हावाहुरीबाट केराखेतीमा डेढ करोडको क्षति

हावाहुरीबाट केराखेतीमा डेढ करोडको क्षति


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केराखेतीमा हावाहुरीले व्यापक क्षति पुऱ्याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरू ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् ।

कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाएको केरामा हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मंगल चौधरीले बताए । उनका अनुसार हावाहुरीले ४२ हजार पाँच सय केराका बोट ढालेको छ । जसबाट रु. एक करोड ४८ लाख ७५ हजार रकमबराबरको केराखेतीमा किसानलाई घाटा लागेको छ ।

केराको बोट खरिद, लगाउने खर्च, मल, सिँचाइ गोडमेल गरी प्रतिबोट केरा रु. ३५० लागत खर्च लाग्ने गरेको छ स्थानीय किसान रामआश्रय रानाले भने, ‘दश कट्ठामा लगाएको पूरै केरा हावाहुरीका कारण ढलेपछि नोक्सानी भएको छ ।’

जी नौ जातको केरा रोपेका यहाँका किसानले हावाहुरीले व्यापक क्षति पु¥याउँदासमेत निरीक्षणका लागि हालसम्म सरकारी निकाय र जनप्रतिनिधि नपुगेको स्थानीय किसानले गुनासो गरेका छन् । धेरैजनाले गाउँको समूह, सहकारी संस्था र बैंकबाट कर्जा लिएर केराखेती गरेका छन् । केराखेती पूरै बर्बाद भएपछि समूहबाट केराखेतीका लागि लिएको रु. २० हजार ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको भंगी रानाले बताए ।

‘प्राकृतिक प्रकोपका कारण निकै क्षति व्यहोरेका छौँ,’ उनले भने, ‘किसानलाई केराखेतीबाट पलायन हुन नदिनका लागि नगरपालिका, प्रदेश र केन्द्र सरकारले क्षतिपूर्तिको व्यवस्था गरिदिनुपर्छ ।’ आउँदो वर्षदेखि केराखेतीमा बिमा गर्ने वातावरण बनाइदिनसमेत उनले माग गरे ।