शेरबहादुर पनि सडकसङ्घर्षमा

शेरबहादुर पनि सडकसङ्घर्षमा


काङ्ग्रेसका सभापतिका हैसियतले गिरिजाप्रसाद कोइरालाले भक्तपुर, काठमाडौं र स्याङ्जा काङ्ग्रेसका कार्यसमितिहरू भङ्ग गरिदिनुभएपछि काङ्ग्रेसभित्रका कोइरालासँग असहमत पक्ष र व्यक्तिहरू कूद्ध भएका छन् । गत वर्ष १२ जिल्लाका जिल्ला कार्यसमितिहरू भङ्ग गरिएपछि काङ्ग्रेसमा केही हलचल पैदा भएको थियो भने पछि काठमाडौं, भक्तपुर र स्याङ्जाको समेत भङ्ग गरिने भन्ने कुरा सार्वजनिक हुनेबित्तिकै, काङ्ग्रेसका केन्द्रीय कार्यालयमा झन्डै अप्रिय घटना हुन पुगेको थियो । पछि, नेता रामचन्द्र पौडेलको संयोजकत्वमा एउटा आयोग बनाई उक्त आयोगको प्रतिवेदनकै आधारमा निर्णय लिइने भन्ने भएपछि काङ्ग्रेसभित्र उत्पन्न भएको भड्काव तत्काललाई शिथिल हुन पुगेको थियो ।

तर, अहिले पौडेलले पार्टी सभापतिसमक्ष बुझाउनुभएको प्रतिवेदन नै विवादास्पद बन्न पुगेको छ । उहाँले उक्त प्रतिवेदनमा जिल्ला समितिहरू विघटन नगर्न सुझाव दिनुभएको थियो, तैपनि ती समितिहरू भङ्ग गरिएका छन् भने अर्कोतर्फ कोइराला समर्थकहरूले पौडेलको प्रतिवेदन विधानसम्मत नभएको भनी गम्भीर टिप्पणी गरेका छन् । प्रतिवेदन जे–जस्तो भए पनि सभापतिले समितिहरू भङ्ग गरिसक्नुभएको छ । उहाँ अब यो निर्णयबाट पछि हट्नुहुने सम्भावना पनि देखिन्न । यसैबीच अस्ति सोमबार विघटित काङ्ग्रेस जिल्ला कार्यसमितिका तीनजना सभापतिहरू प्रकाशमान सिंह (काठमाडौं), श्रीप्रसाद जिदी (स्याङ्जा) र राधेश्याम जोन्छे (भक्तपुर) को विशेष सक्रियतामा राजधानीमा एक जुलुस प्रदर्शन गर्नुका साथै पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई ज्ञापनपत्र दिने काम सम्पन्न गरिएको छ । वसन्तपुरबाट शुरु गरिएको उक्त जुलुसमा अनपेक्षित सङ्ख्यामा मानिसहरूको भिड लागेको थियो भने शेरबहादुर देउवालगायत पूर्णबहादुर खड्का, चिरञ्जीवी वाग्ले, बलबहादुर केसी, शरत्सिंह भण्डारी आदि नेताहरूसमेतले जुलुसको प्रारम्भमा सहभागी भएर सबैलाई चकित पारेका थिए ।

जुलुस पार्टीको केन्द्रीय कार्यालय टेकुमा पुगेर सभापति कोइरालासँग विघटित जिल्ला कार्यसमितिहरूलाई ब्युँताउने माग गर्दै एक ज्ञापनपत्र पनि दिने काम गरिएको थियो । ज्ञापनपत्र दिने अवसरमा सभापति कोइरालाका साथमा राजधानीमा उपलब्ध सबैजसो काङ्ग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवम् पदाधिकारीहरूको उपस्थिति थियो । उक्त अवसरमा विघटित तीनवटै जिल्ला कार्यसमितिका सभापतिहरूले आफ्ना धारणाहरू प्रस्तुत गर्नुभएपछि काठमाडौं काङ्ग्रेसकी कृष्णा अमात्यले ‘हामीले बोल्नुपर्ने बोल्यौँ अब गिरिजाबाबुले आफ्नो प्रतिक्रिया दिनुपऱ्यो’ भन्दा कोइरालाले ‘मैले तपाईंहरूको कुरा सुनेँ अब जानुहोस्’ भनेर पठाउनुभएको थियो । त्यस अवसरमा नेता कृष्णप्रसाद भट्टराई पनि पार्टी कार्यालयमा जलुसका साथ आउनुहुनेछ भनी निकै प्रचार भएको थियो, तर भट्टराई त्यहाँ देखिनभएन ।

भट्टराई अनुपस्थित रहनुभए पनि त्यहाँ भट्टराईको उपस्थितिको आभास भने धेरैले महसुस गरेको बताइएको छ । प्रकाशमानले जुलुसको आयोजना गरेको र त्यहाँ थुप्रै मानिसले भाग लिएको भन्ने कुराले भन्दा त्यस कार्यक्रममा देउवाको प्रत्यक्ष सहभागिताले बढी चर्चा पाएको छ । गत वर्ष ललितपुर र डडेल्धुरालगायत १२ जिल्लाको जिल्ला कार्यसमितिहरू भङ्ग गरिएपछि ललितपुर काङ्ग्रेसका तात्कालिक सभापति ओमकारप्रसाद श्रेष्ठले केही प्रतिक्रिया जनाउनैपऱ्यो भनी शेरबहादुर देउवासँग आग्रह गर्नुहुँदा उहाँले त्यसबेला कुनै पनि किसिमले प्रतिक्रिया जनाउन अस्वीकार गर्नुभएको थियो । तर, अहिले देउवा आफैँ जुलुसमा भाग लिन जानुभयो र उहाँको यो सहभागिताले अहिले राजधानीमा सबैभन्दा ठूलो चर्चा पाएको छ ।

(घटना र विचार साप्ताहिक, २०५७ वैशाख १४ गते बुधबार)