मुस्ताङ कागबेनीका किसानलाई उवा भित्र्याउन भ्याईनभ्याई (फोटोफिचर)

मुस्ताङ कागबेनीका किसानलाई उवा भित्र्याउन भ्याईनभ्याई (फोटोफिचर)


–छविलाल बगाले
पहाड र तराईतिर धान रोप्ने चटारो भइरहेका बेला हिमाली जिल्ला मुस्ताङका किसानलाई भने उवा थन्क्याउने हतारो छ । उवा भित्र्याउने तयारीमा मुस्ताङका किसान तल्लिन छन् । सरकारले रैथाने बाली संरक्षणका लागि अभियान शुरु गरेपनि हिमाली जिल्लाका किसान भने रैथाने बाली संकटमा परेको बताउँछन् ।


पहाडी जिल्लाका किसानहरु धान रोप्न ब्यस्त भइरहेका बेला यि कृषकहरु भने बाली थन्क्याउने चटारोमा छन् । असोजमा लगाएको उवा यो समयमा थन्क्याउने गरिन्छ । अहिले कागवेनीका किसान एकै ठाउँमा जम्मा भएर आलोपालो बाली थन्क्याउनमा ब्यस्त छन् ।


गाउँभरीका किसान हातमा लामो लौरी र अनुहारमा कपडा बेरेर उवा चुट्ने कार्यमा तल्लिन छन् । आलोपालो काम गर्ने उनिहरुको पूरानै चलन हो ।

एक छिमेकीको काममा अर्को छिमेकीले सघाउने यहाँको चलनले कागवेनी पुग्ने जो कसैलाई पनि लोभ्याउँने गर्छ । पालैपालो बाली लगाउने र भित्र्याउने चलन पनि कागवेनीमा छ । उवा हिमाली जिल्लाको प्रमुख बाली मध्येको एक हो ।


उवा जिल्लाका ५ वटै गाउँपालिकाको ३ सय ७५ हेक्टर जमिनमा खेती हुँदै आएको छ । यसबर्ष ७ सय मेट्रिकटन उवा फलेको तथ्याँक कृषि ज्ञान केन्द्रसँग छ । किसानले पनि प्रतिपाथी ५ सय रुपैयाँमा उवा बेच्दै आएका छन् ।


हिमाली जिल्लामा धान उत्पादन नुहने भएपछि यहँका किसानहरु आलु, फापर, गहुँ, जौ, करु र स्याउको खेती बढि गर्छन् । समयमा मल र विउ नपाउँदा उत्पादन घटेकोप्रति किसान चिन्तितत छन् ।


उवा, जौ, फापर, करु र स्याउ मुस्ताङको रैथाने बाली हो । तर हिजोआज जनशक्तिको अभावमा यो उवा संकटमा पर्दै गएको छ । सरकारले पनि चालु आर्थिक बर्षबाट मुलुकभरका रैथाने बाली संरक्षणको लागि कार्यक्रम सुरु गरेको छ । यसका लागि १० करोड बजेट विनियोजन गरेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रकी प्रमुख शवनम शिवाकोटी बताउँछिन् ।


औषधीय गुण, पोषणयुक्त बाली, पर्यटकिय केन्द्रविन्दु भएपनि फापर, उवाजस्ता बाली लोप हुन लागेको छ । सरोकार निकायले रैथाने बालीको संरक्षण र प्रवद्र्धन गरी गरिब तथा पिछडिएका समुदायको आयआर्जन गर्दै खाद्य सुरक्षामा सहयोग गर्नुपर्नेमा किसानहरुको माग छ ।