अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।
पाकिस्तानको सीमा क्षेत्रसँग नजिकै रहेको यस इलाका इस्लामिक स्टेट्स (आईएस) लगायतका आतंककारी संगठनको बासस्थानका रूपमा पनि चिनिन्छ । यस आतंककारी संगठनले यसअघि पनि बारम्बार आक्रमण गर्दै आएका बताइन्छ ।
स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजे आत्मघाती बम बोकेका एक आक्रमणकारीले विवाह समारोहमा विस्फोट गराएको नान्गाहार प्रान्तका गभर्नरका प्रवक्ताले जनाएका छन् ।
यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० घाइते भएका प्रवक्ताले बताए । पाचिरागम जिल्ला गभर्नर हज्रात खान खाक्सारले शुरुमा यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै १४ घाइते भएको जानकारी दिएका थिए ।
उक्त जिल्लामा बस्ने अफगान सरकार समर्थित लडाकुका एकजना कमान्डर मालिक टुरको घरमा सो आत्मघाती आक्रमण भएको अफगानिस्तानका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
के–कति कारणले सो आक्रमण भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ ।
प्रतिक्रिया