ओमानमा ‘एयरलाइन्स विज्ञ’को रूपमा चम्किँदै नेपाली पाइलट विकल

भन्छन्- ‘देशको माया लाग्छ तर जीवन चलाउन विदेश रोज्नुपऱ्यो’





■ आरके श्रीवास्तव, ओमान

मधेसी मूलका नेपाली पाइलट विकल झा ओमानमा ‘एयरलाइन्स विज्ञ’ भएर नाम कमाउँदै छन् । प्रदेश २ को महोत्तरी जिल्ला गोनरपुरा घर भएका झा विगत ४ वर्षदेखि ओमानमा रहेको मोडर्न कलेज अफ विजनेश एण्ड साइन्स विश्वविद्यालयमा प्रोफेसरको रूपमा कार्यरत छन् ।

यो विश्वविद्यालयमा विकल विमानचालहरूलाई ‘रिक्स म्यानेजमेन्ट’ र अपडेटिङ कोर्ष पढाउँछन् । ओमानमा अध्यापन गराउने क्रममै उनी रसिया, यूएई, सिंगापुरसहित विश्वभरका दर्जनौँ देशमा हवाइसम्बन्धी सेमिनारमा प्रशिक्षकको रूपमा सहभागी भइसकेका छन् । हरेक ठाउँमा हुने सेमिनारमा उनी नेपालको हवाई क्षेत्रको समस्याहरू उठाउन भिुल्दैनन् । साथै नेपालको हवाई क्षेत्रलाई कसरी सुधार गर्ने भन्ने विषयमा रिसर्च पनि उनले गरेका छन् भने यतिबेला याही विषयमा पिएचडी गर्ने तयारीमा छन् विकल ।

बुबा सतेन्द्र झा र आमा प्रेमकला देवीको कोखमा जन्मिएका विकल झाले सन् २०१३ मा बेलायतबाट विमान व्यवस्थापनमा मास्टर्स डिग्री अध्ययन पूरा गरेका थिए । त्यसबेला उनसँग दुई विकल्प थिए– नेपाल फर्किने कि बेलायतमै बसेर काम गर्ने । पढाइमा कुशल भएका उनलाई त्यहीँ जागिरको प्रस्ताव आएको थियो । उनी उत्साहित पनि थिए । तर दोस्रो विकल्प नरोजी उनी आफ्नो देश फर्केर केही गर्छु भन्ने आँट र दृढ़ विश्वाससहित अध्ययन पूरा गरेर नेपाल फर्किए ।

नेपालमा सर्वप्रथम उनले निजी विमान कम्पनी सिम्रिक एयरलाइन्समा ‘सेफ्टी’ व्यवस्थापकको रूपमा काम गरे । काम राम्रो भए पनि दाम भने कमै थियो । नेपालको महँगीलाई उनको तलबले थेग्न सकेन । यसैबीच आफ्नो आर्थिक अभावलाई केही सुधार गर्ने सोचका साथ अर्को निजी कम्पनी सौर्य एयरलाइन्समा सरूवा भए । सौर्यमा उनले व्यवस्थापकको रूपमा काम गरे । तर त्यहाँ पनि उनलाई आर्थिक स्थितिले सतायो । त्यसपछि उनी आफ्नो आर्थिक अवस्था बदल्नकै निम्ति विदेशिन बाध्य भए ।

ओमानको राजधानी मस्कट बस्दै आएका विकल घटना र विचारसँगको कुराकानीका क्रममा भन्छन्– ‘मलाई खान–लाउन नपुगेको होइन, तर मेरो अध्ययन तथा मेरो क्षमतासँग तलबको तालमेल कहिल्यै मिलेन । नेपालमा हुँदा मैले मासिक पाउने गरेकोभन्दा ओमानमा आएर दश गुणा बढि तलब बुझ्ने गरेको छु र म यसमा सन्तुष्ट छु ।’

आर्थिक अवस्था सुदृढ बनाउन ओमान आए पनि उनको मनचाहिँ नेपालमै रहेछ । भन्छन्– ‘मलाई अझै नेपालमा केही गर्ने इच्छा छ । के गर्नु ! भनेजस्तो नहुने रहेछ ? दुःख गरेर पढियो, घरखर्च नै नचल्ने भएपछि विदेशिने बाहेक अर्को विकल्प रहेन ।’

ओमानमा उनको मान–सम्मान छ तर नेपाल फर्किंदा विमानस्थलमा हुने व्यवहारले नै मन खिन्न हुने खुलासा गर्दै उनी भन्छन्– ‘त्यहाँ उत्रिनेबित्तिकै आफू हेपिएको महसुस गर्छु । खाडीबाट जाने व्यक्तिहरूलाई विमान–कर्मचारीले तल्लो स्तरको व्यवहार गर्छन् ।’ विगत सम्झँदै झाले भने– ‘देशको धेरै माया लाग्छ तर के गर्नु ? नेपालको हवाईक्षेत्रको अवस्था हेर्दा रून मन लाग्छ ।’

समृद्ध नेपाल सुखी नेपालीको नारा दिएर भाषण गर्दै हिँडिरहेका शीर्ष नेताहरूको ध्यान विकलहरूको अन्तःष्करणको आवाजतिर कहिले जाला ? यसरी दक्ष जनशक्ति दिनानुदिन विदेशिने हो भने कहिले बन्ला समृद्ध नेपाल ? जति दक्ष भएपनि उचित अवसर र भनेजस्तो तलब सुविधा नपाउनु हाम्रो देशको कस्तो विडम्बना ? यदि देशलाई समृद्ध बनाउनु छ भने विकलजस्ता दक्ष युवाहरूलाई आफ्नै देश फर्काएर रोजगारीको अवसर र भनेजस्तो तलब सुविधा दिलाउनु पर्दछ । अनि देश विकासको बाटोमा लाग्छ र पूरा हुन्छ समृद्ध नेपाल सुखी नेपालीको नारा ।

प्रतिक्रिया