बेलायती तेलट्यांकरमा आक्रमण गरिएको छैन : इरान

बेलायती तेलट्यांकरमा आक्रमण गरिएको छैन : इरान


इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेलट्यांकरलाई होर्मुज स्ट्रेटमा अवरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेलट्यांकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ ।

इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घन्टामा बेलायतीसमेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ । बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीनवटा इरानी डुंगामा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेलट्यांकरमा आक्रमण प्रयास गरेको दाबी गरेको थियो । बेलायती युद्धपोत एचएमएस मोन्ट्रोजले इरानी आक्रमणलाई निस्तेज बनाएको पनि बेलायतको भनाइ छ ।

विदेशी जहाजलाई नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले कुनै पनि विदेशी जहाजलाई ‘तत्कालै, निर्णायक र तीव्रता’का साथ गर्न सक्ने इरानले जनाएको छ । जिब्राल्टरको तटीय क्षेत्रबाट गत जुलाई ४ मा इरानी तेल ट्यांकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुवै देशबीच तनाव जारी छ । करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ग्रेस १ नामको तेल ट्यांकर बेलायती रोयल मरिनको सहयोगमा जिब्राल्टरको भन्सार र प्रहरीले नियन्त्रणमा राखेको छ ।

इरानी सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै इरानी राष्ट्रपति रौहानीले बेलायतले होर्मुजको जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनी दिएका छन् । सोमबार मात्र इरानका रक्षामन्त्रीले बेलायती कदमको प्रतिवाद गरिने बताएका थिए । इरानी तेल ट्यांकरको नियन्त्रण सामुद्रिक डकैतीको संज्ञा दिँदै इरानका ब्रिगेडियर जनरल अमिर हतामीले यसलाई आफूहरूले कहिल्यै स्वीकार गर्न नसक्ने र त्यसको प्रतिकार गरेरै छाड्ने चेतावनी दिएका छन् ।