प्रधानमन्त्रीले चाहेको बेला मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ : प्रचण्ड

प्रधानमन्त्रीले चाहेको बेला मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ : प्रचण्ड


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । प्रेस संगठन नेपाल कास्कीद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ । तर, यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेको बेला मात्र पुनर्गठन हुन्छ ।’

अध्यक्ष प्रचण्डले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट दुई अध्यक्षबीच छलफल भएको चर्चा गर्दै यहाँबाट फर्केपछि दुई अध्यक्षबीच अरू यावत् विषय टुंग्याउने ढंगले कुरा हुन्छ, त्यसपछि मात्र ठोस रूपमा भन्न सकिन्छ, अहिले नै पुनर्गठनको निर्णयमा पुगिएको छैन भने ।

पार्टी सञ्चालन र सरकार सञ्चालनका सम्बन्धमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेका विषय भएको उल्लेख गर्दै उनले यी विषय नयाँ नभएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले दुई पार्टीको एकीकरण आफैँमा महान् कुरा भएको बताउँदै राष्ट्रको समृद्धिका लागि यो महत्वपूर्ण छ, पार्टी एकता गरेर जनताले अनुमोदन गरिसकेको अवस्थामा फेरि त्योभन्दा बाहिरबाट गतिविधि जोकोहीले गरे पनि सैह्य नहुने धारणा व्यक्त गरे ।

सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरिसके पनि त्यसमा प्रगति हुन नसकेको उल्लेख गर्दै उनले विप्लवले लिएको बाटो देश र स्वयं उनका लागि पनि हितकर नहुने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारले गुठी विधेयक फिर्ता लिएको प्रसंग उल्लेख गर्दै उनले सरकार जनताप्रति जिम्मेवार छ र पेलेर जाने पक्षमा छैन भन्ने स्पष्ट देखिएको बताए ।

मिडिया काउन्सिललगायतका विधेयकमा देखिएका समस्या संसदीय प्रक्रियाबाट संशोधन एवं परिमार्जन गरिनेमा जोड दिँदै उनले विगतमा सरकार र पार्टीभित्र पर्याप्त गृहकार्यको कमी र ल्याएका विधेयकबारे बुझाउन नसक्दा पनि समस्या आएको धारणा व्यक्त गरे । अध्यक्ष प्रचण्डले आगामी दिनमा सरोकारवालासँग छलफल गरेर मात्र अघि बढिने बताउँदै पार्टीलाई गतिशील बनाउँदै जनतासँग जोड्न एकता प्रक्रियालाई अन्तिम रूप दिने कसरत भइरहेको जानकारी दिए । एकीकरणका बाँकी कामबारे प्रधानमन्त्रीसँग लामो छलफल भएको र पर्सि सचिवालय बैठक बसी केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड एवं एकताका अन्य बाँकी काम सम्पन्न गरिने पनि उनले बताए ।

अध्यक्ष प्रचण्डले सरकारका काम प्रभावकारी बनाउन छलफल भइरहेको चर्चा गर्दै पहिलो वर्षलाई आधार वर्षका रूपमा लिँदै यस अवधिमा संवैधानिक, कानुनी एवं विकास पूर्वाधारका काम अघि बढेको बताए । यस अवधिमा छिमेकीसँगको सम्बन्धमा समेत महत्वपूर्ण उपलब्धि भएको उनले बताए । वर्तमान परिवर्तन विगतको जस्तो मात्रात्मक परिवर्तन मात्र नभएको बताउँदै उनले व्यवस्थामा नै परिवर्तन भएका कारण केही मात्रामा जटिलता आउनु स्वाभाविक भएको धारणा व्यक्त गरे । अध्यक्ष प्रचण्डले सरकारको यस वर्षको नीति तथा कार्यक्रम एवं बजेट उत्साहप्रद र सन्तुलित भएको बताए ।

रासस