राजस्व चुहावटको ८१ वटा कसुरमा २ सय ३८ व्यक्तिउपर मुद्दा

राजस्व चुहावटको ८१ वटा कसुरमा २ सय ३८ व्यक्तिउपर मुद्दा


सरकारी आँखा कान छलेर राजस्व चुहावट गर्ने र गराउनेको बिगबिगी छ । सरोकारवाला निकाय चुहावट नियन्त्रणमा ठूलै संयन्त्र प्रयोग भएको र कारबाही भएको दावी गर्छ । तर जनाकार भने राजस्व छलीमा बैंक, राजस्व प्रशासन र व्यापारीको साँठगाँठ भएको दावी गर्छन् ।

चालू आर्थिक वर्षमा मात्रै राजस्व चुहावटको ८१ वटा कसुरमा २ सय ३८ व्यक्तिउपर मुद्दा दायर भएको छ । विभागले राजस्व छलीमा संलग्न भएकाहरुलाई बिगो र जरिवानाबापत १८ अर्ब ३२ करोड रुपैयाँ र तीन वर्षसम्मको कैदसहित माग दावी गरेको छ । पछिल्लो समय नक्कली बिल बिजक तयार पारी कारोबार गर्ने, बिल बिक्रि गर्ने र नक्कली कम्पनी खडा गरी राजस्व संकलनमा प्रभावित पार्ने काम बढेपछि विभागले निगरानी बढाएको राजस्व अनुसन्धान विभाग महानिर्देशक दीर्घराज मैनाली बताउँछन् । उनका अनुसार विभागले सुन भन्सार चोरी पैठारी कसुरमा ६६ दशमलव ४० किलो सुन बरामद गरेको छ । ‘विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ वटा मुद्दामा संलग्न १ सय ४ जना विदेशीविरुद्ध मुद्धा दायर भएको छ ।’ उनले भने, ‘उनिहरुलाई विनिमय अपचलन तथा हुण्डीको कसुरमा ५ अर्ब ११ करोड रुपैयाँ बिगो कायम गरी बिगोको तेब्बरसम्म जरिवाना र तीन वर्षसम्मको कैद माग दाबीसहित मुद्दा दायर गरिएको छ ।’

आठ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल बनाउने धन्दा एकपछि अर्को गर्दै मौलाउन थालेको छ । तर पूर्व कार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्री भने राजस्व छलीमा बैंक, राजस्व प्रशासन र व्यापारीको साँठगाँठ भएको देख्छन् ।

तर विभागले भने राजस्व छली तथा आर्थिक अपराधका जोखिमयुक्त क्षेत्रमा अनुसन्धान र कारबाहीको काम अघि बढाइरहेको विभागका महानिर्देशक मैनाली बताउँछन् । राजस्वको क्षेत्रमा निगरानी बढाएपछि राजस्व संकलनमा सुधार आएको दावी विभागको छ । सरकारी नियामक निकायले विलबिजक नखोज्नु, महिनैपिच्छे बैंक स्टेटमेन्ट नहेर्नु र विगतका विलहरुको चासो नराख्नुले पनि राजस्व छली व्यापक रुपमा छाएकोप्रति राजस्वकर्मीहरु चिन्तित छन् ।