खर्च अभाव झेल्दै बालगृह, सरकारी बेवास्ता

खर्च अभाव झेल्दै बालगृह, सरकारी बेवास्ता


अनाथ, असहाय, विपन्न र पिछडिएका बालबालिका पाल्दै आएकी उषा कार्कीलाई अहिले खर्चको पिरलो छ । दैनिक हुने खर्च र यसको व्यवस्थापनमा लाग्ने रकम अभावले गर्दा उनले सञ्चालन गरेको बालगृह अहिले समस्याको चपेटामा परेको हो । वर्षौंदेखि निजी खर्चबाट रकम जोहो गरेर बालगृह चलाएकी कार्कीलाई दैनिक खर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।

उनले सञ्चालन गरेको बालगृहमा अहिले २० जना बालबालिका छन् । काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित लवप्रसाद सुधार सङ्घ (लवप्रसाद बालगृह) सञ्चालन गरेको १० वर्ष नाघिसक्यो । यस अवधिमा उनले सरकारका विभिन्न निकायसँग हारगुहार गरिन्, तर कतैबाट सहयोग पाइनन् ।
आफ्नो सम्पूर्ण जीवन समाजसेवामा खर्चेकी उषा कार्कीले कमजोर आर्थिक परिवारका खान–लाउन नपाएका, पढ्न नपाएका, अभिभावक गुमाएका र विभिन्न कारणले बेसहारा बालबालिकालाई ल्याएर बालगृह सञ्चालन गरेकी हुन् । बालगृहमा भएका बालबालिका हुर्काउन उनले आफ्नो धेरै सम्पत्ति खर्च गरिसकिन् ।

आफ्नै सम्पत्ति खर्चेर पनि उनले बेसहारा बालबालिका हुर्काउन छोडिनन् । अहिले उनलाई खर्चको अभाव छ । खर्चको अभाव भएपछि उनी सरकारी निकायमा धाउन थालिन् । कतैबाट सुनुवाइ भएन । ‘मैले यी बालबालिकाको भविष्य बनाउन सरकारलाई गुहारेँ, तर कुनै निकायले वास्ता गरेनन्,’ लवप्रसाद बालगृहकी संस्थापक अध्यक्ष रहेकी कार्कीले भनिन्, ‘आफ्नै खर्चले धान्न मुस्किल परिरहेको छ ।’ सरकारले बालगृह अनुगमन गरेर आवश्यक खर्च दिनुपर्ने उनको माग छ । उनले गैरसरकारी क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूप्रति पनि गुनासो गरिन् । ‘यति धेरै एनजीओ/आईएनजीओहरू छन्, तर सही ठाउँमा रकम बालबालिकालाई खर्च गरेका छैनन्,’ उनले भनिन् । मैले धेरै संस्थाहरूसँग अनुरोध गरेकी छु, कसैले पनि सहयोग गरेनन्– उनको गुनासो छ ।

उषा कार्कीले समाजसेवामै आफ्नो जीवन अर्पण गर्दे आइन् । उनले अपाङ्गहरूको लागि काम गरिन् । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा रहेर काम गरेकी उनले धेरै अपाङ्गलाई पुनर्जीवन दिएकी छिन् । अहिले यही केन्द्रमा चमेनागृह चलाएर बालगृहको खर्च धानिरहेकी छिन् । बालगृह सञ्चालन गर्दा भएको सबै सम्पत्ति सकेकी उनले खर्चको जोहो गर्न चमेनागृह चलाउन थालेकी हुन् । ‘यिनै बालबालिकालाई खुवाउन, हुर्काउन र पढाउन चमेनागृह चलाएकी हुँ,’ उनले भनिन्, ‘यिनै अपाङ्गहरूको सेवामा पनि काम गरेकी छु, चमेनागृहको आम्दानीले बालगृह येनकेन धानिरहेकी छु ।’ आम्दानीले धान्न नसक्दा कैयौँ पटकले उनले ऋण खोजेर बालगृहको खर्च टार्नुपरेको दुखेसो पोखिन् ।

कार्की जहाँ घुम्न गइन्, त्यहाँ दुःख पाएका बालबालिकालाई आफ्नो बालगृहमा ल्याइन् । कोमल र सहयोगी मनकी धनी उषा कार्कीले चितवनका १५ चेपाङ बालबालिका ल्याएर पालिरहेकी छिन् । उनको बालगृहमा दुर्गम हुम्लासम्मका बालबालिका छन् । हाल २० जना बालबालिका रहेको उनको बालगृहमा साना नानीहरूदेखि कक्षा आठसम्म पढ्ने बालबालिका छन् । उनले अझै धेरै दुःख पाएका बालबालिका ल्याएर हुर्काउने योजना बनाएकी छिन् । तर, यही भएका बालबालिकालाई खर्च नपुगेपछि उनको योजना अहिले अधुरो रहेको छ । कार्की संस्थापक अध्यक्ष रहेको यो बालगृहको अहिले मासिक खर्च एक लाख रुपैयाँभन्दा बढी छ । नगरपालिका कार्यालय, विभाग र मन्त्रालयले आवश्यक अनुमगन गरेर सहयोग गर्नुपर्ने बालगृहका अन्य सदस्यहरू बताउँछन् । यस्तो संवेदनशील सेवामूलक काममा राज्यको भरपूर सहयोग हुनुपर्ने बालगृह सञ्चालक समितिका उपाध्यक्ष सुनीलकुमार बाँस्तोलाले बताए । थप बालबालिका राख्ने योजना खर्च अभावले पूरा हुन नसकेको उनले सुनाए ।

सुन्दरीजलमा रहेको यो बालगृहको भवनमा अहिले पर्खाल लगाउने काम भइरहेको छ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सात लाख ५८ हजार ५५ रुपैयाँको लागतमा ९६ मिटर लामो पर्खाल निर्माण भइरहेको हो । यो पर्खाल निर्माण सम्पन्न भएपछि बालगृहभित्र सुरक्षा अवस्था मजबुत हुने संस्थापक अध्यक्ष कार्कीले जानकारी दिइन् । सरकारले यो बालगृह चलाउन दैनिक खर्चका लागि सहयोग गर्नुपर्ने उनको माग छ । बालबालिका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थालाई समेत सहयोग गरिदिन उनले माग गरिन् । आफ्नै खर्चमा बेसहारा बालबालिका हुर्काएकी उषा कार्की यो क्षेत्रकै समाजसेवा क्षेत्रमा काम गरेर निकै कहलिएकी छिन् ।