१३औँ सागको लागि ‘दशरथ रंगशाला’ नै चुनौती !

१३औँ सागको लागि ‘दशरथ रंगशाला’ नै चुनौती !


■ श्रीविक्रम भण्डारी

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुन गइरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सफलतामाथि दशरथ रङ्गशाला नै प्रमुख चुनौती बन्ने देखिएको छ । ‘अन्तर्राष्ट्रिय रङ्गशाला’ भनेर चिनाइँदै आएको दशरथ रङ्गशाला विनाशकारी भूकम्पको घटनापछि हालसम्म पुनर्निर्माणको क्रममा छ । १३औँ सागको महत्वपूर्ण फङ्सन ‘उद्घाटन’ र ‘समापन’ समारोह आयोजना हुने यस रङ्गशालाले अहिलेसम्म पूर्णता नपाएपछि ‘साग’ आयोजनामाथि नै गम्भीर चुनौती थपिएको हो ।

१३औँ सागको मुख्य आयोजनस्थल दशरथ रङ्गशालाको अन्य कार्य सम्पन्न भए पनि पश्चिमतर्फको भीआईपी प्यारापिटको निर्माण पचास प्रतिशत मात्र सम्पन्न भएको छ । भीआईपी प्यारापिटको निर्माण सम्पन्न गर्न भारतबाट फलामको पोल र चीनबाट छाना ल्याउनुपर्ने भए पनि कहिलेसम्म ती सामग्री नेपाल आइपुग्छन्, त्यसको टुङ्गो छैन । प्रतियोगिता आयोजना हुन अब केवल तीन महिना समय बाँकी छ, यस्तो अवस्थामा निर्माण सामग्रीको अभाव खड्किँदा तोकिएकै समयमै दशरथ रङ्गशालाले पूर्णता पाउनेमा शङ्का उत्पन्न भएको छ । त्यस्तै, दशरथ रङ्गशालामा बिछ्याउने सिट अर्डर भए पनि कहिले नेपाल आइपुग्छ र सिट फिट गर्ने कार्यले कति समय लिन्छ भन्ने कुराको पनि अहिलेसम्म टुङ्गो लागेको छैन । अफिसियल गेममा सिट नहालेको रङ्गशालामा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न नपाइने प्रावधान छ । यो अन्तर्राष्ट्रिय नियम हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले कात्तिक १५ गतेभित्र सम्पूर्ण पूर्वाधार तयार हुने दाबी गरेका छन् । उनको दाबीका बाबजुद दशरथ रंगशाला, पोखरा रङ्गशाला र ललितपुरको सातदोबाटोमा निर्माणाधीन हिटिङ पौडीपोखरी १३औँ सागका लागि गम्भीर चुनौती बनेका छन् । कात्तिक १५ गतेभित्र यी पूर्वाधारको निर्माण हुने सम्भावना ज्यादै न्यून देखिएको छ । राखेपले निर्माणमा संलग्न कम्पनी र ठेकेदारसँग तोकिएको समयमा निर्माणको लागि लिखित रूपमा हस्ताक्षर गराएर प्रतिबद्धता जाहेर गरे पनि ती पूर्वाधार समयमै निर्माण हुन्छन् या हुँदैनन् त्यो आमचासोको विषय बनेको छ ।

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दा ६ महिनाअघि नै पूर्वाधारको निर्माण सम्पन्न हुनुपर्छ । त्यसपछि सहभागी राष्ट्रका प्रतिनिधिहरूलाई निमन्त्रणा गरी पूर्वाधारको अवलोकन गराइन्छ र तयारीको लागि जानकारी दिइन्छ । तर, दुर्भाग्य ! नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय रङ्गशाला ‘दशरथ रङ्गशाला’ प्रतियोगिता आयोजना हुन तीन महिनाको समय बाँकी रहँदासमेत पूर्ण रूपमा निर्माण हुन सकेको छैन । यथार्थमा भन्नुपर्दा १३औँ सागका लागि दशरथ रङ्गशाला नै खेलकुद पदाधिकारीहरूको लागि टाउकोदुःखाइको विषय बनेको छ ।

दशरथ रङ्गशाला १३औँ सागको लागि चुनौती बन्न सक्ने सम्भावना बढेपछि सदस्यसचिव सिलवालले दशरथ रङ्गशालाले पूर्णता नपाए ‘साग’ आयोजना गर्न नसकिने सङ्केत दिइसकेका छन् । ‘विवाह गर्न खोजेर मात्र हुँदैन, बेहुला पनि तयार हुनुपर्छ’ भन्दै सदस्यसचिव सिलवालले अन्य समस्त तयारी पूर्ण भए पनि दशरथ रङ्गशालाको पूर्णताबिना अर्थहीन हुने स्वीकार गरे ।

यसैक्रममा दशरथ रङ्गशालालाई पूर्णता दिन खेलकुद पदाधिकारीहरूले भारतको दौडाहा गरिसकेका छन् भने सदस्यसचिव सिलवाल केही समयपश्चात् चीन जाँदै छन् । परिषद्का पदाधिकारीहरूको यो दौडधुपले कति रङ लगाउने हो, भविष्यले नै बताउला ।

यतिबेला १३औँ सागको तयारीमा युद्धस्तरमा लागेको नेपालले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । कात्तिक १५ गतेको अन्तिम समय–सीमा दिइए पनि त्यसमा तलमाथि भए आगामी मङ्सिर १ गतेसम्ममा सबै छुटफुट कार्य सम्पन्न हुने सम्बद्ध पक्षको दाबी छ । यसैबीच नेपाल सरकारले पनि बजेटका कारण काम नरोकिने प्रस्ट पारेको सदस्यसचिव सिलवालले बताएका छन् । दिन–प्रतिदिन चुनौतीको कसौटीमा रापिँदै गएको राष्ट्रिय महत्वको प्रतियोगिता अन्तिम समयमा खारिएर आउँछ या ‘साग’ जलेर खरानी हुन्छ, प्रतीक्षाकै विषय बनेको छ ।