दन्त्यकथा प्रहार र बुमऱ्याङ

दन्त्यकथा प्रहार र बुमऱ्याङ


■ स्वयम्भूनाथ कार्की

नेपालीभाषीलाई दन्त्यकथाको माने बताउनु भनेको इन्द्रको अगाडि स्वर्गको बयान गर्नुजस्तै हो । दन्त्यकथा, किस्सा, उखान, टुक्का आदिको प्रयोग वाक्युद्धमा प्रहार गर्न पनि प्रयोग गरिने गर्दछ । सामान्यतया शिक्षा तथा मनोरञ्जनको निमित्त यी कुराहरूको उत्पत्ति भएको हो, तर रक्तपातविहीन युद्धमा प्रयोग नराम्रो पनि मान्न हुन्न । तर, यो प्रहार प्रभावकारी त्यसैबेला हुन्छ जुनबेला यसले मर्ममा प्रहार गरेको भनेर सुन्नेले बुझ्छ । त्यसैले दन्त्यकथाबाट पनि एक–अर्कालाई प्रहार गर्न सकिन्छ ।

उखान–टुक्काको प्रयोग धेरै हुने गरेको आजको परिवेशमा दन्त्यकथाको प्रहार चलनचल्तीमा ल्याउने प्रयत्न राम्रो नै भन्नुपर्छ । तर, यो प्रयोगमा प्रहार बुमऱ्याङ भएको छ जसलाई सही तरिकाले समात्न सकिएजस्तो लागेन ।

बुमऱ्याङ शब्द भने नेपाली होइन, यसको समानार्थी नेपाली पनि छैन । त्यसैले यसलाई तत्सम रूपमा भित्र्याउन सङ्कोच गर्नुहुन्न । त्यसैले बुमऱ्याङको माने भने भन्नैपर्ने हुन्छ । बुमऱ्याङ यस्तो घुँयत्रो हो जो लक्षमा प्रहार गरेर वा प्रहार नगरी नै हान्नेतर्फ फर्किन्छ । यदि यसको निमित्त तयार नरहेको अवस्थामा त्यो फर्केको घुँयत्रोले हान्नेमाथि नै प्रहार गर्दछ ।

एक नेपालको सबैभन्दा पढेलेखेको प्रधानमन्त्री भनेर कहलिएका र अर्को नपढेको प्रधानमन्त्री भनेर कहलिएकाबीच आपसमा यो रोचक दन्त्यकथा प्रहार भएको छ । दुवै भगवान्को सट्टा जर्मनका दारीबालाई भगवान् मान्ने आस्थावान् हुन् । त्यसैले अरूले खासै चासो लिन आवश्यक पनि थिएन । तर, संयोगले दुवै नेपालको सरकार प्रमुख भइसकेका र भइरहेका हुन् । यो पद भने ती दारीवाला भगवान्का होइन नेपाली जनताको गौरवका हुन् ।

वहालवाला प्रधानमन्त्री ओलीले भूपू प्रधानमन्त्री बाबुरामलाई घमण्डी भ्यागुताको दन्त्यकथा प्रहार गरे । अब यो कथा बाबुरामको निमित्त प्रहार कसरी भयो त्यो भने खुट्याउन सकिएन । कारण बाबुरामले अनेकौँ चटक देखाए, नानावली गरे, तर घमण्ड भन्न सकिने व्यवहार भने गरेको देखिएन । अपवादमा बिप्पा सम्झौता गर्दा बोलेको कुरा भने छ । त्यो सीधा घमण्ड थिएन, तर बुमऱ्याङ भएर आउनु घमण्ड देखियो । उनले मुलुकको निमित्त आफ्नो साख नै जोखिममा राखेको भनेका थिए । मुलुकप्रति समर्पण देखाउन भनेको कुराले आफू मुलुकभन्दा महत्वपूर्ण भएको छनक आएको थियो ।

तर, यसको जवाफमा बाबुरामले चतुरे ज्वाइँ राजसंयोगले नामी ज्योतिष भएको दन्त्यकथा ओलीलाई प्रहार गरे । ओलीले अहिलेको स्थान संयोगले प्राप्त गरेका होइनन्, त्यसको निमित्त अनेकौँ किसिमका मिहिनेत गरेका छन् । तीमध्ये केही कुरा कसैलाई उचित मिहिनेत लाग्लान् कसैलाई अनुचित । तर, जे भए पनि मिहिनेत त मिहिनेत नै हो ।

सर्वशक्तिमानको घमण्डमा लगातार फिर्ता लिनुपर्ने काम गर्ने सरकारको कीर्तिमान कायम गरेको छ यो सरकारले । त्यसैले ओलीले बाबुरामलाई प्रहार गरेको घमण्डी भ्यागुताको कथा उनलाई नै सही हुन्छ । बिना कुनै काम, पूर्वाधार उनले उद्घाटन गरेका अधिकांश कुराहरू केही महिनाभित्रै अस्तित्वविहीन भएका छन् । तर, उनी भने थप नयाँ उद्घाटन गर्न र घोषणा गर्नमा तल्लीन छन् ।

त्यसै गरेर बाबुरामका प्रधानमन्त्री हुँदादेखि अहिलेसम्मको स्थान त्यही चतुरे ज्वाइँले जस्तो उपलब्ध परिस्थितिको उपयोग गरेर हासिल गरेका छन् । अरू त अरू बाबुराम सबैभन्दा इमानदार र हिसिला सबैभन्दा बेइमान भन्ने काकतालीको संयोग उनैलाई परेको छ । यो इमानदार र बेइमानको पदवी मैले दिएको होइन, न यसको सत्यता वा असत्यतामा मेरो कुनै चासो छ । तर, सोच्नुस् एउटै मान्छेले पति इमानदार र पत्नी बेइमान भन्छ भने त्योभन्दा ठूलो ‘निदुलीको काल’ के होला ।