उद्योगीसँग चार महिनालाई पुग्ने चिनी मौज्दात, सरकार आयात गर्ने तयारीमा

उद्योगीसँग चार महिनालाई पुग्ने चिनी मौज्दात, सरकार आयात गर्ने तयारीमा


  • छविलाल बगाले

स्वदेशी उद्योगीसँग ८२ हजार मेट्रिकटन चिनी मौज्दात भएपनि सरकार चाडबाडका लागि भन्दै आवश्यक चिनी आयात गर्ने तयारीमा छ । स्वदेशी उद्योगीसँग विश्वास गुमाएको सरकारले चिनी आयात गर्ने तयारी गरेपनि भन्सार दर, ढुवानी खर्च, भ्याट र विदेशी भुक्तानीमा लाग्ने करका कारण आयातकर्ताले चिनी आयातमा इच्छा देखाएका छैनन् ।

सरकारले चाडबाडलाई लक्षित गर्दै चिनी आयातको तयारी थालेको छ । तर कति परिमाणमा चिनी ल्याउन दिने भन्ने विषयमा अहिले टुंगो भने लागिनसकेको साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रवक्ता कुमार राजभण्डारी बताउँछन् । उनका अनुसार नेपालमा सरदर ७५ हजार मेट्रिकटन चिनी अपुग छ । मुलुकभित्र बार्षिक करिब २ लाख ५० हजार मेट्रिकटन चिनीको माग छ । तर स्वदेशी उद्योगहरुले बार्षिक १ लाख ७५ हजार मेट्रिकटन चिनी उत्पादन गर्दै आएका छन् । दशैं तिहारजस्ता ठूला पर्वमा चिनीको खपत बढी हुने भएकोले सरकारले अपुग चिनी आयात गर्ने भएको हो ।

देशको माग धान्ने चिनी स्वदेशी उद्योगसँगै रहेको चिनी उद्योग संघ उपाध्यक्ष एवं रिलाइन्स सुगर मिलका संचालक राजकुमार अग्रवालको भनाई छ । उनका अनुसार अहिले उद्योगीसँग मात्रै ८२ हजार मेट्रिकटन चिनी मौज्दात छ । जुन रु ६ अर्ब बराबरको चिनी हो । ‘मंसिरसम्मलाई पुग्ने चिनी उद्योगमा मौज्दात छ ।’ उनले भने, ‘सरकारले जगेडा राख्नबाहेक अन्य प्रयोजनका लागि आयात गर्नु पर्दैन् ।’

चिनी कति आवश्यक ?
–उद्योगीसँग करिब ८२ हजार मेट्रिकटन मौज्दात
–खुद्रा बजारमा करिब २५ हजार मेट्रिकटन मौज्दात
–४ महिनामा करिब १ लाख मेट्रिकटन चिनी आवश्यक
–बजारलाई थप सुरक्षित गर्न १ लाख २५ हजार मेट्रिकटन चिनी आवश्यक
–उद्योगी र खुद्रा गरी करिब १ लाख ५ हजार मेट्रिकटन चिनी मौज्दात
–बजार सुरक्षितका लागि २० हजार मेट्रिकटन चिनी आवश्यक

उद्योगमा चिनी मौज्दात रहेकोले किसानलाई भुक्तानी गर्न नसकेको उद्योगीको गुनासो छ । सरकारले पनि चिनीमा परिमाणात्मक बन्देज लगाएर स्वदेशी उद्योगीलाई सहयोग गरेको थियो । जुन अहिलेसम्म पनि कायमै छ । भन्सार दर, ढुवानी खर्च, भ्याट र विदेशी भुक्तानीमा लाग्ने ५ प्रतिशत करका कारण आयातमा चुनौती थपिएको साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रवक्ता राजभण्डारीको तर्क छ । उनका अनुसार आयातमा समस्या देखिएकोले आयातकर्ताको चिनी आयातमा खासै इच्छा देखिएको छैन् ।

अहिले बजारमा प्रतिकेजी खुद्रामूल्य ८० रुपैयाँदेखि ८५ रुपैयाँ विक्रिवितरण भइरहेको छ । भारतको सिमावर्ती क्षेत्रमा प्रतिकेजी ३५ देखि ४० रुपैयाँसम्म चिनी पाइने भएपछि चाडबाडको समयमा चिनीको तस्करी पनि हुने गरेको छ । हरेक बर्ष चाडबाडको समयमा प्रत्येक वर्ष व्यापारीले चिनीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्दै आएका छन् ।