सेनाको सिपाहीदेखि खेलकुदको निर्देशकसम्म

‘ग्रान्डमास्टर’ ध्रुवबहादुर गुरुङ


■ श्रीविक्रम भण्डारी

सिपाहीको छोरो, रगतमा राष्ट्रभक्ति बग्नु स्वाभाविकै थियो । अझ सुबेदार मेजर शेरबहादुर गुरुङको छोरो कम्तीको हुने कुरै भएन । दश कक्षा पढ्दा ढ्दै सिपाहीमा भर्ना भइहाल्यो । १८ वर्षको उमेर लक्ष्य केही थिएन, मात्र सेनामा जागिर खाने र राष्ट्रको सेवा गर्ने थियो । तर, समयको चाहना भने अर्कै थियो, सिपाहीको ट्रेनिङ सकिनेबित्तिकै उनी खेलाडी बन्न पुगे । फुटबल, भलिबल, बास्केटबल र सय मिटर दौडमा अब्बल साबित भएपछि उनको चर्चा श्री कालीबहादुर गणमा फैलियो । त्यसपछि कालीबहादुर गणले नै उनलाई तेक्वान्दोको ट्रेनिङ गर्न हेडक्वार्टरमा सिफारिस गरेको थियो । आफ्नो गणको सिफारिसलाई सही साबित गर्दै ‘विशिष्ट खेलाडी’को उपाधिवाट सम्मानित हुँदै ब्ल्याकबेल्ट प्राप्त गर्ने र खेलकुदको आकाशमा ‘ध्रुवतारा’को रूपमा उदाउने उनी हुन्– नेपाली खेलकुदका धरोधर ध्रुवबहादुर गुरुङ ।

त्यतिबेला सेनाभित्र मार्सल आर्टस्अन्तर्गत जुडो, कराते, तेक्वान्दो र बक्सिङ खेलिन्थ्यो । मार्सल आर्टस्मा अत्यधिक रुचि राख्ने गुरुङका लागि तेक्वान्दोको तीनवर्षे ट्रेनिङ आफैंमा चुनौतीपूर्ण थियो । यो अवधि गुरुङले कोरियन ग्रान्डमास्टर जेके सिन (गुरु)लाई कुनै कोणबाट निराश हुन दिएनन् । साँचो रूपमा भन्नुपर्दा आगोमा पोलेर निकालिएको सुनजस्तै खारिएर निस्किए । परिणाम- गुरुङ प्रशिक्षक सिनका सबैभन्दा प्रिय चेलाको रूपमा परिचित भए । ०३९ सालदेखि तेक्वान्दो खेल्न थालेका गुरुङले यो कुरालाई सिद्ध गर्न कुनै कसर बाँकी राखेनन् ।

गुरुङले ट्रेनिङकै अवधिमा ०४१ सालमा राजविराजमा आयोजना भएको नेपाल मार्सल आर्टस् प्रतियोगितामा स्वर्ण पदक जितेर कोरियन प्रशिक्षक सिनलाई गुरुदक्षिणा दिए । त्यतिबेला सबै मार्सल आर्टस्का खेलको एउटै सङ्घ थियो, त्यसमा गुरुङले ७६ केजी तौल समूहमा तेक्वान्दोवाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेका थिए । गुरुङले आफ्नो पहिलो भिडन्तमा हङकङका दुई लाहुरे नम्बरजंग गुरुङ, श्री गुरुङ र नेपाल प्रहरीका कृष्णभक्त न्यौपानेलाई पराजयको मीठो स्वाद चखाएका थिए । पहिलो भिडन्तमै स्वर्ण पदक जित्नु त्यसमाथि तत्कालीन अधिराजकुमार धीरेन्द्रवीरविक्रम शाहको बाहुलीबाट पदक थाप्न पाउनुको क्षण गुरुङको लागि कुनै सपनाभन्दा कम थिएन । त्यस्तै सोही वर्ष तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाह देवको ४०औँ शुभजन्मोत्सबको उपलक्ष्यमा आयोजित राष्ट्रिय युवा महोत्सव तेक्वान्दो तेक्वान्दो प्रतियोगितामा समेत स्वर्ण पदक जितेका थिए । त्यसपछि गुरुङ सिपाहीबाट नायकमा पदोन्नतिसमेत भएका थिए ।

त्यसपछि निकै हौसिएका गुरुङले ०४२ सालमा वीरगञ्जमा आयोजना भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा अर्को चमत्कार देखाए । उक्त प्रतियोगितामा स्वर्ण पदक जितेका गुरुङले क्योकुसिनका दुईजना लक्ष्मण श्रेष्ठ, प्रमोद देसार र सितोरियोका मधुसुदन श्रेष्ठलाई पछारेका थिए । राष्ट्रिय च्याम्पियन बनेपछि गुरुङ नायकबाट पदोन्नति हुँदै हवल्दार भए । राष्ट्रिय च्याम्पियन बनेपछि सेनामै टे«निङ गर्दै र गराउँदै आएका गुरुङले ०४३ मा धनगढीमा आयोजना भएको मार्सल आर्टस् प्रतियोगितामा पुनः स्वर्ण पदक जितेर राष्ट्रियस्तरका प्रतियोगितामा स्वर्ण पदकको ह्याट्रिक गरे । उनले स्वर्ण पदकमा ह्याट्रिक गर्ने क्रममा तेक्वान्दोकै गम्भीर गुरुङ, अमर राई र जितबहादुर तामाङलाई पाखा लगाएका थिए ।

त्यस्तै अर्को वर्ष ०४६ मा नेपाल तेक्वान्दो सङ्घले बुटबलको तालिम केन्द्रमा आयोजना गरेको प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा र काठमाडौंमा आयोजित प्रथम एनटीए प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगितामा पुनः स्वर्ण पदक जितेर लगातार पाँचपटक स्वर्ण पदक जित्दै सनसनी फैलाएका थिए । उनले यो प्रतियोगितामा गोपाल पाठक, मनोज सिंह, गोविन्द शर्मा, विजय शाह र राजु शाहलाई पराजित गर्दै राष्ट्रियस्तरमा आफ्नो कुनै प्रतिद्वन्द्वी नरहेको प्रमाणित गरेका थिए । आफूले खेलका चारवटै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेका गुरुङ त्यसपछि तेक्वान्दोका ‘सर्वोत्कृष्ट’ खेलाडी बने । गुरुङले यस्तो अकल्पनीय उचाइ छोएपछि ०४५ मा उनको पुनः प्रमोसन भएको थियो । अर्थात् उनी हवल्दारबाट ‘कम्पनी हवल्दार मेजर’मा बढुवा भएका थिए ।

राष्ट्रिय प्रतियोगिताको ‘सुपर हिरो’ बनेपछि गुरुङले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आफ्नो भाग्य अजमाउने अवसर पाए । ०४२ सालमा दशरथ रंगशालामा आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय सगरमाथा तेक्वान्दो प्रतियोगितामा पहिलो सहभागितामै रजत पदक जितेर सनसनी फैलाएका थिए । गुरुङले उक्त प्रतियोगितामा पाकिस्तान, ब्रिटिस गोर्खा र भारतका खेलाडीलाई पराजित गरेका थिए । यसरी आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागितामै तीनजना विदेशी खेलाडीलाई पाखा लगाएर फाइनलमा पुगेका गुरुङको चर्चा त्यसपछि निकै चुलिएको थियो । त्यसपछि नेपाली खेलकुदमा छाएका गुरुङलाई तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द्र शाहले स्याबासीसमेत दिएका थिए । उक्त प्रतियोगितामा कोरिया, थाइल्यान्ड, इन्डोनेसिया, जोर्डन, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलङ्का, हङकङ र ब्रिटिस गोर्खाका खेलाडीले सहभागिता जनाएका थिए ।

राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै एकपछि अर्को स्वर्ण पदक जितेका गुरुङले सन् १९८६ मा दक्षिण कोरियाको सियोलमा आयोजित १०औँ एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाए । ७० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका गुरुङ आफ्नो नामअनुसारको प्रदर्शन गर्दै पहिलो खेलमा जापानका खेलाडीलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भए । त्यसपछि निकै उत्साहित बनेका गुरुङको दोस्रो भिडन्त आयोजक राष्ट्र दक्षिण कोरियाका खेलाडीसँग भयो । कोरियन खेलाडीलाई बराबरी टक्कर दिए पनि अन्तिममा गुरुङ निराश हुनुप¥यो । यदि गुरुङले कोरियन खेलाडीलाई जितेको भए पदक पक्का थियो । यो एसियाडमा सहभागिता जनाएका अन्य तेक्वान्दोका खेलाडीले एक खेल जितेर पदक प्राप्त गरे पनि गुरुङ भने पदकवाट वञ्चित बनेका थिए । गुरुङले यो घटनालाई आफ्नो खेलजीवनको दुर्भाग्यको पाटोका रूपमा राखेका छन् । गुरुङको खेललाई निकै नजिकबाट नियालेका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले त्यसपछि गुरुङलाई ‘अनलक्की’ भन्दै १० हजार नगद पुरस्कार दिएका थिए ।

सन् १९८६ मै हङकङमा भएको अन्तर्राष्ट्रिय ब्रिटिस फोर्स तेक्वान्दो प्रतियोगिता गुरुङका लागि तीतो अनुभव बन्यो । दुई खेल जितेर फाइनलमा पुगेको अवस्थामा एक्कासि जन्डिसले गाँजेपछि गुरुङको स्वर्ण पदक जित्ने सपना चकनाचुर भयो । जन्डिसले गाँजेर थला पर्नै लागेका अवस्थामा समेत देशको मान, सम्मान र प्रतिष्ठालाई आत्मसात् गर्दै गुरुङ फाइनलमा उत्रिए । तर दुर्भाग्य ! फाइनलमा प्रतिद्वन्द्वीलाई जितिरहेको अवस्थामा दुःखाइ बढेपछि उनले बीचैमा खेल छोड्दै रजत पदकमै चित्त बुझाउनुप¥यो । त्यसपछि इरानमा भएको ‘१० डेज अफ द डाउन फेस्टिभल’मा प्रतिस्पर्धा गर्दै गुरुङले कांस्य पदक जिते । आफ्नो खेलजीवनमा थोरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका गुरुङले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता १९९० मा एसियन च्याम्पियनसिप खेलेका थिए ।

सक्रिय खेलजीवनबाट टाढिएपछि गुरुङले प्रशिक्षकको रूपमा दोस्रो पारीको शुभारम्भ गरे । सेनाबाटै उत्पादित खेलाडी भएका कारण उनको पहिलो रोजाइ सेना नै बन्यो । सेनाकै प्रशिक्षणमा सर्वोत्कृष्ट खेलाडी बनेको गुरुङले त्यसपछि सिपाहीदेखि अफिसरसम्मलाई प्रशिक्षण दिन थाले । ०४१ देखि ०५० सालसम्म सेनाका खेलाडीलाई प्रशिक्षण दिने क्रममा उनले तेक्वान्दोमा कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सफल भए । त्यसबेला गुरुङले जन्माएका खेलाडीमा मानबहादुर शाही, शङ्कर लामा, वीरेन्द्र केसी, कर्ण केसी, जोगलाल धिमाल, अर्जुन राई, मानबहादुर रिजाल, दीपक कार्की र रमेशजंग थापा, पूर्णबहादुर श्रेष्ठ, अर्जुन अधिकारी र विश्वराज सिग्देलले राष्ट्रिय र अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सनसनी फैलाएका थिए । ती खेलाडीमध्ये मानबहादुर शाहीले जापानको हिरोसिमामा आयोजित एसियाली खेलकुद प्रतियोगितामा कांस्य पदक जितेका थिए । त्यस्तै अधिकृतमा महासेनानी सुरेन्द्र सिजापती, प्रमुख सेनानी सुमन खड्का, सेनानी शैलेन्द्र शाह र कुशु विष्टलाई प्रशिक्षण दिएका थिए । यसरी सेनाका खेलाडीलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सफल बनाउन उत्कृष्ट प्रशिक्षकको भूमिका निभाएपछि सेनाले गुरुङको पदोन्नति गर्दै ‘जमदार’ बनाएको थियो । त्यसपछि गुरुङले सेनामा १५ वर्ष सेवा गरी राजीनामा दिए । सेनाबाट राजीनामा दिँदा निकै गुरुङ निकै भावुक बनेका थिए । आफ्नो खेलजीवनको शुभारम्भ नै सेनाबाट भएकाले सेनाप्रतिको सम्मान सधैँ अटल रहने कुरामा अहिले पनि गुरुङ अडिग छन् ।

सेनाबाट राजीनामा दिएपछि गुरुङ ०५० सालको अन्त्यतिर बौद्धमा बौद्ध तेक्वान्दो डोजाङ खोलेर पुनः प्रशिक्षणमा होमिए । तेक्वान्दो खेलको विकास र विस्तारका लागि सधैँ चिन्तित रहने गुरुङ दुई वर्षको अन्तरालमा बौद्ध डोजाङबाट चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सफल भए । उनले त्यसबेला बौद्ध डोजाङबाट जन्माएका खेलाडीमा श्याम थापामगर, अनिल देवकोटा, दिलीप कार्की, राजकुमार कार्की, राजीव थापा (भोटु), विश्वनाथ लामिछाने, नरोत्तम सिलवाल, लक्ष्मी श्रेष्ठ, लक्ष्मीप्रसाद महर्जन, ज्योति लामा, सरोज लामा, मानबहादुर वाइबा, दिलीप लामा, पार्वती भुजेल, मिलन श्रेष्ठ, आशा लामालगायतका खेलाडी थिए । यी खेलाडीले तेक्वान्दो खेलको विकास र विस्तारका लागि अहिले पनि उत्तिकै योगदान दिँदै आएका छन् ।

समयको उतारचढावलाई आत्मसात् गर्दै जाँदा एक दिन यस्तो पनि आयो जुन दिनको ध्रुवबहादुर गुरुङले लामो समयदेखि प्रतीक्षा गरेका थिए । ढिला आयो, तर दुरुस्त आयो, ०५२ साल गुरुङका लागि खुसी लिएर आयो । गुरुङले राष्ट्रिय खेलकुद परिषद्को तेक्वान्दोको प्रशिक्षकमा तृतीय श्रेणीमा नियुक्ति पाए । त्यसपछि तेक्वान्दोको विकास र विस्तारका लागि राखेपले उनलाई कञ्चनपुर (महेन्द्रनगर) पठायो । आफ्नो जिम्मेवारीलाई वर्षौंदेखि इमानदारी र लगनशीलका साथ निभाउँदै आएका गुरुङले कञ्चनपुरमा पनि यही कुरालाई दोहो¥याए । परिणाम– दुई वर्षको छोटो बसाइमा समेत उनले राज्यलाई उत्कृष्ट तेक्वान्दो खेलाडी उत्पादन गरेर दिए । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूमा महेन्द्र धानुक, हेमबहादुर बस्नेत, चन्द्रदेव जोशी, मोहन गुरुङ, तारा खड्कालगायत थिए ।

त्यसपछि राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्ज प्रशिक्षणको जिम्मेवारी पाएका गुरुङले ०५४ देखि ०५७ सालसम्म त्यहाँ प्रशिक्षण दिए । पुलिसमा पहिलोपटक तेक्वान्दो भित्र्याउने र प्रशिक्षण दिने जिम्मेवारी पाएका गुरुङले त्यहाँ ग्रासरुटदेखि कार्य गर्दै ह्वाइटबेल्टदेखि ब्ल्याकबेल्टसम्मलाई प्रशिक्षण गराए । प्रहरीबाट थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू जन्मिएकामा रामजीप्रसाद दाहाल, दीपक अधिकारी, चीन गुरुङ, युवराज श्रेष्ठ सबैभन्दा चर्चित थिए । जसमा रामजीप्रसाद दाहालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई रजत पदकसमेत दिलाएका थिए । त्यसपछि राम्रो प्रशिक्षण दिएबापत तत्कालीन एसएसपी तथा पूर्वआईजीपी कृष्णमोहन श्रेष्ठले गुरुङलाई प्रशंसापत्रसहित सम्मान गरेका थिए । त्यसबेला खेलकुदको इन्चार्ज हालका एसएसपी वसन्त लामा थिए । त्यसपछि गुरुङको सरुवा भक्तपुरमा भएको थियो । ०५२ साल गुरुङको लागि खुसी लिएर आयो । त्यहाँ पनि उनले तेक्वान्दोको प्रशिक्षण, प्रतियोगिताको आयोजना, जिल्ला ग्रेडिङका कार्य गरे । साथै सबैभन्दा महत्वपूर्ण कुरा उनी भक्तपुरको सैनिक स्कुलमा तेक्वान्दो भित्र्याउन सफल भए । त्यहाँ गुरुङले थुप्रै वर्ष तेक्वान्दोको प्रशिक्षण गराउँदै युवा खेलाडी उत्पादन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

सन् १९९८ मा बैंककमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दोमा सविता राजभण्डारीले नेपाललाई ऐतिहासिक रजत पदक दिलाउँदा ध्रुव गुरुङ राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षक थिए । यो एसियाडमा किशोर श्रेष्ठ, सपना मल्ल र सीता राईले कांस्य पदक जितेका थिए । यसरी आफ्नो कुशल प्रशिक्षणबाट नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल भएकोमा राखेपले गुरुङलाई ५० हजार नगदसहित ताम्रपत्र प्रदान गर्दै सम्मान गरेको थियो । त्यस्तै आफ्नो लामो खेलकुद जीवनमा थोरै मात्र सम्मान पाएका गुरुङलाई नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले पनि सम्मान गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्मा ०५२ सालमा तृतीय श्रेणीमा प्रवेश गरेका गुरुङ ०६३ सालमा द्वितीय श्रेणीमा पदोन्नति भए । त्यसपछि ०७२ सालमा प्रमुख प्रशिक्षक बढुवा भई तालिम तथा प्रशिक्षण विभागमा तेक्वान्दोको मुख्य प्रशिक्षकको जिम्मेवारी पाए । आफ्नो मुख्य प्रशिक्षकको जिम्मेवारी कुशलताका साथ निभाएकै कारण गुरुङले ०७५ सालमा राष्ट्रिय टिम तयारीको उपनिर्देशकमा नियुक्ति पाए । उपनिर्देशकको जिम्मेवारीसँगै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अनुगमन समितिमा बसेर कार्य गरेका गुरुङ प्रतियोगिताको समापनसँगै ०७६ सालमा राष्ट्रिय टिम तयारीको निर्देशकमा नियुक्ति पाएका थिए । गुरुङको विगतको कार्यको मूल्याङ्कन गर्दै सदस्यसचिव केशवकुमार विष्टले गुरुङलाई निर्देशकमा नियुक्त गरेका थिए । यसरी सेनाको सिपाहीबाट खेलकुदमा प्रवेश गरेर खेलकुदको निर्देशकसम्म बन्ने गुरुङ पहिलो खेलाडी बनेका छन् ।

गुरुङले ब्ल्याकबेल्टदेखि नेपालको आठौँ डान र कोरियाको अन्तर्राष्ट्रिय संस्था कुकिवनबाट सातौँ डान प्राप्त गरेका छन् । त्यस्तै, कुकिवनबाट ग्रान्ट मास्टर इन्स्ट्रक्टरमा उत्तीर्ण हुने गुरुङ नेपालको पहिलो व्यक्ति हुन् । कुकिवनको सातौँ डान र ग्रान्ट मास्टर इन्स्ट्रक्टरमा उत्तीर्ण भएपछि गुुरुङले अब विश्वका कुनै पनि मुलुकमा तेक्वान्दो क्लब खोल्न अनुमति पाएका छन् । साथै कुकिवनको छैटौँ डानसम्म प्रदान गर्न सक्ने कानुनी हैसियत पनि गुरुङलाई प्राप्त भएको छ ।

तेक्वान्दोको लामो यात्रामा गुरुङले निकै उतारचढावको सामना गरेका छन् । खेलकुदमा उनका तीतामीठा थुप्रै घटना छन्, त्यो यतिबेला उनी सम्झिन चाहँदैनन् । तर, तीमध्ये केही यस्ता घटना छन् जो उनको मानसपटलमा अविष्मणीय बनेर रहेका छन् । तेक्वान्दोकी चर्चित खेलाडी संगीना वैद्य र दीपक विष्ट ओलम्पिक खेलमा छनोट चरण पार गरेर सहभागी हुँदाको क्षणलाई उनी कहिल्यै बिर्सन सक्दैनन् । किनकि वैद्य र विष्ट नेपालबाट छनाोट भएर जाँदा गुरुङ तेक्वान्दोको राष्ट्रिय प्रशिक्षक, रेफ्री र जुरीको भूमिका थिए । त्यस्तै, तेक्वान्दोले आठौँ साफ र बैंकक एसियाडमा प्राप्त गरेको ऐतिहासिक सफलता गुरुङका लागि अविष्मरणीय घटना बन्न पुगेका छन् ।

आफ्नो सारा जीवन तेक्वान्दोमा सपर्मण गर्दै उत्कृष्ट खेलाडी र प्रशिक्षक बन्न सफल भएका गुरुङ अभिभावकको रूपमा पनि उत्तिकै सफल छन् । गुरुङलाई सफल बनाउन पत्नी राममाया गुरुङको साथ र सहयोग अतुलनीय छ । राममायाको मार्गदर्शन र पारिवारिक सेवाभाव गुरुङको सफलताको अर्को पाटो बनेको छ । तीन छोरा र एक छोरीका बुबा गुरुङ अहिले निकै प्रसन्न छन् । किनकि उनको जेठो छोरा अन्जित गुरुङ (सिभिल इन्जिनियर), माइलो छोरा रन्जित गुरुङ (सेनाको मेजर), सानो छोरा सन्जित गुरुङ (आर्मीको डाक्टर) र छोरी सविता गुरुङ स्टाफ नर्स छन् । उनीहरूको खुसीलाई आफ्नो खुसी बनाउँदै समयअनुसार चल्न सकेकोमा अहिले गौरवको अनुभव गर्छन् गुरुङ ।

प्रतिक्रिया