‘निर्दोष हत्यारा’ र सेनाको चरित्र

इतिहास



जंगबहादुरले माथवरलाई कुनै बदला लिने वा पुरानो इख साध्ने आशयले मारेका होइनन् किनभने माथवरले उनका दाइ देवीबहादुरको प्राण रक्षा गर्न ठाडै अस्वीकार गरेका थिए । जंगबहादुरले माथवरका छोरा रणोज्जललाई आफ्नै ज्यान जोखिममा राखेर सुरक्षा प्रदान गर्नु पनि यसको प्रत्यक्ष उदाहरण हो । रणोज्जलको सुरक्षाका लागि उनले आफ्नै दुई भाइलाई पठाएको रहस्य दरबारले थाहा पाएको भए जंगबहादुरको पनि ज्यान जाने निश्चित थियो । प्राणदण्डबाहेक उनले अर्को दण्ड पाउने थिएनन् । यो पनि नकार्न सकिँदै न देवीबहादुरलाई काटेर मार्ने काममा माथवरको सहमति हुनुअघिदेखि नै जंगबहादुरको मनमा द्वन्द्वभाव जागेको थियो ।

आफ्ना हठी मामाप्रति उनको कुनै मायामोह थिएन । हामीले यो पनि बिर्सनुहुँदैन । राजाज्ञा पालनका क्रममा यदि जंगबहादुरले मेरैविरुद्ध तरबार उठाउँछु भने पनि मैले उनलाई कुनै दोष दिनेछैन भनेर देवीबहादुर काण्डमा माथवरले खुला रूपमा आफ्नो मत प्रकट गरेका थिए । स्वतन्त्र रूपमा काम गर्न सक्ने एउटा लक्का जवान अफिसरमा यस्तो चरम दासत्वको भावना हुन सक्छ भनेर कसैले कल्पना नै गर्न सक्तैन । मामाको यही दासत्व प्रवृत्ति नै जंगबहादुरको मनमा उनीप्रति घृणा पलाउनुको प्रमुख कारण भएको थियो । त्यसका अतिरिक्त आफ्ना प्रिय दाइ देवीबहादुरलाई दिइएको प्राणदण्डले जंगबहादुरको मनमा अर्को क्षोभ पलाएको थियो । यसको जिम्मेवार उनले माथवरको नामर्द तथा निस्क्रिय व्यवहारलाई ठान्थे ।

अर्को कुरा, माथवरसिंह बेलाबेलामा अभद्र शब्द प्रयोग गरेर जंगबहादुरलाई अपमानित गर्थे । अत्यन्त संवेदनशील स्वभावका जंगबहादुरको हृदयमा यो अशोभनीय व्यवहारले विद्रोहको आगो सल्काएको थियो, तर उनले मामासँग त्यही अनुपातमा बदला लिन सक्तैनथे । माथवरसिंहले आफ्नो निमुखा भाञ्जालाई दिएका पीडा र यातनाका केही उदाहरण यहाँनेर वर्णन गर्नैपर्ने हुन्छ । त्यसले यो सिद्ध गर्नेछ– जंगबहादुरप्रति माथवरको हृदय अमैत्रीभाव वा छोटो विचारबाट मुक्त थिएन ।

एक दिन चाँदीको हौदावाला हात्तीमा सवार माथवरसिंहका अघिअघि सुनको हौदावाला हात्तीमा चढेका राजारानी इन्द्रजात्रा हेर्न गएका थिए । यसैबीच एउटा सानो हात्तीमा चढेका जंगबहादुरले उनीहरूलाई उछिने । जंगबहादुरलाई हात्तीमा चढेको देखेर माथवरसिंहको मनमा ईष्र्या जाग्यो । फलस्वरूप उनले भाञ्जालाई अत्यन्त व्यङ्ग्यात्मक शब्द प्रयोग गर्दै भने, ‘तिमी हात्तीमा चढेको देखेर मलाई असाध्यै खुसी लाग्यो ।’ उनले यसो भनेको बेला उनको मुखाकृति र शब्दालय अत्यन्त व्यङ्ग्यपूर्ण र खिसीयुक्त थियो । जंगबहादुरले पनि त्यो कठोर व्यङ्ग्यवाण मामातर्फ फर्काइदिए, ‘मामा प्रधानमन्त्री हुनुभएका बेलामा पनि हात्ती नचढे मलाई यस्तो अवसर फेरि कहिले प्राप्त होला ?’

त्यस्तै अर्को एकपटक जंगबहादुर आमालाई लिएर मामालाई भेट्न गएका थिए । भाइ माथवरसँग उनकी आमाको धेरै लामो समयदेखि भेट भएको थिएन– माथवरसिंहले दिदीसँग भेट हुनासाथ बोलेका शब्द यस्ता थिए, ‘तिमी मलाई भेट्न नआएको कैयौँ दिन भइसक्यो । शायद तिमीले आफ्नो छोरो भाइ माथवरसमान मर्यादित तथा प्रतिष्ठित भइसक्यो भन्ने ठानेकी हौली । त्यसैले बिनासूचना यहाँ उपस्थित हुन आएर मेरो मानहानि गऱ्यौ । मलाई अपशोच छ, तिम्रा छोरा अझै त्यो हैसियतमा पुगेका छैनन् ।’
जंगबहादुर मामाका कुरै नसुनेझैँ गरेर एकातिर लागे । माथवरले जस्तोसुकै गल्ती गरेको भए पनि एउटा निष्पक्ष द्रष्टाले स्वीकार गर्नुपर्छ, उनका ती गल्ती मात्र क्रोध र उनको बानीव्यहोराका कारण हुन गएका हुन् । उनको निजी र सरकारी क्रियाकलाप उनी मर्ने दिनसम्म पनि सरकारद्वारा स्वीकृत र अनुमोदित थिए । त्यसैले उनको मृत्यु राज्यद्वारा नभएर कुनै व्यक्तिद्वारा हुन गएको थियो । स्वार्थगत अभिप्रायले व्यक्तिद्वारा गरिएको हुँदा उनको मृत्युलाई निजी हत्या भनेर मान्नुपर्दछ ।

त्यसैले यो हत्याको आरोप एउटा न एउटालाई लगाउनैपर्दछ । म यो प्रमाणित गर्ने प्रयास गर्दै छु । माथवरसिंहविरुद्ध जंगबहादुरको मनमा जस्तोसुकै तुष र ईष्र्या भए तापनि त्यसमा व्यक्तिगत रिसइबी थिएन । त्यसले उनलाई मामाको हत्या गर्ने कार्यमा प्रेरित गरेको थिएन । त्यसबेलाका न्यायनिसाफका क्षेत्रमा सबैले मानेका बुजु्रकका मतमा पनि यही धारणाले ठाउँ पाएको थियो । कर्णेल लरेन्स भन्छन्, ‘मेरा विचारमा जंगबहादुरको नैतिक चरित्र कमजोर भए पनि यस हत्याकाण्डमा उनी निर्दोष थिए ।’ सर्वोच्च दर्जाका एकजना अधिकारी सर हेनरी लरेन्सको यो अन्तर्भावना र अनुभूतिले पनि माथवरको हत्याको आरोपसम्बन्धी प्रश्नको अन्तिम टुङ्गो लगाउँछ । जंगबहादुरलाई यसबाट उन्मुक्ति मिल्छ । यो हत्याको लगत्तै पछि शहरका मुख्यमुख्य नाकामा र दरबारमा तीन दिनसम्म सशस्त्र सैनिक दलले चौतर्फी पहरा दियो किनभने आफ्ना प्रिय कमान्डरको मृत्युको खबर सुनेर सैनिक वृत्तमा विद्रोह हुन सक्छ भन्ने राजालाई डर लागेको थियो, तर त्यस्तो विस्फोट केही भएन ।

हत्या गरिएका सैनिक कमान्डरको ज्यानको बदला ज्यान लिने विषयमा कसैले औँला ठड्याएन । सबै शान्त भए । यसले नेपाली सेनाको चरित्रको सर्वोच्च प्रतिष्ठाको प्रतिबिम्ब झल्काउँछ । डा. ओल्डफिल्ड भन्छन्, ‘नेपाली सेना जहिले पनि र जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि सत्ताधारी शक्तिकै पक्षमा बफादार रहन्छ । उसले कानुन र व्यवस्थाको पालना गर्छ, चाहे ती राजा, रानी, राजकुमार वा प्रधानमन्त्री नै किन नहुन् सेना आफ्नो कर्तव्य निर्वाह गर्न चुक्दैन । उसले दायाँबायाँ केही हेर्दैन ।’ कुनै प्रकारको विप्लव र विद्र्रोहको खतरा नदेखेपछि, राजाले माथवरका केही सहयोगीलाई जेल पठाए र केहीलाई देश निकाला गरे ।

(पद्मजंग राणाद्वारा लिखित ‘जंगबहादुरको जीवन यात्रा’बाट । अनुवादक : रामबहादुर पहाडी)

प्रतिक्रिया