खेल-खेलमै श्रीमानले झुक्याएर लिए ‘डिभोर्स’

खेल-खेलमै श्रीमानले झुक्याएर लिए ‘डिभोर्स’


■ अर्कना खातुन

२०७५ साल माघ महिनाको कुरा हो । अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल एलर्टको एक कार्यक्रममा थियो । कार्यक्रमको नाम नै ‘स्टोरी टेलिङ’ ! कथा भन्ने भनेपछि निश्चय नै त्यो रोचक हुन्छ भनेर म सहभागी भएकी थिएँ । आवासीय वर्कशप थियो गोदावरीमा ।

हलभित्र

हल जुन सोचेको भन्दा बिल्कुलै फरक थियो । टेबल–कुर्सी राखिएको थिएन । भुइँमै चकटी राखिएको थियो । कतिपय बसिसकेका थिए भने केही आउन बाँकी । बिलकुलै नयाँ अनुहार र भिन्न जातजाती । सबैका अनुहारमा आश्चर्य र प्रश्नवाचक भाव देखियो– के हुन लागेको छ यहाँ !?

मेरो आँखा भित्तामा टाँसिएको कथाशालामा ठोक्किन पुग्यो । नाम नै कथाशाला रहेछ । कोठाभित्रको १७ वटा विभिन्न कथालाई केही क्रियाकलापद्वारा तालिम दिने जया र सुनिताजीले कथाका मुभि सुरु गर्नु भयो ।

कथा बिलकुलै फरक जसमा जात, वर्ग, लिङ्ग, रङ्ग, पैसा आदि केही पनि थिएन । सबैले आ–आफ्नो परिचय दिए । एकअर्कालाई चिन्ने सेसन चल्यो । सेसन धेरै रमाइलोसँग बितिरहेको थियो । हामी सबै एकदमै रमाउदै थियौँ ।

चोट पुऱ्याइएका कथाहरू पस्किने क्रम जारी थियो । १७ जनाका फरक कथाहरूमा हामी सबै डुबिसकेका थियौँ । सबैका कथा उत्तिकै महत्वपूर्ण थिए । एक किसिमले कथाको माध्यमबाट मेडिटेशन चलिरहेको जस्तो । समय बितेको चाल नै पाएनौँ । लन्चको समय पो भएछ । जयाजीले एक घण्टामा लन्च गरेर हलमा उपस्थित हुने भनिन् ।

अचम्मलाग्दो डिभोर्सको कथा

चिसो मौसम तात्तातो खाना । ज–जसले छिट्टोगरी खाए ती समय हुन्जेल घाम ताप्नतिर लागे । म पनि उतै लम्किएँ । परिचयपश्चात एकअर्कासँग बोल्न सहज भइसकेको थियो । हामी ६–७ जना घाममा गफिँदै थियौँ ।

कुरैकुरामा एकजना दिदीले कथाहरूकै प्रसङ्ग जोड्नुभयो, दुःख त सबैलाई हुन्छ नि, चाहे त्यो शिक्षित वर्गको होस् वा अशिक्षित, धनीको होस् या गरिवको । ती दिदी वकिल रहिछन् । आफुसँग भर्खरै आएको मुद्दाको बारेमा कुरा गरिन् । जुन कथा श्रीमानले झुक्याएर गरेको डिभोर्सको थियो ।

उनले भनिन्–

एकजना श्रीमती मकहाँ आइन् र भनिन् कि मेरा श्रीमानले अत्याधिक माया गरेर मसँग धोकाले ‘डिभोर्स’ लिनुभयो । श्रीमानको बाहिर अर्कै केटीसँग प्रेम थियो । ती केटीसँग बिहे गर्न श्रीमतीसँग जसरी पनि डिभोर्स लिनुपर्ने रहेछ, मलाई फसाइयो ।

श्रीमान् सधैं आफू बिरामीको नाटक गर्ने । जुनबेला पनि श्रीमतीको अगाडि आफू बिसञ्चो भएको बताउने । अनि एकदिन निरास भई श्रीमतीलाई भनेछन्– ‘सुन न, एक ठाउँमा चिन्हा देखाएको थिएँ । तपाईंले श्रीमतीसँग केही दिनका लागि मात्र भए पनि डिभोर्स लिनुपर्छ भने । तिमीसँग डिभोर्स गरेपछि मलाई सञ्चो हुन्छ रे । मेरो स्वास्थ्य अब तिम्रो हातमा छ । नत्र सधैं यसरी नै बिरामी भइरहन्छु रे । म सञ्चो भएपछि पुनः बिहे गर्ने नि !’ एमए गरेकी पढालेखा श्रीमतीले पत्याइछन् । आफ्नो श्रीमान् त्यसरी बिरामी भएको देख्न पनि सकिन्न । ‘हुन्छ’ भन्दै खुसीसाथ डिभोर्स दिइन् । श्रीमती गाउँको स्कुलमा पढाउने शिक्षिका रहिछन् ।

काडमाडौंको यात्रा

डिभोर्सपछि श्रीमानले तिमी यति धेरै पढेलेखेकी छ्यौ, गाउँमा मात्र पढाएर हुन्न, काठमाडौं गएर राम्रो जागिर गर्नुपर्छ भनेछन् । यता श्रीमतीले पनि सोचिन्– बुढाले ठिकै भनेका हुन् । म कति भाग्यमानी रहेछु… यस्तो माया गर्ने श्रीमान् पाएको छु भन्दै मख्ख परिछन् र बुढासँग काठमाडौं आइछन् । बुढाले नै जागिर र कोठा खोजी श्रीमतीलाइ राखे ।

अर्की केटीसँग ‘कोर्ट म्यारेज’

श्रीमानले काठमाडौंमा अर्कै केटीसँग ‘कोर्ट म्यारेज’ गरे । गाउँबाट विवाह दर्ता गराउनुपर्ने थियो । केही दिनपश्चात फेरि सहजै झुठको साहारा लिएर भने– ‘ए बुढी गाउँमा बा–आमालाई नभेटेको थुप्रै भयो, म भेटेर आउँछु ल ?’ श्रीमतीले भइहाल्छ नि भनिन् । उनी अर्कै श्रीमती लिएर गाउँ गए । डिभोर्सको कागज देखाएपछि नयाँ विवाह दर्ता भयो । सबै काम सहजै गरेपछि दुवैले विदेश जाने प्रक्रिया सुरु गरे । अनि काठमाडौं फर्किए । अर्को झुठ सुरु भयो । भने– हेर बुढी, सबै राम्रै भइरहेको छ । हेर न, चिन्हा हेर्नेले कस्तो मिलाए, साँच्चीकै हो रहेछ, हामीले डिभोर्स गरे लगत्तै मलाई सञ्चो भयो ।

सहजै दुवै विदेशिए

एकदिन श्रीमानले भने– अब भविष्य पनि हेर्नुपऱ्यो, यत्ति पैसाले के हुन्छ र ? भोली गएर हाम्रो बच्चा हुन्छ । बच्चालाई राम्रो स्तरीय जीवन दिनु पऱ्यो, त्यसैले म बरु बाहिर जान्छु केही समयको लागि । श्रीमतीले हुन्छ भनिन् । सबै प्रक्रिया पूरा भइसकेको थियो, कान्छी श्रीमती लिएर उनी नर्वे उडे । नर्वे पुगेपछि नेपालमा रहेकी श्रीमतीलाई फोन गरेर भनेछन्, तिमी त्यहाँ राम्रै गरिरहेकी छ्यौ, जागिर छँदैछ, अब मलाई बिर्सिदेउ । म अब अर्को बिहे गरेर यतै बस्छु । हाम्रो डिभोर्स पनि भइ नै सकेको छ । मलाई खुसीसाथ बाँच्न देउ र तिमी पनि अब खुसीसाथ बस ।

त्यसपछि उनी वकिलकहाँ पुगेकी थिइन् । यस्तो अवस्थामा गर्न नै के सकिन्थ्यो र ? कथाशालाका सत्र कथाले मनलाई बिथोलेकै थियो । यो पीडादायक कथाले मेरो मन छिन्नभिन्न बनायो । सोचेँ– एउटा मानिसले जिन्दगीमा केसम्म गर्न सक्छ ?