पाल्पामा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुग्यो

पाल्पामा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुग्यो


निस्दी गाउँपालिका पाल्पामा जंगली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको संख्या ६ पुगेको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जंगली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी– ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी, चार वर्षीय विष्णुसिं ठकुुरी, सात वर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको संघीय सांसद दलबहादुर रानाले जानकारी दिए ।

बिरामीमध्ये निर्मलाको मध्यबिन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंका विभिन्न अस्पतालमा निधन भएको हो । नजिकैको जंगलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए । बिरामीलाई नवलपरासीको मध्यबिन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंंलगायत काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता भएका छन् । अन्य बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ७० किलोमिटर पूर्वसार्कीडाडाँका विकटका चार परिवारका सदस्य बिरामी परेका हुन् । प्रतिनिधिसभा सदस्य रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए । बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यवस्था सन्दर्भमा शुक्रबार कावा प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद रानाले बताए ।

आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुग्नुभएका सांसद रानाले मृतकका परिवारलाई उचित राहत प्रदान गर्न र बिरामीको सबै स्वास्थ्योपचार सेवा सरकारबाट व्यहोर्न पहल गरिएको जानकारी दिए । उनले पटकपटक पाल्पाका विकट भेगमा च्याउ खाएकै कारण ज्यान जाने खतरा यसअघि पनि भएकाले च्याउ खाँदा सचेत रहन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलीका साथ सबै बिरामीको स्वास्थ्यलाभको कामना गरेका छन् ।