पार्टी विधानबमोजिम एकाइहरू गठन हुने काङ्ग्रेसको प्रष्टोक्ति

पार्टी विधानबमोजिम एकाइहरू गठन हुने काङ्ग्रेसको प्रष्टोक्ति


विधानको व्यवस्थाभन्दा बाहिर केन्द्रीय सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचार निराधार भएको नेपाली काङ्ग्रेसले जनाएको छ । प्रेस विज्ञप्तिमार्फत् काङ्ग्रेसले नयाँ संविधानबमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरू गठन हुने स्पष्ट पारेको हो ।

नयाँ संरचना निर्माण बारे सार्वजनिक भएका अस्पष्टता र भ्रम निवाराणार्थ भन्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको जनाइएको छ । काङ्ग्रेसको विधानमा पार्टीको नयाँ संरचना गठनका लागि तदर्थ समितिको कुनै प्रावधान नरहेको जनाइएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार वैशाख २२ गते बस्दैछ । पार्टीले संशोधित विधान कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

सो बैठकले नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरुपका पार्टी संरचना निर्माण गर्ने सम्बन्धमा आवश्यक निर्णय लिने पनि बताइएको छ । केन्द्रीय समितिको बैठक लगत्तै नेपाल विद्यार्थी सङ्घ लगायतका भ्रातृ संस्थाहरु बारेका निर्णय आवश्यक परामर्शपश्चात हुने विज्ञप्तिमा जनाइएको छ ।

काङ्ग्रेसले आगामी भदौ २४ बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पूर्व नै संशोधित विधान अनुरुपका सबै संरचना निर्माण गर्ने घोषणा गरिसकेको छ । पार्टीको प्रथम चरणको जागरण अभियान मुलुकभर एकसाथ गत वैशाख २५ देखि जेठ २५ गतेसम्म भएको थियो । तेस्रो चरणको जागरण अभियान आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने काङ्ग्रेसले जनाएको छ ।