सांसदहरूको श्राद्ध गरेर मैले के अपराध गरेँ ?

सांसदहरूको श्राद्ध गरेर मैले के अपराध गरेँ ?


यो देशमा पहिले ६ सय १ सभासद्ले राष्ट्रको ढुकुटी रित्याए । अहिले ८ सय ८४ जना सांसदले राष्ट्रको ढुकुटी रित्याउँदै छन् । राजनीतिक दलका नेताहरूले डलर र पाउन्ड खाएर हिन्दूराष्ट्र बेचे, पुरानो वाइडबडी विमानमा चार अर्ब पचपन्न करोड भ्रष्टाचार, नेपाल टेलिकमको फोर जीबी सेवा विस्तार ठेक्कामा भ्रष्टाचार र बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने काम पनि भएको छ । निर्मला पन्तको बलात्कार भएको छ । मुलुकमा दिनहुुँ अपराधीकरण र दण्डहीनता बढ्दै गइरहेको छ । प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलका नेताहरूले मुलुकको अखण्डता र स्वाधीनतामा आँच र दख्खल पुऱ्याउने काम गरेकोले मैले ८ सय ८४ जना सांसद पदको सामूहिक श्राद्ध गरेको हो ।

द्वन्द्वकालमा माओवादीले सत्तामा जान बिनाकारण सत्र हजार सर्वसाधारण नागरिकको ज्यान लिए । सत्र हजार सर्वसाधारण नागरिकमा कैयौँ प्रहरी, सशस्त्र प्रहरी र सेनाहरू पनि मारिएका छन् । यो प्रहरी, सशस्त्र प्रहरी र सेनाहरूले पनि बुझ्नुपर्ने कुरा हो, तर खोइ बुझेको ?

माओवादीहरू कतिपय चेलिबेटी र महिलाको बलात्कार गर्नसम्म पछि परेनन् । मुलुकको राष्ट्रिय सम्पत्ति ध्वस्त पारे । तिनले सत्र हजारको ज्यान लिन हुने, चेलिबेटी, महिलाको बलात्कार गर्न हुने र राष्ट्रको सम्पत्ति ध्वस्त गर्न हुने, अनि मैले कसैलाई पनि दुःख–कष्ट, पीडा वा सास्ती नदिई शान्तिपूर्ण ढङ्गले सांसद पदहरूको साङ्केतिक विरोधस्वरूप ८ सय ८४ जना सांसद पदको सामूहिक श्राद्ध गर्न किन नहुने ? मुलुकमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलका नेताहरूले कुनचाहिँ राम्रो काम गरेका छन् ?

नेपाली जनता भेडा हुन् भनी भन्थे, यो कथन साँच्चिकै हो कि जस्तो लाग्छ । हाम्रो मुलुकका नागरिक सबै बिकाउ रहेछन् । आखिरमा मेरो स्वार्थ कुनै पनि छैन, ०५२ सालदेखि आजसम्म मुलुकले निकास पाउन सकेको छैन, कहिले धर्म–संस्कार, संस्कृतिजस्ता गुठीमा हमला गर्ने, करको भार थप गर्ने काम गर्ने र पिठो, तेल, चिनी र सोयाबिनजस्ता खाद्यान्नहरूमा भ्याट लगाउने आदि जस्ता नचाहिँदो कार्य पटक–पटक गरिरहेकाले साङ्केतिक विरोधस्वरूप सांसद पदहरूको सामूहिक श्राद्ध गरेर प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलका नेताहरू सबैलाई मैले सचेत गराउन खोजेको हुँ । तर, मेरो यो कार्यलाई नेपाली नागरिकले सही ढङ्गले बुझेनन् ।

प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा पार्ने काम भएको छ । नेपालको इतिहासमा नै ०५२ देखि ०६२–६३ हुँदै आजसम्म मुलुक सङ्क्रमणकाल अवस्थाबाट गुज्रिरहेकोे छ र आजसम्म पनि मुलुकले निकास पाउन सकेको छैन तथा व्यापक कर वृद्धि गरेको पिठो, चिनी, तेलजस्ता खाद्यान्नमा समेत भ्याट लगाएकोले मैले शान्तिपुर्ण ढङ्गले सांसद पदहरूको सामूहिक श्राद्ध गरेर साङ्केतिक विरोध गर्दा राज्यद्वारा मलाई ०७६ साउन १५ गते पक्राउ गरी साउन २४ गते १० दिनको दिन पाँच हजार धरौटी लिएर भदौ २३ गतेलाई तारिख दिएर छोडियो । मेरो मानवअधिकार हनन भएको छ । अब हाम्रो मुलुकमा आँटिलो, साहसिक र हिम्मत भएकाको आवश्यकता छ भन्ने ठहरमा म पुगेको छु ।

■ राकेशकुमार शर्मा, स्वतन्त्र नेपाली नागरिक
मकवानपुर, उपमहानगरपालिका वडा नं.-२