■ अर्जुनराज पन्त
लुतो फाल्न पा’को छैन तीज पो शुरु भयो !
हेरेनन् कि क्यालेन्डर कि चाड पो अघि गयो ?!
जन्माष्टमी आएसँगै तीज पो लाउँथ्यो पहिले
यति चाँडै आउन थाल्यो के भएर अहिले ?!
जन्मे कि खै अर्का कृष्ण असारैमा फेरि ?
मनायौ कि तीजलाई फेरि त्यही तिथिलाइ हेरी !
टोल-छिमेकमा पार्टी चले गीत ‘नि गाइसके
फेसबुक र मिडियामा तिनै छाइसके
असारे गीत सुन्ने याममा सुन्छु तीजका गीत !
उल्टियो कि कोल्टो पऱ्यो चाडबाडको रीत ?
बिराला र पिराला ‘रे गीत नि कस्ता–कस्ता !
क्यारी होला सुन्नी–हेर्नी परिवारमा बस्दा ?!
उमेर हदको सीमा तोक तीजका गीतमा पनि
वयश्कले मात्र हेर्नु तीजको यो गीत भनी ।
संस्कृति कि विकृति हो चिन्न गाह्रो आज
पहिरन पनि उस्तै अझै छैन शरम लाज !
कहाँ गए तनेोली कठै आज–भोलि
औतारी त्यो टालो ला’छन् पिठ्युँ पूरै खोलि !
त्यत्रो छाती ढाक्न कठै चारअंगुलको टालो
बाक्लो हो र त्यहि नि अझ माकुराको जालो !
तीजका पार्टी कति-कति खाने चिज नि अति
मासुमाथि मदिरा छ पिउन सके जति !
तीजको दरमा आज कठै आयो मासु–जाँड
तीज हो कि हो यो कतै गहनाको चाड !
ख्वाउन भनी जानैपर्ने चेलीबेटी लिन
आज आयो अर्को घाँडो तिन्लाई पुऱ्याइदिन !
मदिरामा लट्ठीएका लड्लान् कतै भनि
घरै लगी बुझाउ तिन्लाइ अर्को जिम्मा पनि !
गहनाको प्रदर्शनी धाकको प्रतिष्पर्धा
आफ्नै ज्यानलाई जोखिम पारि चोरलाई निम्ता गर्दा ।
कहाँ जाँदो हो बुद्धि–विवेक पढेकैको पनि ?
तीज लागे’सी मेसै पाउनन्न् केले अन्धो बनी ?!
के आनन्द दिन्छ त्यसले के नै राम्रो पार्छ ?
लुटेराले लुट्न त्यही ज्यानै पनि मार्छ !
सजिला नि हुन् र अझ गहना नि कस्ता !
तीखा चुच्चा उम्रिएका बनका काँडा जस्ता !
पिठ्युँ ढाक्ने टालो छैन छड्के पोते क्यार्नी ?
घुँडासम्मै लत्रिएको क्यारी होला स्यार्नी ?!
कुन मन्तरको जन्तर हो त्यो लायौ तिम्ले अनि ?
त्यो लाए’सी छुट पाइन्छ कि जे गरे‘नि भनि !
झुम्का पनि अचम्मैका रामलीलाका अरे !
तिम्रो लिला देखेर कि राम नि दङ्ग परे ?
(ब्यङ्ग्यकवि पन्तको खण्डकाब्य ‘कोइली’ छिट्टै प्रकाशन हुँदैछ ।)
प्रतिक्रिया