विपद् व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

विपद् व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय


सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्वतयारी गरिएको जनाएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले सबै प्रदेशका विभिन्न रणनीतिक स्थानमा खोज उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताए । त्यसक्रममा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति भएको, जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याइसकेको तथा स्थानीय तहमा समेत पूर्वतयारी तथा प्रतिकार्यका लागि सक्रिय रहने व्यवस्था मिलाइसकेको उनले जानकारी दिए ।

विपद् व्यवस्थापनको आपतकालीन कार्यको समन्वय गर्न केन्द्रमा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रदेशस्तरमा २ र ५ मा बाहेक ५ प्रदेशमा आपतकालीन केन्द्र तथा ५२ जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा रहेको जानकारी दिइयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मानवीय सहायतास्थलबाट गत वर्ष नै सातवटै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा विपद् पूर्वतयारीका लागि टेन्ट, (त्रिपाल), डोरी, जेनेरेजटर र प्लास्टिक सिटलगायतका सामग्री भण्डारणमा रहेको सरकारले जानकारी गराएको छ ।

नेपाली सेनाद्वारा विपद् पूर्वतयारीका लागि इटहरी, काठमाडौं र सुर्खेतमा हेलिकोप्टरसहितको खोज उद्धार टोली मनसुन सक्रिय भएपश्चात् तयारी अवस्थामा रहने व्यवस्था मिलाइसकिएको पनि बैठकमा जानकारी दिइयो । केन्द्रीय विपद् व्यवस्थापन कोषमा अहिले रु. एक अर्ब ५३ करोड ३९ लाख २६ हजार रकम मौज्दात रहेको छ । विषम भूबनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, जलवायु परिवर्तन, जनसंख्या वृद्धि, अव्यवस्थित बसोवास र सहरी विकासका कारण नेपालमा प्राकृतिक प्रकोपका घटनाबाट वर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ ।

विश्वमा प्राकृतिक प्रकोपका धेरै घटना हुने मुलुकको सूचीमा नेपाल २० नम्बरभित्र पर्दछ । प्राकृतिक विपद्का घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण र घटनापछि नागरिकमा पु¥याउनुपर्ने आधारभूत सेवामा कमी हुन नदिन पूर्वतयारीले ठूलो भूमिका निर्वाह गर्दछ ।

समितिले आगामी मनसुनमा बाढी, पहिरो, नदी कटान, हावाहुरी चट्याङ, आँधिबेहरीबाट हुन सक्ने जनधनको क्षतिको आकलन र विश्लेषण गरी सुरक्षा निकाय, संघीय, प्रादेशिक र स्थानीय समितिको समन्वयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न व्यवस्थित पूर्वतयारी एवं प्रतिकार्य योजना बनाएर काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले भनेको छ– विपद् जोखिम व्यवस्थापन कार्यमा एकरूपता ल्याउन, पूर्वतयारी, प्रतिकार्य, पुनर्वास र पुनर्निर्माणका लागि सम्बन्धित निकायबीच समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण यथाशीघ्र गठन गर्नेतर्फ ध्यान दिइयोस् ।

यसअघि बैठकमा सांसद रेखा शर्मा, महेश्वरजंग गहतराज, दिलेन्द्रप्रसाद बडू, जनार्दन शर्मालगायतले जोखिम क्षेत्रको पहिचान, खोज, उद्धार र राहतका लागि प्रभावकारी संयन्त्र निर्माण, उचित स्थानमा सामग्रीको भण्डारणको आवश्यक प्रबन्ध मिलाउन सरकारको ध्यानकर्षण गराएका थिए ।
rss