बिहेको उमेर नहुँदै गर्भपतन

बिहेको उमेर नहुँदै गर्भपतन


स्याङ्जामा बिहे गर्ने उमेरअगावै गर्भपतन गराउने किशोरीको संख्या बढदै गएको छ । नेपालको कानुनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर, बिहे गर्ने उमेरअगावै गर्भपतन गराउने किशोरीको संख्या स्याङ्जामा बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमि रेनुका शर्माले बताइन् ।

महिनामा ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने गरेको उनले बताइन् । अनमि शर्माले भनिन्, ‘१३ देखि २० वर्षभित्रका अविवाहित किशोरीसमेत गर्भपतन गराउनका लागि आउने गरेका छन् ।’ श्रीमान वैदेशिक रोजगारीमा भएका महिला बढी आउने गरेको शर्माको भनाइ छ ।

जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डाक्टर अमृत पोखरेलले जिल्लामा असुरक्षित रूपमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको बताए । १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी मान्यता रहे पनि लिंग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि समस्या भएपछि अन्तिम अवस्थामा आफूहरूकहाँ आउने गर्दा रगत कमीलगायत अन्य विभिन्न प्रकारका समस्या हुने गरेको उनको भनाइ छ ।

परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ताभन्दा गर्भपतन गराउन आउनेको संख्या बढी भएको बताउँदै उनले विद्यालय र क्याम्पसमा यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

जिल्लामा गर्भपतन गराउने १९ संस्था सूचीकृत भएका छन् । चालू आर्थिक वर्षमा ८८४ जनाले गर्भपतन गराएका छन् । जसमध्ये वालिङमा रहेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३२७ जनाले सेवा लिएको र जसमा ३६ जना २० वर्षभन्दा मुनिका रहेका छन् भने २९१ जना २० वर्षभन्दा माथिका रहेको सो केन्द्रले जनाएको छ ।

ग्रौघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले अधिकांश किशोरीले क्लिनिकमा पाइने गर्भ नरहने औषधिसमेत प्रयोग गर्ने गरेको जानकारी दिए ।