मोस्ट वान्टेड नसिम अहमदको पक्राउप्रति सत्तारुढ दलको आपत्ति !

मोस्ट वान्टेड नसिम अहमदको पक्राउप्रति सत्तारुढ दलको आपत्ति !


■ श्याम क्षेत्री

नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाहले एक प्रेस विज्ञप्ति जारी गर्दै नसिमलाई तत्काल रिहाईको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेका छन् । राजनीतिक सहमतिअनुसार नसिममाथि लगाइएका मुद्धा फिर्ता भएको बखत उनलाई एकाएक प्रहरीले पक्राउ गर्नु दुःखद रहेको उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पार्टीका संगठित सदस्य मायादेवी गाउँपालिका वडा नं. ४ पिपराका नसिम अहमद खानसहित तत्कालिन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य) समूहका सबैले नेपालको संविधान स्विकार गरी मूल प्रवाहमा आउने वाचा गर्दै नेपाल सरकारसँग सम्झौता गरेका थिए । आफ्ना सबै हतियारहरु बुझाएर सामान्य जीवन बिताउने इच्छा जाहेर गर्दै सरकारद्वारा बनाइएका सबै आयोगहरुमा आफ्ना धारणा व्यक्त गरिरहेको र राजनीतिक गतिविधि गरीरहेका बेला एकाएक प्रहरीले पुराना मुद्धा ब्युँताई कारवाही अघि बढाउन खोजिनु आपत्तिजनक छ । तत्कालै सबै मुद्धा फिर्ता गरी रिहाई गर्न नेपाल सरकारसंग माग गर्दछौँ ।’

नेपाल प्रहरीको खोजी सूचीमा रहेका पक्राउ परेका खानविरुद्ध जिल्लामा करिव एक दर्जन हत्या, आतंक, लुटपाट, अपरहण लगायतका मुद्धा दर्तामा रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको सिनामंगलबाट शनिबार विहान नियन्त्रणमा लिएको थियो ।

कपिलवस्तुको सिमावर्ती क्षेत्र भएको एक कार्यक्रममा कृषिमन्त्री चक्रपाणी खनाल तथा कपिलवस्तुका तत्कालीन प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलसँगै देखिएका उनलाई पक्राउ गर्ने प्रहरीको प्रयास सफल हुन सकेको थिएन।

अपराध गर्ने र सशस्त्र समुहको नाममा वार्ता गर्ने सुविधालाई समेत उनले राम्रै सदुपयोग गरेका थिए । त्यसलाई सदुपयोग गर्दै तराईका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए ।

तर व्यक्तिगत घटना र बालक अपहरणपछिको हत्यालाई राजनीतिक मान्न नसकिने भन्दै अधिकारकर्मीहरुले आलोचना गर्न थालेपछि खांन अर्धभुमिगत जस्तै थिए । उनी प्रहरीको गिरफ्तारीबाट बच्न भारतीय सिमावर्ती बजारमा बस्ने गरेका थिए । कपिलबस्तु प्रहरी ले हिजो पक्राउपछि सार्वजनिक गरेको थियो।