नेपाली समाज ओमानद्वारा कार्यसमिति सदस्यको विदाई

नेपाली समाज ओमानद्वारा कार्यसमिति सदस्यको विदाई


■ आरके श्रीवास्तव, ओमान

ओमानमा सबैभन्दा पुरानो नेपाली संस्था ‘नेपाली समाज ओमान’ले एक विदाई कार्यक्रम आयोजना गरी भब्य रुपमा सम्पन्न गरेको छ । २३ अगस्ट २०१९ शुक्रबारका दिन राजधानी मस्कटस्थित एक गार्डेनमा आयोजित कार्यक्रममा नेपाली समाजका कार्यसमिति सदस्य राजकुमार कार्कीलाई बिदाई गरिएको हो ।

समाजका अध्यक्ष दिलबहादुर रोकाको अध्यक्षता एवम् एनआरएनएका सचिव डीबी क्षेत्रीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव विकास घलेले गरेका थिए भने अन्य अतिथिहरुमा नेपाली महिला समूह ओमानकी पूर्वअध्यक्ष उमा ढुंगाना, नेपाली समाजका संरक्षक तथा पूर्वअध्यक्ष लीलानाथ कोइराला, नेपाली समाजका वरिष्ठ सल्लाहकार तोलाकान्त भट्टराई, नेपाली महिला समूह ओमानकी अध्यक्ष मधु गुरुङलगायत उपस्थित थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष जीवन ढुंगानाले आमन्त्रित अतिथिलगायत उपस्थित सबैलाई स्वागत गर्दै दुःख पीडामा परेका नेपालीजनलाई पुर्याउनुभएको सहयोग तथा योगदानको खुलेर प्रशंसा गरे भने विदा लिएर स्वदेश फर्कन लागेका कार्कीको सफल यात्रा एवम् नेपालमा एक समाजसेवी र सफल व्यवसायी बन्नको निम्ति अग्रिम शुभकामना दिएका थिए ।

नेपाली समाजले सम्मानस्वरुप सदस्य कार्कीलाई खादा ओढाउनुका साथै मायाको चिनो र प्रमाणपत्र प्रदान गरेको थियो ।

विदाई लिने क्रममा आफ्ना विचार राख्दै सदस्य कार्कीले वैदेशिक रोजगारीका शिलशिलामा अन्य देशमा पनि रहेको र यस्तो नेपालीहरुको मिलजुलचाहिँ ओमानमा मात्रै मैले देखेको अनुभव सुनाए । नेपाली समाजले गरेकोे सम्मान र आफ्ना साथीहरुलाई आजीवन भुल्न नसक्ने कुरा उनले व्यक्त गर्दा उपस्थित सबै प्रेमले भावुक बन्न पुगेका थिए ।

नेपाली समाजका अध्यक्ष दिलबहादुर रोकाले उपस्थितजनलाई धन्यवाद दिँदै सदस्य राजकुमार कार्कीलाई नेपाल प्रतिनिधि बनाउने जानकारी दिए ।