बेलको जुसले बजार नपाएपछि जुस उद्योग संकटमा





दुई वर्षअघिसम्म काठमाडौंका ठूलाठूला डिपार्टमेन्ट स्टोरमा समेत उपलब्ध हुने बेल रस यतिबेला भने स्थानीय बजारमा समेत बिक्री हुन छोडेको हो । बेल रसले केही वर्ष नेपालगञ्ज, धनगढी, कोहलपुरका साथै भजनी आसपासका टीकापुर, लम्की, सुखडलगायतका स्थानीय बजारमा समेत राम्रो पहुँच पाएको थियो । अहिले स्थानीय बजारमा समेत बेल रस भेटिन मुस्किल छ ।

उपभोक्ताले स्वदेशी उत्पादनभन्दा बाह्य कुरालाई उपभोग गर्ने गरेका कारण बेल रसको बजार खुम्चिएको हो । वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर शाहले उपभोक्ताले बेल रसको महत्व नबुझेका कारण पनि यसको बिक्री हुन नसकेको बताए । ‘धेरैले बेल रसको महत्व नै बुझेका छैनन्,’ उनले भने, ‘जब महत्व नै बुझेनन् भने बजारमा बिक्री हुने कुरै भएन ।’

अचेल औषधिका रूपमा प्रयोग गर्ने केही सीमित व्यक्तिले मात्रै बेल रस उपभोग गर्दै आएका छन् । उनीहरू उद्योगमै पुगेर आवश्यकताअनुसार खरिद गरेर लैजान्छन् । बेल रस मधुमेह र मुटु रोगीका लागि निकै उपयोगी छ । यसले पखाला, आउँ, ग्यास्ट्रिक, कब्जियत हुनबाट समेत बचाउनुका साथै रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । बेल रस सेवनले गर्मीयाममा शीतलतासमेत प्रदान गर्ने अध्यक्ष शाह बताउँछन् ।

संस्थाका अनुसार गत वर्षदेखि बेल रसको बजार ठप्प भएको हो । गत वर्ष उत्पादन भएको झन्डै एक हजार लिटर बेल रस बिक्री हुन नसकेर गोदाममै थन्किएको छ । उद्योगले एक वर्षमा करिब पाँच हजार लिटर उत्पादन गर्छ । ‘गत वर्षको उत्पादन त्यसै फाल्नुपर्ने अवस्था आएको छ,’ अध्यक्ष शाहले भने, ‘सोचेअनुसार बजार फैलिनुको साटो खुम्चिँदै गएको छ ।’

बजारमा माग हुन छोडेपछि उद्योगले बिक्रीका लागि कुनै योजना अघि सारेको छैन । शुरुमै राम्रो बजार पाएको बेल रस बिक्री हुन छोडेपछि उद्योगले समेत लापरबाही गर्न थालेको छ । उसले बजार विस्तारका कुनै योजना नै बनाएको छैन । एकजना व्यक्तिले उद्योगको रेखदेख गरिरहेका छन् । ‘शुरुमा खुब प्रचार गर्यौ । थोरै मार्केट विस्तार भएको थियो,’ अध्यक्ष शाहले भने, ‘पछिल्ला वर्षहरूमा त्यसतर्फ ध्यान दिन सकेका छैनौँ ।’

उद्योगमा ४० सामुदायिक वन आबद्ध छन् । जसअन्तर्गत एक हजार ८०० शेयर सदस्य छन् । उनीहरूले नै जंगलबाट काँचो बेल टिपेर ल्याउँछन् । स्थानीयले टिपेर ल्याएको काँचो बेल उद्योगले सात रुपैयाँ प्रतिकेजीमा खरिद गर्छ । काँचो बेल एक–दुई दिन राखेर उद्योगले ग्रेडिङ गर्छ । सो उद्योगले एक दिनमा पाँच क्विन्टल काँचो बेल पेल्छ । जसबाट २०० केजी लेदो उत्पादन हुन्छ ।

उद्योगले लेदोलाई प्रशोधन गरेर बेल रस उत्पादन गर्छ । लेदोलाई प्रशोधन गरेर उत्पादन भएको बेल रस बोतलमा प्याक गरेर उत्पादन मितिसहित बजारमा पठाउने गरेको निमित्त कार्यालय प्रमुख सुधराम चौधरीले जानकारी दिए । चौधरीका अनुसार बेल रस खुद्रामा प्रतिबोतल १२० रुपैयाँमा पाउँछ । उनले पूरै पेटी खरिद गरेमा प्रतिबोतल १०० रुपैयाँ मात्रै पर्ने बताए । एक भाग बेल रसमा तीन भाग पानी मिसाएर पिउन सकिन्छ । यसरी स्थानीय सामुदायिक वनमै पाइने बेलबाट उत्पादन गर्न सकिने जुस उद्योगबाट उत्पादित जुस व्यवस्थापनमा ध्यान दिन सके उपभोक्तालाई पनि रोजगारी पाउने वातावरण बन्ने स्थानीयवासीको दाबी छ । बेल जुसले बजार नपाएपछि बेल टिप्ने कार्यमा खटेका उपभोक्तासमेत बेरोजगार भएका छन् ।

रासस

प्रतिक्रिया