‘थाई एयर एशिया’ बैंकक–काठमाडौँ उडान भर्न इच्छुक

‘थाई एयर एशिया’ बैंकक–काठमाडौँ उडान भर्न इच्छुक


एयर एशिया ग्रुपअन्तर्गतको वायु सेवा प्रदायक कम्पनी थाई एयर एशियाले बैंकक–काठमाडौँ गन्तव्यमा उडान विस्तार गर्न पहल थालेको छ । थाई एयर एशियाले नेपाल उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको हो ।

बैंककाट–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा जनाउँदै थाई एयर एशियाले हालै निवेदन दिएको र सम्पूर्ण कागजातबारे अध्ययन भइरहेको प्राधिकरणका एक उच्च अधिकारीले राससलाई जानकारी दिए । ‘थाई एयर एशियाले काठमाडौँ उडान गर्ने योजना अनुरुप प्राधिकरण समक्ष निवेदन दिएको छ । उसको एयर एशिया एक्ससँगको सम्बन्ध, अन्तराष्ट्रिय उडानका मापदण्ड पूरा गरेको छ की छैन यो सबै विस्तृत अध्ययन गरेपछि मात्र उडान अनुमति दिइन्छ । अहिले कम्पनीले पेश गरेको कागजातको अध्ययन प्रक्रियामा छ’, उनले भने ।

प्रारम्भिक काजजात बुझाएको बताइएको छ । सबै प्रक्रिया पूरा गरेको भए दुई महीनाभित्र उडान अनुमति पाउने प्राधिकरणले जनाएको छ । थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज र निजी क्षेत्रको थाई लाइन एयरले बैंककाट–काठमाडौँ गन्तव्यमा सातामा समान सात उडान गर्दै आएका छन् । नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बैंकक सातमा तीन उडान गर्दै आएको छ ।

अहिले नेपाल आउन चाहेको थाई एयर एशिया पनि निजी क्षेत्रको संयुक्त लगानीको कम्पनी रहेको छ । बैंकक मुख्यालय रहेको यो कम्पनी मलेसियाको एयर एशियासँग ‘ज्वाइन्ट भेन्चर’ को रुपमा रहेको छ । यसको एयर एशिया एक्ससँगको सम्बन्धका बारेमा नेपालले अध्ययन गरिरहेको छ । एयर एशियाले क्यानलाई करोडौँ बक्यौता नतिरी काठमाडौँ उडान केही महीना अगाडि बन्द गरेको थियो ।

प्राधिकरणको व्यवस्था बमोजिम नयाँ वायु सेवा प्रदायक कम्पनीले उडान अनुमतिका लागि बुझाउनुपर्ने सम्पूर्ण कागजात विस्तृत अध्ययन गरेपछि मात्र प्राधिकरणले उडान अनुमति दिन्छ । थाई एयर एशियाको मलेसियाको एयर एशिया एक्ससँगको सम्बन्ध भए नभएको पनि अध्ययन भइरहेको क्यानले जनाएको छ । यदि उक्त कम्पनीसँगको संयुक्त लगानी रहेमा एयर एशियाको बाँकी बक्यौता तिरिदिने सम्झौता भएको खण्डमा थाई एयर एशियालाई उडान अनुमति दिन सकिने क्यानले जनाएको छ ।

त्यतिमात्र नभई थाई एयर एशियाको सञ्चालन, व्यवस्थापन सुरक्षा र नेपालको कानूनसँग सञ्चालन योग्य हुन्छ की हुँदैन यो सबै हेरेर मात्र उडान अनुमति पाउनेछ । कम्पनीका कागजात नेपाली पाइलट र इञ्जिनीयरले अध्ययन गरेर उडान योग्य भएको सिफारिस गरेपछि मात्र प्राधिकरणले अनुमति दिने बताइएको छ ।

नेपालमा उडान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पनि थाई एयर एशियाले प्राधिकरणलाई पत्र पठाएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार थाई एयर एशियाले विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पत्र पठाएको छ ।

उक्त कम्पनीको टोलीले नेपालमा उडान गर्नुअघि विमानस्थलको सुरक्षा मूल्याङ्कन गर्न पाँच वटा पास पनि मागेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हाल तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् ।