नारीरुपी विद्रोह हो ‘तीज’





■ अनिलभक्त खरेल

हरेक वर्षझैँ यो वर्ष पनि संसारभरि छरिएर बसेका सबै नेपाली नारीले धुमधामका साथ भव्य र उल्लापुर्ण रुपमा तीजलाई विदा गर्दैछन् । हुनेखानेले महिनादिनदेखि भोज-भत्तेर गरेर यो चाड मनाए भने हुँदाखानेले चाहिँ आफ्नो गच्छेअनुसार तीज पर्वलाई मर्न दिएनन् । अमेरिकाको भर्जिनियामा अघिल्लो हप्ताको शनिबार गएको अगष्ट २४ (भदौ ७) मा रामप्रसाद खनालको संस्थाले र अगष्ट ३१ (भदौ १४) मा अमेरिकी नेपाल सहयोगी संस्थाले भव्य रुपमा तीज सम्पन्न गरेको जानकारी पनि पाइयो ।

तीज पर्व हरेक वर्ष भाद्र शक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तीजको पहिलो दिन अर्थात् तीज इभलाई दर खाने दिनको रुपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरी चेलीहरू एकैठाउमा जम्मा भई ब्रत बस्न दरो हुनका लागि दर खान्छन् अर्थात् दरमा दह्रो खाना हुन्छ । यो दर खाने काम मध्यरातसम्म चालु रहन्छ । दोश्रो दिन तीजको मुख्य दिन हो । यस दिनमा कोही महिला निलाहार र कोही महिला फलाहार ब्रत बस्छन् । निलाहार भन्नाले पानी पनि नखाने र फलाहार भनेको पानी र फलफुल खाने भन्ने बुझिन्छ । यस दिनमा विवाहित नारीहरूले लगनको पोते र सम्भव भए लगनकै सारी तथा आफुसँग जे जस्ता गरगहना छन् सबै लगाई सोह्र सिँगार-पटार गरेर भगवान शिवजीको मन्दिरमा गएर पुजापाठ, नाचगान गर्छन् आफ्नो पति र परिवारको लागि प्रार्थना गर्छन् ।

तीजको ब्रत बसेमा खासगरी श्रीमानको लामो आयु हुने, मृत्युपर्यन्त गाढा सम्बन्ध हुने, घरमा सुख शान्ति हुने, असल र सुयोग्य वर पाउने विश्वास गरिन्छ त्यही भएर नेपाली विवाहित र अविवाहित सबै हिन्दु नारीले यो ब्रत बस्ने गरेको पाइन्छ । तेस्रो दिन विहान उठेर बत्ती बाल्छन्, केरा र तुल्सी पत्ताको पुजा गरेर चोखो खानेकुरा खान्छन्, यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ यस दिनको साँझ सानोतिनो विगो काम गते बात नलाग्ने बताइन्छ । तीजको चौथो दिन अर्थात् अन्तिम दिन ऋषिपञ्चमी हो । यस दिन विहान महिलाहरू नजिकको धारा पँधेरामा गएर अघिल्लो दिन नै जम्मा गरिएका विभिन्न किसिमका सामग्रीले ३६५ पटक स्नान गरी शुद्घ भई सप्तऋषि र अरुन्धतीको पुजा गर्छन् र त्यसको अर्को दिन घरबाट माइती आएकी चेली बिदावारी गरी आफ्नो कर्मघर फर्किन्छन् ।

तीज ३ प्रकारका हुन्छन् – १) हरियाली तीज, २) कजरी तीज र ३) हरितालिका तीज । यीमध्ये तेश्रो नम्बरको हरितालिका तीज नेपालमा प्रचलनमा छ । हुन त पछिल्लो समयमा हरियाली तीज पनि मनाउन थालिएको छ । श्रावण शुक्ल पक्ष तृतीया तीथिमा मनाउने यो पर्वलाई नेपाली नारीहरूले साउने सोमवारको रुपमा पनि मनाउन थालेका छन् । यो महिनामा हरिया चुरा, पोते, टीका, सारी लगाएर मनाउने हुनाले यसलाई हरियाली तीज भन्दा अत्युक्ति नहोला । कजरी तीज भने भारतमा बढी प्रचलनमा छ । यो हरियाली तीजको १५ दिनपछि अर्थात् श्रावण कृष्ण पक्ष तृतीया तीथिका दिन मनाइन्छ । यो पर्वमा भने गाईको पुजा गरिन्छ । कजरी तीजको १५ दिनपछि अर्थात् भाद्र शुक्ल तृतीया तीथिमा हरितालिका तीज मनाइन्छ । यो नेपाली हिन्दु नारीहरूको महान चाड हो । विश्वभर छरिएका नेपालीहरूले यसलाई बडो उल्लासमय रुपमा मनाउँदै आइरहेका छन् । ३० दिनको बीचमा तीन तीज भएको हुँदा पनि नेपाली नारीहरूले महिनौँ दिन लगाएर तीज मनाएका पनि हुन सक्छन् ।

हरितालिका (हर तालिका) व्रतको आख्यानअनुसार हिमसुता पार्वती बाल्यकालदेखि नै महादेवप्रति अत्यधिक भक्तिभाव राख्दै खेल्दामा पनि बालुवाको शिवलिङ्ग बनाई खेल्दथिन् । पछि ठुली भएपछि महादेव स्वामी पाउनको उद्देश्यले कठोर तप गर्न लागेकी थिइन् । यसैबीच पिता हिमवत्ले पार्वतीको विवाह विष्णुसित गरिदिने निर्णय गरेको थााहा पाएपछि उनी आफ्ना माता-पितालाई कुनै सुइँको नदिई घरबाट भागेर जंगल गइन्, अर्थात् मातापितासँग विद्रोह गरिन् । उनले अन्न-पानीसमेत त्याग (भोक हडताल) गरेर तप गर्न थालिन् । आजभन्दा २ दशक अघिसम्म त हाम्रो समाजमा मातापिताको निर्णयलाई विद्रोह गर्न धेरै गाह्रो थियो भने त्यो बेलामा झन् कस्तो थियो होला अन्दाज लगाउन सकिन्छ ।

पार्वतीले निलाहार ब्रत अर्थात् अन्नपानी मात्र हैन कि थुकसमेत ननिलिकन कठोर तपस्या (भोक हडताल) गरिन् । उनको तप (विद्रोह)को कारण स्वयं महादेव प्रकट भएर उनको इच्छापुर्ण हुने वरदान दिएको कारणले माता पिताले बाध्य भएर उनको विवाह महादेवसँग गरिदिए । उनको विद्रोहले माता पिताको मन पग्लिएर आफुले चाहेकोसँग विवाह भएको हुनाले यसलाई एउटा चाडको रुपमा मनाइएको हो भन्दा अत्युक्ति नहोला । व्रतरुपी विद्रोहले गर्दा आफुले चाहेकोसँग विवाह भएको हुनाले यसलाई पौराणिक कालदेखि निरन्तर रुपमा मनाइँदै आएको हो । यदि त्यसो हैन भने रुक्मिणीको विद्रोहलाई पनि पर्वको रुपमा मनाइन्थ्यो ।

रुक्मिणी पनि कृष्णसँग विवाह गर्न घरबाट भागेर गएकी थिइन् । पार्वतीले सर्वप्रथम माइतीमै आफ्नो लागि सुयोग्य वरको चाहनासाथ यो व्रत तप (भोक हडताल) प्रारम्भ गरेको हुँदा आफ्नो विवाहित जीवन सुरु भैसकेपछि पनि उनीहरूले ती पुराना यादहरूलाई चिरस्थायी राख्न खासगरी यो पर्व माइतीमा नै गएर मनाउन थालिएको हो । पहिला सुयोग्य वर, पछि पतिको सुस्वास्थ्य झन् पछि परिवारको सुस्वास्थ्यको कामना लागि यो पर्व मनाइँदै आएको छ ।

वर्षको एकपटक भएपनि साथीसँगीहरूसँग भेटघाट, नाचगान र रमाइलो गरेर मनाइने यो पर्वलाई विशेष रुपमा लिइएको छ । यस दिनमा नारीहरूले घर माइती तथा समाजमा आफुमाथि परेको अन्याय, अत्याचार, हिंसालाई गीत–सङ्गीतमार्फत व्यक्त गर्दछन् । गीत–सङ्गीतबाट निलाहार (भोक हडताल) बसेर पनि आगो ओकल्छन् । मान्नैपर्छ नारीहरूलाई त्यसदिन । कहाँबाट आउँछ उनीहरूमा यस्तो अदभुत शक्ति ? निलाहार (भोक हडताल) बसेर नाचगान गर्दा पनि उनीहरू रत्तिभर थकावट देखिँदैनन् । धन्य छ नेपाली नारीहरूको शक्तिलाई । सम्पुर्ण नारीहरूलाई तीजको शुभकामना । अस्तु ।

– भर्जिनिया, अमेरिका

प्रतिक्रिया