निर्माण नसक्दै मगर संघको कार्यालय उदघाटन

निर्माण नसक्दै मगर संघको कार्यालय उदघाटन


  • हेमशंकर सिंह, राजविराज

सप्तरीको वीरेन्द्र बजारमा नेपाल मगर संघ रुपनी गाउँपालिकाको कार्यालय उद्घाटन गरिएको छ । निर्माणधीन अवस्थामै रहेको भवनको रुपनी गाउँपालिका ६ का वडाअध्यक्ष गोविन्द सिंह थापा मगरले बिहीबार एक समारोहका बीच भवन उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै वडा अध्यक्ष मगरले मगर संघको भवनलाई पूर्णता दिन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । सामाजको उत्थान र विकासका लागि आफू सधै तत्पर रहेको बताउँदै कार्यक्रमका मगरले अन्य जाति समुदायलाई समेत आ—आफ्नो जातिको कार्यालय स्थापना गर्न आग्रह गरे ।

नेपाल मगर संघ रुपनी गाउँपालिका अध्यक्ष ललितकुमार थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्य विष्णुबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासंघ रुपनी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र सिंह घले मगर, नेपाल मगर संघ सप्तरीका पूर्वसचिव कर्णबहादुर थापा मगर, जग्गादाता परिवारका सदस्य स्वर्गीय शिवबहादुर पोखरेल मगरका छोरा भोलाबहादुर पोखरेल मगरलगायतले शुभकामाना मन्तब्य ब्यक्त गरे ।

स्वर्गीय शिवबहादुर पोखरेल मगरले दान गरेको एक कठ्ठा जग्गामा भवन निर्माणका लागि पहिलोपटक १ लाख ५० हजार देउसी खेलेर संकलन भएको पैसाले भवन निर्माण शुरु भएको थियो । भवन निर्माणमा तत्कालीन जिल्ला विकास समितिबाट १ लाख, रुपनी गाउँपालिका वडा नम्वर ६ ले ५ लाख, विभिन्न दाताहरुको सहयोग गरी हालसम्म कुल ८ लाखको लगानी भएको नेपाल मगर संघ रुपनी गाउँपालिकाले जनाएको छ ।