जाली नोटको कारोबारमा वीरगञ्ज ट्रान्जिटप्वाइन्ट

जाली नोटको कारोबारमा वीरगञ्ज ट्रान्जिटप्वाइन्ट


  • अमित शाह

बारा र पर्सामा भारतीय जाली नोटको कारोबारले व्यापकता पाएको छ । पाकिस्तानबाट काठमाडौंसम्म हवाईमार्गको प्रयोग र त्यसपछि स्थलमार्ग हुँदै बारा–पर्साका सीमाक्षेत्रबाट भारतीय जाली नोट भित्रिने गरेको सूत्रको दाबी छ । बताइएअनुसार पाकिस्तानमा उत्पादन भएका दुई हजार, एक हजार र पाँच सय दरका जाली नोट कारोबारीहरूले लाखौँको हिसाबले भारतका विभिन्न राज्यमा पुऱ्याउने गरेका छन् । वीरगञ्ज नगरक्षेत्रमा प्रायः जाली नोटका कारोबारमा बेरोजगार युवाहरू संलग्न रहेको स्रोतको भनाइ छ ।

काठमाडौंबाट रात्रिबस वा निजी सवारीसाधनमा छिपाएर ल्याइने त्यस्ता नोट जाली नोट कारोबारीहरूले प्रतिलाख २५–३० हजार नेपाली रुपैयाँ दिएर युवा ‘भरिया’मार्फत भारत बिहारको रक्सौलसम्म पुऱ्याउन लगाइने बताइन्छ । नेपालको मूल नाका वीरगञ्ज भन्सारबाट जाली नोटका कारोबारीले भरियाहरूलाई स्कार्पिओ, टाटासुमोजस्ता निजी सवारीसाधनका सिट या इन्जिनमुनि छिपाएर सीमा कटाउँछन् ।

सूत्रका अनुसार हालै पाकिस्तानबाट ल्याइएको जाली आईसीसहित युनुस अन्सारीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि केही दिनका लागि जाली धन्दा रोकिएको थियो । तर, वीरगञ्ज नाकाबाट पुनः उक्त अवैधानिकधन्दा शुरु भइसकेको छ । छिमेकी भारतको अर्थतन्त्र तहसनहस पारेर यस क्षेत्रमै नकारात्मक उथलपुथल ल्याउन सक्रिय अन्तर्राष्ट्रिय तस्करहरूको यस दुस्कर्ममा वीरगञ्जकै केही परिचित व्यक्तिहरूसमेत संलग्न रहेको सूत्रले जनायो ।