हेल्प नेपालले २०औं वार्षिकोत्सव मनाउने

हेल्प नेपालले २०औं वार्षिकोत्सव मनाउने


समाजसेवामा सक्रिय सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले स्थापनाको २०औं वर्ष मनाउने भएको छ । नेटवर्कले आउँदो अक्टोबर महिनामा काठमाडौंमा यस संस्थाको २०औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।

यसै क्रममा हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया शाखाले संस्थाको २०औँ वार्षिकोत्सव सिड्नीमा मनाएको छ । गएको शनिबार सिड्नीमा आयोजित कार्यक्रममा साउथवेल्सका बहुसाँस्कृतिक राज्यमन्त्री जोन सिदोतीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा हेल्प नेपालले धुलिखेलमा सञ्चालन गर्दै आएको बालिकाहरूको आश्रयस्थल बालगृहमा इ–लाइबेरीको व्यवस्थापनका लागि हेल्प नेपालको अस्ट्रेलिया शाखाले ५ हजार डलर प्रदान गरेको थियो ।

कार्यक्रममा दोलखामा निर्माणाधीन राजकुलेश्वर स्कूलका लागि १० देखि १५ हजार डलरसम्म प्रदान गरिने हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया शाखाका संयोजक हर्ष गौतमले जानकारी गराएका थिए ।

सिडनीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि जोन सिदोती, कार्यक्रमका लागि सिडनी पुगेका नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेत, हेल्प नेपालका अस्ट्रेलिया संयोजक हर्ष गौतम, डा. राजु अधिकारी, इन्द्रा वनलगायतले बोलेका थिए ।

कार्यक्रममा हेल्प नेपालले गरेका कामहरूलाई समेटेर तयार पारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । यो हप्ता मेलवर्न र क्यानवेरामा पनि हेल्प नेपालको वार्षिकोत्सव सम्वन्धी कार्यक्रम हुने जनाइएको छ ।

२० वर्ष अघि सन् १९९९मा स्थापित हेल्प नेपालले शिक्षा, स्वास्थ्य तथा दैवी विपद्का बखत सहयोग गर्दै आएको छ ।

विदेशमा बस्दै आएका नेपालीहरूले नेपालका लागि थोरै मात्र भए पनि सहयोग गर्नसके नेपालमा धेरै सहयोग पुग्ने हेतुले नै यो संस्थाको स्थापना गरिएको हो ।

प्रारम्भमा हेल्प नेपालले विदेशबाट सहयोग स्वरूप आएको ६२ हजार र काठमाडौंका परोपकारी मन भएकाहरूबाट उठेको ५ हजार रुपैयाँबाट डोल्पाको एक विद्यालयलाई सहयोग गर्दै यो संस्थाको काम शुरु गरेको हो ।

परोपकारका क्षेत्रमा बितेको दुई दशकदेखि सक्रिय हेल्प नेपाल नेटवर्कले दर्जनौ विद्यालयहरूको भवन निर्माण तथा मर्मतमा सहयोग गरिरहेको छ भने मुगु, सर्लाही र अछाममा स्वास्थ्य चौकी सञ्चालनमा सहयोग पनि गर्दै आएको छ ।

भूकम्प, बाढी, पहिरोजस्ता प्राकृत्तिक विपद्का बेला तत्कालै सहयोगमा जुट्दै आएको हेल्प नेपालले मुलुकका दर्जनौँ विद्यालयहरूमा इ–लाइब्रेरीको परिकल्पनालाई मूर्तरुप दिँदै पुस्तकालय स्थापना गर्दै आएको छ ।