विषादी प्रकरणमा मलाई झुक्याइयो, क्षमाप्रार्थी छु : प्रधानमन्त्री

विषादी प्रकरणमा मलाई झुक्याइयो, क्षमाप्रार्थी छु : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् । उनले विषादी परीक्षण रोक्न भारतीय दूतावासले लेखेको पत्रबारे हप्ता दिनसम्म जानकारी नदिई गोप्य राख्दा आफू लज्जित हुनुपरेको भन्दै यस प्रकरणमा आफ्ना भनाइहरूप्रति क्षमा पनि मागेका छन् ।

संघीय मामला मन्त्रालयले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले ओलीले भने, ‘पत्र आएको रहेछ मलाई थाहा थिएन, जनतासामु मलाई झुटो बनाइयो, लज्जित हुनुपर्ने अवस्था बन्यो, यसमा मैले क्षमा माग्नुपर्छ । पत्र भारतबाट आएको धेरै दिन अघि रहेछ ।’

आफूलाई झुक्याएको विषय लापरबाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम भइरहेको उनले बताए । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, खाना शुद्ध हुनुपर्छ भन्ने सरकारको उद्देश्य रहेको बताए । उनले विषादी परीक्षण रोक्न भारतीय दूतावासले लेखेको पत्रबारे समयमै जानकारी नदिनेलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

नाकामा विषादी परीक्षण गर्ने निर्णयमा भारतीय दूतावासले पत्र पठाएपछि सरकार पछि हट्न लागेको समाचार आएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै भारतीय पक्षबाट त्यस प्रकारको कुनै पत्र नआएको दाबी गर्दै आएका थिए ।

२१ असारमा बसेको नेकपाको संसदीय दलको बैठकमा पनि त्यस्तो कुनै पत्र नआएको प्रधानमन्त्री ओलीले बताएका थिए । बैठकमा ओलीले भनेका थिए, ‘कस्तो पत्र ? कसले पठाएको पत्र ?’

तर, भारतीय दूतावासले असार १४ मा नै परराष्ट्र मन्त्रालयलाई सम्बोधन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय र खाद्यप्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई बोधार्थ दिँदै लेखेको पत्र २३ असारमा सार्वजनिक भएको थियो ।

यो पनि पढ्नुहोस्-

‘क्वारेन्टाइन षड्यन्त्र’मा प्रचण्ड !
https://ghatanarabichar.com/156905