प्रचण्डको स्वीकारोक्ति : ‘हामी पनि राजा-महाराजाजस्तै देखिन थाल्यौँ ‘

प्रचण्डको स्वीकारोक्ति : ‘हामी पनि राजा-महाराजाजस्तै देखिन थाल्यौँ ‘


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेताहरूमा देखा परेको विलासी जीवनशैलीका कारण जनतामा निराशा छाएको बताएका छन् । चुनावमा गरेका वाचाविपरीतको नेताहरूमा आएको विलासी जीवनशैलीका कारण जनतामा निराशा छाएको प्रचण्डको भनाइ छ ।

सत्तामा पुगेपछि संघर्ष बिर्सिने प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन नै धरापमा परेको प्रचण्डको भनाइ छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिस्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिवर्तन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने सुझाए ।

‘जनताको लागि संघर्ष गरेका कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि राजामहाराजा बनेपछि जनताले लखेटेको उदाहरण विश्वमा देख्न पाइन्छ, हाम्रो यहाँ पनि त्यस्तै लक्षण देखिँदै गएको छ,’ प्रचण्डले भने ।

हिजो हामी अनुशासित थियौँ, त्यसैका बलमा यहाँसम्म आइपुगेका हौँ । तर, आज हामीमा दम्भ पलायो, जलाई जे मन लाग्यो त्यही बोल्ने, संगठनको हितलाई बेवास्ता गर्ने अवस्था सिर्जना भएको छ, यसले हामी जनताको नजरमा हिजोको अवस्थामा छैनौँ– उनको भनाइ थियो ।