राखेपद्वारा टेनिस कोर्ट हस्तान्तरण

राखेपद्वारा टेनिस कोर्ट हस्तान्तरण


नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको लनटेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद्ले नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्सलगायत अन्य पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो पुगेका सदस्यसचिव सिलवालले निर्माण सम्पन्न भइसके पनि हस्तान्तरण नहुँदा खेलाडीको प्रशिक्षणमा कठिनाई भएको बुझेपछि तत्काल नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालाई चाबी हस्तान्तरण गरेका थिए ।

‘निर्माण भइसकेको रहेछ । हस्तान्तरण गर्न किन ढिलाइ भएको हो । समारोह राखेर हस्तान्तरण गर्नुपर्छ भन्ने छैन । खेलाडीले प्रयोग गर्न पाउन् भनेर बनाइएको हो । खेलाडीले प्रयोग गर्न पाउनु प¥यो’, सदस्य–सचिव सिलवालले भने ।

टेनिस कम्प्लेक्समा रहेको पुरानो ६ क्ले कोर्टलाई विस्थापित गरी त्यत्ति नै हार्ड कोर्ट बनाइएको छ । छेउमै थप २ वटा सफ्टटेनिसका लागि पनि हार्ड कोर्ट बनाइएको छ । सदस्य–सचिव सिलवालले सातदोबाटोस्थित स्क्वास कम्प्लेक्स, हिटिङ पुल, तेक्वान्दो भवनको अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसअघि सदस्य–सचिव सिलवालले १३औं सागमा समावेश खेलका राष्ट्रिय संघका प्रतिनिधि र प्रमुख प्रशिक्षकहरुसंग खेलाडीहरुको प्रशिक्षण र समस्यका बारेमा जानकारी लिएका थिए ।