देउवाले प्रतिनिधिको राय-सुझाव ग्रहण गर्ने !

देउवाले प्रतिनिधिको राय-सुझाव ग्रहण गर्ने !


नेपाली काङ्ग्रेसका नेताहरुले जागरण अभियानले सङ्गठनलाई अझ बलियो र प्रभावकारी बनाउँदै जनस्तरमा लैजान थप उत्साह थपेको बताएका छन् । पार्टीले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस’ राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तर्क्रियाका सहभागीले अभियानले पार्टीलाई थप ऊर्जा प्रदान गरेको बताएका हुन् ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियानले पार्टी सङ्गठन विस्तारमा थप बल पुऱ्याएको दाबी गरे । विसं २०४८ पछि पार्टीले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको भन्दै उनले जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिको राय सुझावलाई ग्रहण गरेर आगामी दिनमा पार्टी अगाडि बढ्ने बताए ।

जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले दिएको राय सुझावबारे आगामी केन्द्रीय समितिको बैठकमा छलफल गरिने पार्टीका अन्य शीर्षस्थ नेताहरूले अभिब्यक्ति दिए ।

हिजो बुधबारबाट शुरु भएको छलफल तथा अन्तक्र्रियामा बुधबार २६ तथा आज (बिहीबार) ५४ केन्द्रीय प्रतिनिधिले आफ्नो राय सुझाव प्रस्तुत गरेका थिए । बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्ने लगायतका विषयमा छलफल भएको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रुपमा गोरखा खटिनुभएका नेता रामचन्द्र पोखरेलले जानकारी दिए ।

अभियानका क्रममा काङ्ग्रेसले एक महीनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो । काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ ।