राष्ट्रपति रनिङ सिल्डमा एथलेटिक्सतर्फ दुई कीर्तिमान

राष्ट्रपति रनिङ सिल्डमा एथलेटिक्सतर्फ दुई कीर्तिमान


११औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्रातर्फ दुई नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । प्रदेश ५ की संगीता अधिकारीले सटपुटमा ११.६८ मिटर टाढा फाल्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचेकी हुन् । संगीताले ३२ वर्षअघि (२०४४ साल) सपना मल्लले बनाएको ११.२३ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।

४ सय मिटर दौडमा प्रदेश ५ कै अरुणा रिजालले निर्धारित दूरी १ मिनेट १.०३ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको एक मिनेट ३ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् । कीर्तिमानधारी दुवैले समान १० हजार नगद पुरस्कार पाउने छन् ।

छात्राको १ हजार ५ सय मिटर दौडमा प्रदेश ७ की सीमा चौधरी (५ मिनेट १९.५ सेकेन्ड), लङजम्पमा प्रदेश ५ की सीमा चौधरी (४.८६ मिटर), १ सय मिटर दौडमा प्रदेश १ की नेहा चौधरी (१३.१० सेकेन्ड) र ४ गुणा १ सय मिटर रिलेमा प्रदेश ५ पहिलो भए ।

छात्रको सटपुटमा प्रदेश ५ का महेश चौधरी (११.७४ मिटर), लङजम्पमा प्रदेश ५ का सुदीप थारु (६.१० मिटर), ४ सय मिटर दौडमा सिमान्त पाण्डे (५१.४० सेकेन्ड), १ हजार ५ सय मिटर दौडमा प्रदेश ७ का केशर मास्के (४ मिनेट १८.८ सेकेन्ड) र ४ गुणा १ सय मिटर रिलेमा प्रदेश ५ पहिलो स्थानमा रहे । सिमान्तले १ सय मिटर दौडमा पनि स्वर्ण हात पारे । उनले निर्धारित दूरी ११.१७ सेकेन्डमा सकाए ।

एथलेटिक्स लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहल, भलिबल त्रिपुरेश्वरस्थित राखेपको बहुउद्देश्य कभर्डहल, कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भइरहेको छ ।

व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पुरस्कार दिइने छ । जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता असार ३१ गते मंगलबारसम्म चल्नेछ ।