‘राज्य’ नै हुन् त हाम्रा नेता ?





नजिकको छिमेकी देशका गुप्तचर एजेन्सी प्रमुखले नेपाल आएर भेटघाट गरेलगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहअध्यक्ष पुष्पकमल दाहाल ‘श्रीमतीको आग्रह’बमोजिम सपरिवार दुबई घुम्न निस्किए । संसारकै महँगामध्येको एक मानिने एट्लान्टिस होटेलमा सपरिवार झन्डै साता दिन बिताएका दाहालले लाखौँ रकम उक्त पारिवारिक भ्रमणमा खर्च गरेको अनुमान छ । तीन तोला सुनका धनी नेताले सपरिवार दुबई घुम्न आवश्यक ठूलो धनराशिको जोहो कसरी गरे होलान् भनी सामाजिक सञ्जालमार्फत कैयनले चासो र चिन्ता प्रकट गरे भने गम्भीर अस्वस्थताबाट गुज्रिरहेकी जीवनसङ्गिनीको धोको पूरा गरिदिएर उनले वफादार श्रीमान्को कर्तव्य निर्वाह गरे भन्दै तारिफ गर्नेहरू पनि देखिए । धेरैले चाहिँ अनेक आरोप र आशङ्कासहित असन्तुष्टि र आक्रोश पनि पोखे ।

दाहाल परिवारको दुबई यात्रालाई ‘रअ’का अधिकारीसँगको भेटघाट–सन्दर्भसँग जोडेर आ–आफ्नै किसिमबाट अथ्र्याउन खोज्नेहरूसमेत देखापरे । तर, स्वयम् पुष्पकमल दाहाललाई भने नागरिक तप्काबाट गरिएका यावत् टीका–टिप्पणी र विरोधले छोएको अनुभूति गर्न सकिएन । उल्टै, ‘म नै राज्य हुँ, जनता केही होइनन्’ भन्ने अहङ्कार–भावबाट व्याप्त भएझैँ निर्लिप्त देखिँदै छन् उनी । जनभावनाप्रति दाहालको यो चरम उदासीनता हो भन्दा अतिरञ्जना ठहरिँदैन । ‘नवसामन्त’को पहिचान बनाउँदै गर्दा आमनेपालीसँगको सामीप्यता गुमाउँदै गएका दाहालको यस रवैयालाई अनपेक्षितचाहिँ ठानिएको छैन । जनताको ‘सेवक’ नभई ‘शासक’मा रूपान्तरित पात्र हुनुका नाताले जनस्तरबाट उठे–उठाइएका आवाज नसुन्नु या सुनेर पनि उपेक्षा गर्नु यतिबेलाका पुष्पकमलको हकमा स्वाभाविक नै छ ।

दाहालमा पन्पिएको ‘महासामन्ती’ चरित्रलाई अस्वाभाविक नठानिए पनि दुबईको ‘पारिवारिक भ्रमण’बाट फर्किएलगत्तै जब उनले अप्रासङ्गिक तवरबाट ‘राजा’ ज्ञानेन्द्रलाई नागार्जुनबाट निस्कन चेतावनी दिए, यसलाई चाहिँ उदेकपूर्ण र अनपेक्षित व्यवहार ठानिएको छ । उनको यस रवैयाप्रति जनस्तरबाट तीव्र विरोध प्रकट गरिएको छ । एकाएक कसले कस्तो तागत भरिदियो जसबाट उनले यसरी पोखिने हदसम्मको उम्ल्याइँ प्रकट गर्न पुगे ? यस्तै कोणबाट सवाल गर्न थालिएको छ नागरिक तह–तप्काबाट ।

दाहाल प्रवृत्तिका नेताले जेसुकै दाबी गरे पनि वर्तमान व्यवस्थाप्रति नेपाली जनतामा बढेको वितृष्णाले विस्फोटकै रूप लिने खतरा चुलिँदो छ । नागरिकका चाहना, आवश्यकता, आस्था र भावना बुझेर सोअनुरूपका कर्म वा व्यवहार गर्दै विश्वास जित्नेतर्फ नलागी यसरी नै जनता चिढ्याउँदै शासकहरू मोजमस्तीमा लिप्त रहने हो भने परिपाटी नै उथलपुथल नहोला भन्न किमार्थ सकिँदैन ।

नेपाली नेताहरूमाथि बाह्य शक्तिबाट प्रभावित र परिचालित हुँदै आएका आरोप लाग्दै आएको सन्दर्भमा अनपेक्षित रूपले विदेशी गुप्तचर अधिकारीहरूसँग भेटघाट गर्ने अनि शङ्कास्पद ढङ्गले विदेश यात्रामा निस्कने र यस्तै–यस्तै पेरिफेरीबीच राष्ट्रवादको पक्षपोषण गर्ने व्यक्ति, समूह र शक्तिमाथि अस्वाभाविक किसिमबाट खनिने जुन भद्दा व्यवहार प्रकट हुन पुग्यो, यसले राजनीतिक दलका शीर्ष भनिएका पात्रप्रतिको जनआस्था र विश्वासमाथि नै खलल पुगेको छ । लोकतन्त्रको दुहाई दिने नेताहरू किन यस्तो अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्छन्, किन यसरी त्रसित छन् भन्ने सवाल अब सामान्य नागरिकमा समेत जागृत हुन थालेको छ ।

बलिया देशले कमजोर राष्ट्रसँग अनेक प्रकारका चाल चलिरहेका हुन सक्छन् । नागरिक–नागरिकबीच फुट गराउने, सामाजिक सद्भाव खलबल्याउने, राजनीतिक असन्तुलन र अस्थिरता पैदा गराएर मुलुकलाई झन्–झन् कमजोर तुल्याइदिने अनि आफ्नो अमूक स्वार्थ पूर्ति गर्ने बाह्य चालको चर्चा हाम्रो सन्दर्भमा नौलो विषय पनि होइन । तर, राजनीतिक नेतृत्व तहमा यो चेत पटक्कै खुल्न नसक्नु विडम्बनापूर्ण छ । दाहालद्वारा नागार्जुनवासी ‘राजा’माथि गरिएको कुबेलाको प्रहारलाई पनि आन्तरिक नभई बाह्य–स्वार्थको उपज नै ठानिएको छ ।

दाहाल त एक ज्वलन्त प्रतिनिधिमूलक पात्र मात्र हुन्, जो देश र जनताप्रति वफादार भई आन्तरिक सुधार वा सुदृढीकरणका निम्ति इमानदार रहनुभन्दा बाह्य इशारामा परिचालित हुनु र स्वउन्नतिका लागि मरिमेट्नुलाई अभीष्ट ठान्छन् । दाहालजस्ता नेताको चरित्र–चित्रकै आधारमा भन्नुपर्दा यतिबेला सिङ्गै शासकीय तन्त्र ‘अराष्ट्रिय’ र असान्दर्भिकजस्तो बन्न पुगेको छ । फलतः नागरिक तप्कामा असन्तुष्टि र आक्रोश चुलिँदो छ । दाहाल प्रवृत्तिका नेताले जेसुकै दाबी गरे पनि वर्तमान व्यवस्थाप्रति नेपाली जनतामा बढेको वितृष्णाले विस्फोटकै रूप लिने खतरा चुलिँदो छ । नागरिकका चाहना, आवश्यकता, आस्था र भावना बुझेर सोअनुरूपका कर्म वा व्यवहार गर्दै विश्वास जित्नेतर्फ नलागी यसरी नै जनता चिढ्याउँदै शासकहरू मोजमस्तीमा लिप्त रहने हो भने परिपाटी नै उथलपुथल नहोला भन्न किमार्थ सकिँदैन । जनताको दुहाई दिने नेताहरूलाई अजेय शक्तिको स्रोत जनता नै हुन् भन्ने हेक्का त पक्कै होला !

प्रतिक्रिया