दुबै हात गुमाएकी चेलीलाई महिला समूह ओमानबाट सहयोग

दुबै हात गुमाएकी चेलीलाई महिला समूह ओमानबाट सहयोग


  • आरके श्रीवास्तव, ओमान

करेन्ट लागेर दुबै हात गुमाएकी एक नेपाली चेलीको निम्ति नेपाली महिला समूह ओमानले सहयोग रकम पठाएको छ । प्रदेश १ विराटनगर निवासी मेघा घिमिरेको दयनीय अवस्थालाई मध्यनजर गर्दै संसारभर छरिएर रहेका नेपालीजनबाट उनको कृत्रिम हात जडान गर्नको लागि सहयोग जुटाउने अभियान चलिरहेको परिप्रेक्ष्यमा ओमानस्थित नेपाली महिला समूह ओमानले आर्थिक सहयोग पठाएको हो । मेघा हाल काठमाडौंमा उपचार गराइरहेकी छिन् ।

आर्थिक सहयोग गर्ने निर्णयका साथ विभिन्न सार्वजनिक कार्यक्रमहरूमार्फत महिला समूहले सहयोग संकलन गरेको थियो । ‘सेवा नै धर्म हो’ भन्ने मान्यताअनुरूप समूहले १ लाख ५१ हजार १३ रूपैयाँ आर्थिक सहयोग रकम जुटाएर पठाएको हो ।

सन् २०१२ मा स्थापना भएको महिला समूहले आरम्भदेखि नै विभिन्न समयमा यसरी सहयोग पठाउँदै आएको छ । गत वर्ष पनि चितवनका बाढिपीडितहरूको लागि समूहले एउटा घर बनाइदिएको थियोे ।

मेघा घिमिरेलाई सहयोग रकम पठाउने अभियानमा नेपाली महिला समूह ओमान, तामाङ समाज ओमान, बुद्ध भिजन ओमान, जन सम्पर्क समिति, मगर समाज ओमान, तमु समाज ओमान, गुल्मी समाज ओमान सहित दर्जनौँ व्यक्ति–व्यक्तित्वहरू सहभागी भई सहयोग संकलन गरेको थियो ।

संकलित रकम इन्द्रेणी कार्यक्रमको कार्यालयमा गत जेठ ३१ गते एक कार्यक्रम आयोजना गरी महिला समूह ओमानकी सल्लाहकार विमला भट्टराईले मेघा घिमिरेलाई हस्तान्तरण गर्नुभएको महिला समूह ओमानकी अध्यक्ष उमा आचार्यबाट जानकारी मिलेको छ । सम्पूर्ण सहयोगदाता संस्था तथा ब्यक्तिप्रति नेपाली महिला समूह ओमान परिवारले हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेको छ ।

ढिलो गरी मनाइयो बुद्ध जयन्ती

नेपाली बुद्ध भिजन ओमानको आयोजनामा बुद्ध जयन्ती भव्य रूपमा मनाइएको छ । रमदान र इद पर्वका कारण केही ढिला गरी बुद्ध जयन्ती मनाइएको आयोजक संस्थाले जनाएको छ ।

राजधानी मस्कटस्थित अलमहा इन्टरनेशनल होटल गोब्रामा १४ जुन २०१९ शुक्रबार मनाइएको बुद्ध जयन्ती समारोहमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले दीप प्रज्ज्वलन गरी कार्यक्रम प्रारम्भ गर्नुभएको थियो भने लामा गुरु नेपाली बुद्ध भिजन ओमानका अध्यक्ष ङेमा तामाङद्वारा पूजापाठ र बौद्धिक विशिष्टबाट भगवान बुद्धका बारेमा प्रवचन गरिएको थियो ।

लक्ष्मी तामाङद्वारा प्रस्तुत कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो भने अल मुधिस कम्पनीद्वारा मुख्य प्रायोजन गरिएको कार्यक्रमको प्रमुख आकर्षण चिरन्जीवी प्याकुरेल र दीपक लामाबाट निर्मित ९ फिट अग्लो बौद्ध स्तुपा रहेको थियो ।

राजदुत ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा एनआरएन सचिव डीबी क्षत्री, एनआरएन सोसल क्लब ओमानका अध्यक्ष दीपक श्रेष्ठ लगायत ओमानमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिसहित दर्जनौं नेपाली तथा बुद्ध धर्मावलम्बीहरूको सहभागिता रहेको बुद्ध भिजन ओमानका सचिव कृष्णलाल लोपचनले जानकारी दिए ।