चाइनिज जनै

(व्यंग्य कविता)


■ अर्जुनराज पन्त

शिरमा लाउने टोपीदेखि पाउका जुत्ता सब
जनैसमेत चाइनाबाट आउन लग्यो अब !

हरमा लाउने एउटै चिज त्यो नेपाली पन भा’को
हरे कठै त्यही पनि चाइनाबाटै आ’को !

छैन झन्झट कताउन र तेउराउनलाई पनि
उतैबाट आयो जनै बनिबनाउ बनी

खुस्स छिर्यो पसलमा पैसा तिर्यो पायो
सस्तो छिटो चाइनिज जनै अनि हरमा लायो !

फालिएका थोत्रा पेली त्यसको धागो बनाइ
त्यही धागोलाई गाँठो पारी बनाइएको जनै

न त धोएको–मन्तरेको न गरेको केही
पसलबाट किनी लाउँदा आज जनै त्यही

सजिलो र सस्तो खोज्दा अर्को दण्ड पाउला
फोहोरी ती जनै लाउँदा चाइनिज लुतो आउला !

के चाहिँ बिक्छ नेपालमा अध्यन गरि–गरि
पठाएकै छ चाइनिज सामान उसले बजारभरि

सराद लाउला तिथि आउला पण्डित कहाँ पाउला
गराइदिन्छु सराद भन्दै चाइनिज पण्डित आउला

अरुेभन्दा सस्तो छिटो गराइदिन्छु भनि
आउन मात्रै बाँकी रह्यो चाइनिज पण्डित बनी

संस्कृतका ती मन्तरलाई चाइनिजमा ढाली
अरु सबै भरि त्यहाँ छाडी नाम खाली

मन्तर भरेका मोबाइल बोकी पण्डित जस्तै गरी
आउँछन् होला चाइनिज पण्डित अब बजारभरि

जनै उसको चल्ने भए’सी चलाउ पण्डित पनि
छिटै गर्ला सराद पनि च्याङच्याङ चुङचुङ भनि !

प्रतिक्रिया