प्रशोधन हुन नसक्दा खेर जाँदै शिलाजित

प्रशोधन हुन नसक्दा खेर जाँदै शिलाजित


बैतडीका भिरहरूमा पाइने बहुमूल्य जडीबुटी शिलाजित खेर गइरहेको छ । शिलाजितको उत्खनन र प्रशोधन हुन नसक्दा करोडौँ मूल्यका शिलाजित खेर गइरहेको हो । ठूलाठूला चट्टानहरूमा गर्मी महिनामा चुहिने शिलाजितको उचित संकलन र प्रशोधन अहिलेसम्म हुन सकेको छैन ।

जिल्लाका धेरैजसो ठाउँमा शिलाजित भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए । गाउँघरमा परम्परागत रूपमा ठूलाठूला चट्टानका भिरबाट स्थानीयले निकालेर शिलाजित बनाउने गरेको, तर व्यावसायिक रूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको उनले बताए । ‘शिलाजित हरेक बिरामीका लागि उपयोगी छ,’ उनले भने, ‘शिलाजितलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिन्छ, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीका लागि यसको बढी मात्रामा प्रयोग गर्ने गरिएको छ ।’

बजारमा शिलाजित ‘क्याप्सुल’को रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भिरका चट्टान तथा ढुंगा पग्लेर शिलाजित निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचोरले जनाएको छ । बैतडीको दशरथचन्द नगरपालिका–१० झुलाघाटनजिकैको मौरा भिर, पञ्चेश्वरको बलाराभिर, सुर्नयाको रौलेश्वर भिरलगायत ठूलाठूला भिरमा शिलाजितको खानी रहेको वरिष्ठ वैद्य कलौनीले बताए । शिलाजित दुई किसिमको हुने कलौनीको भनाइ छ । भिरबाट संकलन गरेर ल्याइएका शिलाजितयुक्त ढुंगाहरूबाट दुई किसिमको शिलाजित निकाल्न सकिने उनको भनाइ छ ।

शिलाजितलाई जडीबुटीहरूको राजा मानिन्छ । बलपुष्टिकारक, ओजबर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजितमा पाइन्छ । सूर्यको किरणमा शिलाजितयुक्त ढुंगा राखेर त्यसबाट शिलाजित संकलन गरिएमा त्यसलाई सूर्यतापी शिलाजित भन्ने गरिन्छ । शिलाजितयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसँग पकाएर संकलन गरेमा त्यसलाई अग्नितापी शिलाजित भन्ने गरिन्छ । भिरबाटै संकलन गर्न सके निकै शुद्ध शिलाजित निस्कन्छ ।

बैतडी जिल्लामा शिलाजितसँगै ६२ भन्दा बढी अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्यांक छ । शिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताए । बिरामीका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजितको निकै महत्व रहेको बताइन्छ । यौनदौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछन् । विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरिक दुर्बलतालगायतका रोगहरू यसले निर्मुल बनाइदिन्छ ।

आयुर्वेदअनुसार शिलाजितको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजित हो । हेर्दाखेरि यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ ।

उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजितको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुने आयुर्वेदका ज्ञाताहरू बताउँछन् ।

विनोदसिंह विष्ट (रासस)