जापानको माथिल्लो सदनका लागि आज मतदान, मतपरिणाम भोलि

जापानको माथिल्लो सदनका लागि आज मतदान, मतपरिणाम भोलि


जापानमा माथिल्लो सदनका लागि आइतबार देशव्यापी मतदान भएको छ । यो निर्वाचनलाई प्रधानमन्त्री सिन्जे आवेको ६ वर्ष ६ महिनाको अहिलेसम्मको कार्यकालबारे आमनागरिकको धारणा मापन गर्ने अवसरका रूपमा पनि हेरिएको छ ।

मतदानका लागि देशभर ४७ हजार मतदान केन्द्र स्थापना गरिएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ८ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको मतपरिणाम सोमबार बिहान सार्वजनिक हुने अपेक्षा गरिएको छ । यस निर्वाचनबाट छानिने माथिल्लो सदनका सदस्यको कार्यकाल ६ वर्षको हुनेछ । कुल सदस्यमध्ये आधाको म्याद तीन वर्ष अगाडि सकिने भएकाले हरेक तीन–तीन वर्षमा निर्वाचन हुनेछ ।

आइतबार भएको निर्वाचनका लागि कुल ३७० उम्मेदवार रहेका छन् । उनीहरूले १२४ सिटका लागि प्रतिस्पर्धा गरेका हुन् ।