वर्षमानले जिते प्रचण्डलाई !

वर्षमानले जिते प्रचण्डलाई !


२०६३ को राजनीतिक परिवर्तनका अगुवाहरू देश र जनताको जीवनलाई भन्दा आफूहरूकै निजी जीवनलाई सुखमय बनाउने उद्देश्यबाट प्रेरित भएर आन्दोलनमा सहभागी भएका रहेछन् भन्ने तथ्य तिनका व्यवहारबाट सिद्ध हुँदै गएका छन् । आम्दानीका सबै मुहानहरूमा कब्जा जमाउँदै आएका केही नेताहरू आफ्नो पारिवारिक उत्थानका निम्ति कतिसम्म समर्पित छन् भन्ने पछिल्लो उदाहरण प्रचण्ड र वर्षमान पुनले दिएका छन् ।

एक समयका ‘बदनाम’ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाहरूलाई समेत छायामा पार्ने गरी कम्युनिस्ट नेताहरूले आफन्त, नातेदार र परिवारका सदस्यहरूलाई ‘मौका’ उपलब्ध गराएका छन् । नेकपाको सहअध्यक्षसमेत रहेका प्रचण्डले अवलम्बन गरेको पथलाई धेरै कम्युनिस्ट नेताहरूले पछ्याउन खोजेका भए पनि यस मामिलामा अहिलेसम्म वर्षमान पुन अग्रपङ्क्तिमा देखिएका छन् ।

प्रचण्डले आफ्ना छोरीहरू, ज्वाइँहरू, बुहारी, भाइ, भतिजा र नजिकका आफन्तहरूलाई खोजी–खोजी राज्य दोहनमा सहभागी गराएका छन् । प्रचण्डकै देखासिकी गरी वर्षमानले पनि आफ्नी पत्नी, बहिनी, ज्वाइँ, भाइभतिज, सालासालीलगायत नातेदारहरूलाई अनेक अवसर उपलब्ध गराइदिएका छन् । वर्षमानपत्नी ओनसरी घर्ती यसअघि सभामुख थिइन् भने अहिले उनलाई नेकपाको प्रदेश प्रमुख बनाइएको छ । उनकी एक बहिनीलाई रोल्पा नगरपालिकाको उपमेयर बनाइएको छ भने अर्की बहिनीलाई ललितपुरबाट सांसद पद दिलाइएको छ ।

यस्तै, काकाको छोरालाई मन्त्रीको स्वकीय सचिव, सालीलाई संसद् सचिवालयमा उच्च तहको जागिर, काकालाई आफ्नै श्रीमतीको स्वकीय सचिव, मामाको छोरालाई सभामुखको स्वकीय सचिव, ज्वाइँलाई उपराष्ट्रपतिको प्रेस सल्लाहकार, सम्धी पर्नेलाई रोल्पाको पार्टी अध्यक्ष, ‘तेह्रदिने’ भाइलाई रोल्पाको सांसद र एक बहिनी ज्वाइँलाई वर्षमानले जिल्ला समन्वय समितिका सदस्य बनाइदिएका छन् । तर, प्रचण्डले भने बिरामी भएका कारण आफ्नी पत्नी सीतालाई कुनै पदीय जिम्मेवारी दिलाउन पाएका छैनन् । एउटा भतिजलाई राजदूत, बुहारीलाई मन्त्री र एउटा छोरीलाई महानगरको मेयर बनाउन सकेको भए पनि परिवारका अन्य सदस्य तथा नातेदारलाई उच्च लाभको पद दिलाउन सकेका छैनन् । भविष्यमा अन्य आफन्त र नातेदारहरूलाई पनि प्रचण्डले मन्त्री र राजदूतलगायत उच्च जिम्मेवारी दिलाइदिने विश्वास भने गरिएको छ ।

२०४६ को परिवर्तनपश्चात् सम्पन्न पहिलो संसदीय निर्वाचन (२०४८) मा गणेशमान सिंहले आफ्नी पत्नी मंगलादेवी सिंह र पुत्र प्रकाशमान सिंहलाई काठमाडौंको दुईवटा क्षेत्रबाट उम्मेदवार बनाएको विषयलाई लिएर व्यापक टिप्पणी तथा विरोध भएको थियो । विरोधकै कारण दुवै उम्मेदवार पराजित हुन पुगेका थिए ।

तर, २०६३ को परिवर्तनपछि भने कम्युनिस्ट नेतृत्वले परिवारवादको भद्दा रूप प्रदर्शन गर्दा पनि त्यसको परिणामुखी विरोध भइरहेको छैन । बाबुराम भट्टराई र हिसिला यमी दुवै एकसाथ मन्त्री बनेर मन्त्रीनिवासका दुई छुट्टाछुट्टै भवन कब्जा गरेर बस्दासमेत त्यसप्रति कसैले नकारात्मक टिप्पणी गरेको सुनिएन । कम्युनिस्ट नेताहरूको ज्यादती र भ्रष्टाचार पनि आममानिसलाई किन प्रिय हुने गर्दछ, यो सबैका निम्ति जिज्ञाशाको विषय बनेको छ ।

प्रचण्ड र वर्षमानका उन्नति/प्रगति विवरण !

प्रचण्ड : पूर्वप्रधानमन्त्री तथा नेकपाको सहअध्यक्ष

विना मगर (बुहारी) : मन्त्री
महेश दाहाल (भतिज) : राजदूत (अष्ट्रेलिया)
रेणु दाहाल (छोरी) : प्रमुख, भरतपुर महानगर
गंगा दाहाल (छोरी) : आफ्नो स्वकीय सचिव (सरकारी सुविधामा)
सागर केसी (जेठा ज्वाइँ) : उपराष्ट्रपतिको वैतनिक सल्लाहकार
अर्जुन पाठक (माइला ज्वाइँ) : रेणु दाहालको स्वकीय सचिव
चूडामणि खड्का (रेणुको नन्देभाइ) : समानुपातिक सांसद

वर्षमान पुन : मन्त्री

ओनसरी घर्ती (पत्नी) : पहिले सभामुख अहिले पार्टीको प्रदेश प्रमुख
मनकुमारी (बहिनी) : उपमेयर, रोल्पा नगरपालिका
सुशीला (बहिनी) : सांसद
बहिनी ज्वाइँ : जिसस सदस्य
सन्तोष पुन (काकाको छोरा) : मन्त्रीको स्वकीय सचिव
साली : संसद् सचिवालयमा उच्च तहकी कर्मचारी
बाबुलाल पुन (काका) : ओनसरीको स्वकीय सचिव
सिजल पुन (भाइ, तेह्रदिने) : सांसद (रोल्पा)
डोरे पुन (मामाको छोरा) : सभामुखको पीए
अग्रिम पुन (काकाको छोरा, भाइ) : वाईसीएल अध्यक्ष
सुरेन्द्र थापा (सम्धी पर्ने) : रोल्पाको पार्टी अध्यक्ष
मनोज घर्ती (ज्वाइँ) : उपराष्ट्रपतिका सल्लाहकार