यसरी ‘घटुवा’मा पर्दैछन् माधव नेपाल

यसरी ‘घटुवा’मा पर्दैछन् माधव नेपाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज (शुक्रबार, ३१ साउन) बालुवाटारमा सम्पन्न सचिवालय बैठकले निकै समयदेखि अनिर्णीत विषयहरूलाई टुङ्गो लगाएको छ । शीर्ष नेतृत्वबीच रस्साकस्सीको विषय बनेको पार्टी स्कुल विभागलगायतका विभागीय प्रमुखहरूको जिम्मेवारी तोक्नुको अलावा बैठकले शीर्ष नेताहरूको वरियता क्रम ‘सच्याउने’ उपक्रम शुरु भएको सङ्केतसमेत दिएको छ ।

सचिवालय बैठकले पार्टीका ३२ वटा विभागमध्ये बहुचर्चित ‘स्कूल विभाग’ प्रमुखको जिम्मेवारी पूर्वएमालेका महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुखको जिम्मेवारी पूर्वएमालेकै उपाध्यक्ष बामदेव गौतमलाई दिने निर्णय गरेको छ । यसरी विभागीय जिम्मेवारी तोकिँदै गर्दा बैठकमा एकाएक झलनाथ खनालले पार्टी एकीकरणअघिको आफ्नो पार्टी-हैसियत (वरिष्ठ नेता) वर्तमानमा पनि कायम हुनुपर्ने प्रस्ताव अघिसारेका थिए । यो प्रस्तावलाई दुवै अध्यक्षले सकारात्मक रूपमा लिएका र पार्टीमा अहम् हैसियतमा रहेका नेता बामदेव गौतमसमेत खनाललाई पूर्वहैसियत दिलाउने पक्षमा सकारात्मक रहेका बुझिएको छ ।

आगामी बैठकमा यो विषय टुङ्ग्याइने सहमति बनेको बताइन्छ । यसरी सचिवालय बैठकले माधव नेपाललाई ‘ह्युमिलियट’ गर्दै पार्टी वरियतामा दोस्रोबाट तेस्रो या त्योभन्दा पनि तल पुऱ्याइने सङ्केत दिएको छ ।

पार्टीमा उपाध्यक्षको पद सिर्जना गर्ने र उक्त ओहदा बामदेव गौतमलाई प्रदान गरिने करिव–करिव निश्चित भएको परिवेशमा गौतम उपाध्यक्ष भएपछि स्वतः माधव घटुवामा पर्नेछन् । अब भोलि (शनिबार, ३२ भदौ) चार बजे बस्ने बैठकले माधव नेपाललाई दिइएको वरिष्ठ नेताको हैसियत हटाइने भएको नेकपा स्रोतको दाबी छ । माधवलाई तेस्रो शक्ति या निर्णायक शक्तिको हैसियतबाट समाप्त गर्ने योजनामा केपी, प्रचण्ड र बामदेव एकमत भएका सुत्र बताउँछ । यसरी माधवको घटुवा हुँदा झलनाथ खनाल आफूमाथि ‘न्याय’ भएको महसुस गर्दै प्रशन्न भएका छन् ।

पार्टीलाई सहमतिबाट अघि बढाउन गरेको प्रयासमा केपी ओली सफल हुँदै गएको रूपमा पनि यस सन्दर्भलाई अर्थ्याइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुन विभागमा को ?