मानिस आफैँमा फरक हो, यसमा महिला, पुरुष या तेस्रोलिङ्गी भन्ने छैन । फरक पृष्ठभूमि, फरक विचार, फरक चाहना, इच्छा–आकाङ्क्षा भएका मानिसले सँगै जिन्दगी बिताउने कल्पना गर्नु र बिताउनु चानचुने कुरा पनि होइन । तर, यो संवेदनशीलता र ‘पर्सनल च्वाइस’का बारेमा हामीकहाँ चर्चा नै हुने गरेको छैन । एक–अर्काको व्यक्तिगत रोजाइ र चाहनालाई सम्मान गर्नेहरूको सम्बन्ध जति सहज रूपमा चलेको छ नगर्नेहरूको त्यत्तिकै तनावमय छ । महिला हुन् या पुरुष मानिसले अन्ततः चाहने स्वतन्त्रता नै हो, आफ्नो इच्छा या मर्जीको जीवन हो । बाँच्दा मात्रै होइन मरेपछि पनि मुक्तिको कामना गरिन्छ, मुक्तिको अर्थ कसैको बन्धनमा नपर्नु हो । मरेपछि बन्धनलाई बाधाको रूपमा लिइएको छ, मरेपछि मात्र होइन जिउँदै हुँदा पनि कुनै पनि प्रकारको बन्धन बाधा नै हो ।

जबसम्म कसैको स्वतन्त्र अस्तित्व लडाइँ–झगडाको विषय बन्छ त्यसले परिवार र समाजमा सम्बन्धलाई हेर्ने दृष्टिकोणमा समभाव ल्याउन सक्दैन । तिजका दुई–चार दिन परिवारमा खुसियाली छाउनुको अर्थ एक–अर्काको स्वतन्त्र अस्तित्व र रोजाइसँग जोडिएको छ । ऊ म होइन, मभन्दा फरक छुट्टै मानिस हो, उसका र मेरा रुचिहरू फरक छन् भनेर एक–अर्कालाई बुझ्न मात्रै सक्यो भने धेरै असहज सम्बन्ध सहज भएर जान्छन् । कसैले भन्दैमा कुनै कुरा गर्ने या कुनै रोकिने पनि होइन । के गर्ने, के नगर्ने भनेर आफ्नो जिन्दगीको आचारसंहिता मानिस आफैँले तय गर्ने हो ।

प्रतिक्रिया