बाह्रौँ दक्षिण एसियाली शारिरीक सुगठन काठमाडौंमा

बाह्रौँ दक्षिण एसियाली शारिरीक सुगठन काठमाडौंमा


बाह्रौँ दक्षिण एसियाली शारिरीक सुगठन प्रतियोगिता साउन ३ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगिता नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तत्वावधान तथा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा आयोजना गरिन लागेको हो ।

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने यो प्रतियोगिता नेपालले तेस्रोपटक आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी लगभग पूरा भएको आयोजकले प्रेस सम्मेलन गर्दै जानकारी गराएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर राख्दै प्रतियोगिताको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
बाह्रौँ दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनेछ । प्रतियोगितामा दक्षिण एशियाली मुलुकका खेलाडी, निर्णायक र अफिसियल गरी १ सय ३० जनाको सहभागिता रहनेछ ।

प्रतियोगितामा विश्व तथा एशियाली शारीरिक सुगठन महासंघका अध्यक्ष डाटुक पावल छुको समेत उपस्थिति रहनेछ । खेललाई निष्पक्ष रुपमा संचालन गर्न थाइल्यान्ड शारीरिक सुगठन संघबाट चार जना विश्वस्तरिय निर्णायकहरु समेत सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपालबाट बाह्रौँ दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता एवं यो विधा अन्र्तगत पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्टस् फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी जम्मा १८ विधामा २३ खेलाडीहरु र ५ अफिसियल गरी २८ जनाको सहभागिता रहनेछ ।

यो प्रतियोगिता आयोजनाका लागि अनुमानित १ करोड ३६ लाख बजेट रहेको आयोजकले जनाएको छ । उक्त बजेट विभिन्न व्यापारिक प्रतिष्ठान तथा संघ संस्थाहरूबाट प्रायोजन तथा खेलाडीहरुको रजिष्ट्रेशन शुल्क रहेको छ । त्यस्तै नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयबाट वार्षिक बजेट तथा कार्यक्रम मार्फत नै खेल शिर्षक अन्तर्गत १० लाख रकम विनियोजन समेत गरिएको छ ।

२०३५ सालमा स्थापना भएको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ राष्ट्रिय खेलकुद परिषदको दर्ता भएको राष्ट्रिय संघ हो । यो संघले विगत ४० वर्षदेखि नेपालमा शारीरिक सुगठन खेलको विकास गर्नमा महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । हाल ३६ जिल्लाका जिल्लासंघहरु मार्फत नेपालमा शारीरिक सुगठन खेलको विकासमा संघ क्रियाशील रहेको छ ।

शारीरिक सुगठन खेलमार्फत यस संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उल्लेख्य सफलता हासिल गरी देशको मान सम्मान र प्रतिष्ठा बढाउन सफल भएको छ । दक्षिण एशियाली, एशियाली तथा विश्व स्तरीय प्रतियोगिताहरुमा निरन्तर रुपमा सहभागी भई स्वर्ण, रजत र कास्य पदक हासिल गरेको छ । साथै राष्ट्रिय, जिल्ला र प्रदेश तथा क्षेत्रीय स्तरका खेलहरु निरन्तर रुपमा आयोजना गरी यस खेलको विकासमा सहयोग पु¥याउँदै आएको छ ।

त्यस्तै, निकट भविष्यमा संघले एशियाली शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको आयोजकले जानकारी गराएको छ । उक्त प्रतियोगितामा ४० भन्दा बढी मुलुकका करीब ४५० जनाको सहभागिता रहने अनुमान गरिएको छ ।