हुवासिन सिमेन्ट जग्गा प्रकरण : नयाँ जग्गा सम्झौता प्रक्रियाको तयारी





१४ अर्ब ४० करोड चिनियाँ लगानीका साथ नेपालमा सिमेन्ट उद्योग संचालन गर्न लागेको हुवासिन सिमेन्ट उद्योगले नयाँ जग्गा सम्झौता गर्ने तयारी गरेको छ ।

यसअघि उद्योगले गाउँपालिकासँग भाडामा लिएको जग्गा सम्झौता खारेज भएपछि उद्योगले पुनः नयाँ प्रक्रिया अघि बढाएको हो । यसका लागि उद्योगले धादिङस्थित बेनिघाट रोराङ गाउँपालिकामा निवेदन दिएको छ ।

उद्योगले बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तिस्ति १८१ रोपनी ३ आना ४ पैसा ६ दाम जग्गा पहिलो चरणमा ३० वर्षका लागि भाडामा लिनका लागि निवेदन दिएको बुझिएको छ । उद्योगको निवेदनका आधारमा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई जमिनको भाडादर समेत तोकेर सिफारिस गरेको छ । गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीका अनुसार प्रतिरोपनी ४ लाख ८ हजार २८ रुपैयाँ ५ पैसा वार्षिक भाडा पाउने गरी जग्गा भाडामा दिन केन्द्र सरकारले निर्णय गर्ने गरी जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ । बार्षिक ५ प्रतिशत भाडा बढाउन सकिने गरी सिफारिस गरिएको उनले बताए । यो सिफारिस मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुग्ने छ ।

प्रतिक्रिया