तनहुँमा एक वर्षमा ६१ को सवारी दुर्घटनामा मृत्यु

तनहुँमा एक वर्षमा ६१ को सवारी दुर्घटनामा मृत्यु


तनहुँमा एक वर्षमा दुर्घटनामा परी ६१ जनाले ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा भएका १ सय ६ दुर्घटनामा परी उनीहरूको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष १ सय १२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सवारी दुर्घटनाको संख्यामा यस वर्ष केही कमी आए पनि सन्तोषजनक भने छैन ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिए पनि दुर्घटनाको क्रम नरोकिएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार विभिन्न दुर्घटनामा ११८ को स्थिति जटिल र ७१ सामान्य घाइते भएका थिए ।

दुर्घटनामा परेका मोटरसाइकलको संख्या सबैभन्दा बढी छ । यस अवधिमा ६६ मोटरसाइकल, ३७ बस, १९ जिप तथा कार, ११ ट्रक, टिपर र नौ माइक्रोबस दुर्घटना भएको कार्यालयले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित कोत्रे, गाछेपानी, म्याग्दे गाउँपालिकास्थित अकला, गुणादी, व्यास नगरपालिकास्थित कमलाबारी, घाँसीकुवा, बन्दीपुर गाउँपालिकास्थित नाहाला, विमलनगर, आँबुखैरेनी गाउँपालिकास्थित पावरहाउस, एक्लेफाँट बढी दुर्घटना हुने ठाउँ हुन् । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले त्यस्ता ठाउँमा सचेतना बोर्ड, कन्भेक्स ऐना राखेको छ भने सवारीको गतिमापनका लागि ‘राडार गन’ प्रयोग गर्ने गरिएको उनले बताए । दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यालयले सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न पैदलयात्री, सवारीचालक, यातायात व्यवसायी र विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिइएकोे हो ।

तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरबाहीजस्ता कारणले सवारी दुर्घटना वृद्धि भएको ट्राफिक प्रमुख अधिकारीको भनाइ थियो । ‘तीव्रगतिमा सवारीसाधन चलाउने, एक–अर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डीजस्ता कारणले सवारी दुर्घटना बढेको हो,’ उनले भने, ‘सडक ठाउँ–ठाउँमा भत्किएको छ, समयमै मर्मत नगरिएकाले मोटरसाइकल र स्कुटर बढी मात्रामा दुर्घटनामा पर्ने गरेको हो ।’ पृथ्वीराजमार्गको ७२ किलोमिटर भाग तनहुँ जिल्लामा पर्दछ ।