पाँचथरमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट

पाँचथरमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट


पाँचथर जिल्ला अदालतले गत आर्थिक वर्ष २०७५/७६ मा लक्ष्यभन्दा बढी अर्थात् ७२ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । अदालतमा सूचना अधिकारी यामबहादुर चौहानका अनुसार गत आर्थिक वर्षमा जिल्ला अदालतमा विभिन्न प्रकृतिका ४९६ वटा मुद्दा दर्ता भएका थिए ।

उक्त आव २०७४/७५ का २१६ वटा मुद्दा सरेर आएका थिए । यसरी उक्त आवमा जम्मा भएका ७११ मुद्दामध्ये ५१० मुद्दा फस्र्योट भएको चौहानले जानकारी दिए । पाँचथर जिल्ला अदालतले ७० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट भएको चौहानको भनाइ छ ।

फस्र्योट भएका मुद्दामा दुई वर्षभन्दा अघि दर्ता भएका नौ, १८ महीनादेखि दुई वर्षको बीचमा दर्ता भएका २६, एक वर्षदेखि १८ महीनाको बीचमा दर्ता भएका ५५ वटा, छ महीनादेखि एक वर्षको बीचमा दर्ता भएका १२८ वटा र छ महीनाभित्रका २९२ मुद्दा रहेको चौहानले जानकारी दिए । फस्र्योट हुन बाँकी रहेका मुद्दा १८ महीनाभन्दा अघि दर्ता भएका छैनन् । एक वर्षभन्दा अघि दर्ता भएका १८ वटा मुद्दा मात्रै फस्र्योट हुन बाँकी रहेको अदालतको तथ्याङ्कले देखाएको छ । यस्तै छ महीनाभित्र दर्ता भएका ११९ वटा र छ महीनादेखि एक वर्ष्भित्र १०६ वटा मुद्दा फस्र्योट हुन बाँकी रहेको सूचना अधिकारी चौहानले जानकारी दिए ।

जिल्ला अदालतले डेढ वर्षभन्दा अघि दर्ता भएका सबै मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको जनाएको छ । पाँचथरमा सम्बन्धविच्छेद, अंशवण्डा, जग्गा जमीनलगायतका धेरै मुद्दा दर्ता हुने गरेका छन् ।